२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२६ : घरेलु मैदानमा क्यानडाको ऐतिहासिक पुनरागमन, अमेरिका र पाराग्वे भिड्दै

फिफा विश्वकप २०२६ को समूह ‘बी’ को आफ्नो पहिलो खेलमा सह-आयोजक क्यानडाले बोस्निया-हर्जेगोभिनासँग १-१ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

शनिबार बिहान भएको खेलमा पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्न सफल भयो। खचाखच भरिएको टोरन्टो रंगशालामा खेलको सुरुदेखि नै दुवै टोलीबिच कडा प्रतिस्पर्धा भएको थियो। घरेलु दर्शकको भारी समर्थनका बाबजुद खेलको २१ औं मिनेटमा बोस्नियाका जोभो लुकिकले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै टोलीलाई १-० को अग्रता दिलाए। यो लुकिकको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल थियो। यसअघि खेलको ११ औं मिनेटमा क्यानडाका एलिस्टेयर जोनस्टन र ४५ औं मिनेटमा बोस्नियाका लुकिकले पहेँलो कार्ड पाएका थिए। बोस्नियाले पहिलो हाफभरि खेलमा आफ्नो वर्चस्व कायम राख्यो।

दोस्रो हाफमा क्यानडा आक्रामक रणनीतिसहित मैदान उत्रियो। ५३ औं मिनेटमा क्यानडाका रिची लारियाको प्रहार बोस्नियाका सियाड कोलासिनाकले गोललाइनबाट क्लियर गर्दै क्यानडाको बराबरी गर्ने प्रयास असफल पारिदिए। तर, खेलको ७६ औं मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी साइल लारिनले त्यसको दुई मिनेटमै अर्थात् ७८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यो गोलसँगै लारिनले घरेलु मैदानमा क्यानडाका लागि पहिलो विश्वकप गोल गर्ने इतिहास समेत रचे।

गोल गरेपछि लारिनले भने, ‘यो मेरो लागि विशेष थियो। म टोलीलाई मद्दत गर्न तयार थिएँ। मलाई विश्वास थियो कि गोल आउनेछ। क्यानडालाई मेरो आवश्यकता पर्दा म गोल गर्छु र सधैं गरिरहनेछु।’ क्यानडाका प्रशिक्षक जेसी मार्शले आफ्ना वैकल्पिक खेलाडीले खेलको गति परिवर्तन गरेकोमा खुसी व्यक्त गरे। मार्शले भने, ‘बेन्चबाट आएका खेलाडीले ठूलो फरक पारे। विपक्षी टोली कमजोर हुँदै गएको बेला मैले खेलाडीलाई अब जितका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने समय आएको बताएको थिएँ।’

निर्धारित ९० मिनेटपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि रक्षात्मक खेलका कारण खेल १-१ को बराबरीमै सकियो। यो नतिजासँगै सन् १९८६ र २०२२ को विश्वकपका सबै ६ खेल हारेको क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक अंक बाँड्न सफल भएको छ।

बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिचले खेलपछि प्रतिक्रिया दिँदै भने, ‘हामीले सिक्यौं कि यस्ता ठूला प्रतियोगितामा अन्तिम सेकेन्डसम्म लड्नुपर्छ। हामीले निरन्तर अगाडि बढ्नुपर्छ।’

अमेरिका र पाराग्वे भिड्दै  
विश्वकपको अर्को खेलमा संयुक्त राज्य अमेरिकाले लस एन्जलसको सोफी स्टेडियममा पाराग्वेको सामना गर्दैछ। पहिलो पटक विश्वकप उपाधि जित्ने वा कम्तीमा सन् १९३० पछि पहिलो पटक अन्तिम चारमा पुग्ने लक्ष्य राखेको अमेरिकाका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। नेपाली समय अनुसार आज बिहान ६ः४५ बजेदेखि खेल सुरु हुनेछ। 

खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशिक्षक मौरिसियो पोचेटिनो र खेलाडीहरूलाई स्पिकरफोन मार्फत शुभकामना दिएका छन्। ट्रम्पले भने, ‘मलाई लाग्छ तपाईंसँग यो पटक उपाधिसम्म पुग्ने राम्रो अवसर छ। म तपाईंहरूलाई शुभकामना दिन चाहन्छु।’ जवाफमा प्रशिक्षक पोचेटिनोले देशलाई गर्व गराउन आफूहरूले हरसम्भव प्रयास गर्ने बताए।

उक्त खेल हेर्नका लागि रंगशालामा हेले बेरी, रोब लोव र पेरिस हिल्टन जस्ता हलिउडका चर्चित अनुहारहरू उपस्थित भएका छन्। यता पाराग्वेका समर्थकहरू पनि ठूलो संख्यामा आफ्नो देशको झण्डासहित रंगशाला पुगेका छन्। एजेन्सी

प्रकाशित: ३० जेष्ठ २०८३ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App