राष्ट्रिय योजना आयोगको नेतृत्वमा युनिसेफ, युरोपेली संघलागायत विभिन्न सरकारी र गैरसरकारी संस्थाले राजधानीको तारे होटलबाट उक्त अभियान सुभारम्भ गरे। आमा गर्भवती भएदेखि बच्चा दुई वर्ष पुग्दासम्म (एक हजार दिन) ८० प्रतिशत मानसिक विकास भइसक्ने हुनाले शारीरिक र मानसिक रूपमा स्वास्थ्य जनशक्ति तयार गर्न अभियान सुभारम्भ गरिएको हो।
विभिन्न माध्यमबाट आमनागरिकमा पोषणका लागि महत्वपूर्ण मानिएको हजार दिनबारे चेतना जगाउनु अभियानको प्रमुख उद्देश्य भएको राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीले बताए।
सोही अवसरमा सुनौला हजार दिन सद्भावना दूतका रूपमा नेपाल किर्केट टिमका कप्तान पारस खड्कालाई मनोनयन गरियो।
शुभारम्भ कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्ययोजनाको फोकल केन्द्र रहने योजना आयोगका सदस्य जोशीले नवजात शिशु र बाल मृत्युदरको प्रमुख कारण पोषणयुक्त खाना अभाव भएको बताए।
सद्भावना दूत खड्काले सुनौला हजार दिनमा गर्भवती र शिशुलाई पोषिलो खाना खुवाउन सबैलाई आग्रह गरे।
महिला बालबालिका तथा संसदीय समितिका अध्यक्ष रञ्जुकुमारी झाले पोषणका बारेमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन्।
आयोगका उपाध्यक्ष डा.युवराज खतिवडाले परिवारभित्रैबाट पोषणमा बालबालिकाको समान अवसर स्थापित गर्नुपर्ने बताए।
उचित पोषण र चेतना अभावमा अहिले प्रतिहजार जीवित जन्ममा ३७ बालबालिका पुड्का, ३० कम तौलका र ११ ख्याउटे देखिएका छन्। यसले मानसिक र शारीरिक विकासमा बाधा पुर्याउँछ।
प्रकाशित: ९ वैशाख २०७३ २१:१५ बिहीबार





