८ मंसिर २०८१ शनिबार
image/svg+xml
मुख्य समाचार

आवरण/सुन तस्करी : जहाँतहीँ तस्करीकै सुन

काठमाडौं- स्थानीय बजारमा सुनको दैनिक माग जति छ, आधिकारिक आपूर्ति त्यसको आधा पनि छैन। तैपनि मूल्य बढोस् वा घटोस्, बजारमा सुनको अभाव कहिल्यै हुँदैन। सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुन्छ। राष्ट्र बैंकले १६ वाणिज्य बैंकमार्फत दैनिक १५ किलो सुन बजार पठाउँछ। यो तथ्यांकले दिनकै कम्तीमा २५ किलो सुन अभाव रहेको प्रस्टै देखाउँछ। दैनिक १५ किलो वैध सुन पनि सबै नबिकेर असारयता मात्रै ३ सय ८८ किलो बैंकमै थन्किएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ।

यस्तो हुँदाहुँदै पनि कसरी पूरा भइरहेको छ त सुनको बजार अभाव?
केही समययता चीन, हङकङ, दुबई र मलेसियाबाट स्थल तथा हवाईमार्ग हुँदै सुन तस्करी भइरहेको प्रहरीको अनुसन्धान विवरणमा छ। प्रहरीले केही समययता लगातार पक्राउ गरेका सुन तस्करको बयानका आधारमा यी रुट खुलेका हुन्।
पछिल्लोचोटि यही कात्तिक १९ गते झापाबाट यात्रुवाहक बसमा काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा ७ किलो सुनसहित पक्राउ परेका थिए। ताप्लेजुङ, तापुङ–४ घर भई जोरपाटी बस्ने उनी कम्मरमा सुन बाँधेर ल्याउँदै गर्दा थानकोट प्रहरीको चेकिङमा समातिएका थिए। प्रहरीका अनुसार यस नाका हुँदै काठमाडौं भित्रिने क्रममा सुन समातिएको यो पहिलो घटना थियो।
अनुसन्धान विवरणअनुसार सुन तस्करीमा चल्तीको स्थल नाका सिन्धुपाल्चोकको खासा नै हो। खासाबाट सुन भिœयाउने क्रममा पटकपटक समातिएपछि कारोबारीले चीनसँग सीमा जोडिएका गोरखा, ताप्लेजुङ र रसुवाको रुट विकल्पका रूपमा प्रयोग गर्न थालेका हुन्। हवाई रुटका लागि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन।
रत्न तथा आभूषण महासंघका पदाधिकारी सुुरेशमान श्रेष्ठ दैनिक ४० किलो सुनको माग भए पनि ती सबै अवैध माध्यमबाट पूर्ति भइरहेको स्विकार्दैनन्। विदेशबाट आउनेले प्रतिव्यक्ति ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाउने व्यवस्था र बजारमा आउने पुराना सुन तथा गरगहनाले माग धानिरहेको उनको दाबी छ। मागअनुसार आपूर्ति नहुनुले तस्करीको सुनसमेत प्रयोग भइरहेको भने उनले अस्वीकार गरेनन्।
व्यवसायका लागि सुन किन्ने स्वीकृति पाएका नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र हस्तकला महासंघको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ हजार किलो सुन खपत भयो। तर, राष्ट्र बैंकको तथ्यांकले यसबीच ६ हजार ५० किलो सुन मात्र आधिकारिक रूपले बजार भित्रिएको देखाउँछ। यसले सुनको खपत परिमाण र वैध बाटोबाट भइरहेको आपूर्तिबीच वार्षिक करिब ३ हजार किलो फरक छ। उता सुरक्षा संगठनले तस्करी क्रममा बरामद गरेको सुनको परिमाण पनि वार्षिक डेढ सय किलो हाराहारी छ। प्रहरीको अनुसन्धान विवरणमा तस्करीको सुन भन्सार छलेर भारत लैजाने गरेको उल्लेख भए पनि परिमाण भने खुल्दैन।
वैध बाटोबाट आउने सुनको तुलनामा तस्करीको सुन सस्तो हुने कारण केही व्यवसायी त्यतातिर आकर्षित भएको श्रेष्ठ स्वीकार गर्छन्।
'तस्करीको मालले आधिकारिक रूपमा बजारमा भित्रिने सुनको मूल्य बिगारेको छ,' उनले नागरिकसँग भने, 'यी दुईबीच तोलामै ५ हजार अन्तर हुन्छ, वैध र अवैध सुन खरिदमा किलोमै ४ लाख अन्तर हुँदा केही व्यवसायी त्यता आकर्षित हुनसक्छन्।'


तस्करी सिलसिला
नेपालमा सुन तस्करीको सिलसिला नयाँ भने होइन। बीचमा कहिले बन्द र कहिले खुल्दै आएकामा राष्ट्र बैंकले २०६८ मा सुन आयात तथा बिक्री कार्यविधि ल्याएर दैनिक १५ किलो सुन किन्न पाइने नीति बनाएपछि तस्करी समूह बढी सक्रिय भयो।
सरकारले तोकेको कोटाले बजार मागको ३० प्रतिशत पनि नधान्ने भएपछि व्यवसायी आन्दोलनमै उत्रिए। दैनिक ४५ किलो आन्तरिक माग रहेको भन्दै कोटा बढाउन दबाब दिए। सरकारले ५ किलो कोटा बढाए पनि बजार माग धान्न सक्ने अवस्था थिएन।
त्यही बेला सुन आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा असर पर्योे भन्दै भारत सरकारले आयातमा कडाइ गर्योक। भन्सारदर पनि २ बाट १० प्रतिशत पुर्यासयो। बैंकले मात्र सुन आयात गर्न पाउने र सुन किन्दा १.३ प्रतिशत प्रिमियम तिर्नुपर्ने नीति ल्यायो। यही मौकामा सुन तस्कर सल्बलाए।
वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांकअनुसार भारतमा सन् २०१४ मा २ सय टन सुन तस्करीकै बाटो भित्रिएको थियो। त्यसमा बंगलादेश र श्रीलंकाको हिस्सा बढी छ। नेपालका कारोबारी पनि उत्तिकै सक्रिय छन्।
तस्करीको बाटोबाट एक किलो सुन भारत छिराउँदा ११.३ प्रतिशत कर सोझै बचत हुन्थ्यो। किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि संगठित गिरोह नै सक्रिय भए।
राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरे सुन कारोबारमा 'केही गडबड भइरहेको' स्विकार्छन्। 'वैध बाटोबाट आएको सुन बिक्री नहुनु, अभाव पनि नदेखिनुले यसको कारोबारमा पक्कै केही गडबड भइरहेको छ,' उनले बिहीबार नागरिकसँग भने, 'काठमाडौं नाकाबाट सुन बाहिर जाने गरेकोमा थानकोट नाका हुँदै भित्रिएको समेत देखियो।'
सुनको अवैध कारोबार नियन्त्रणमा विभाग सक्रिय रहे पनि अपेक्षित नतिजा नआएको उनले बताए। 'काठमाडौंबाहिर विभागका ४ वटा कार्यालय छन्, जनशक्ति अभाव पनि छ,' उनले भने, 'तैपनि सरोकारवाला निकायसँगको समन्वयमा नियन्त्रण प्रयास जारी छ।'
प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पनि सुन तस्करी नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको बताए। 'तस्करीमा संलग्न धमाधम पक्राउ पर्नुले हाम्रो सक्रियता र प्राथमिकता देखाउँछ,' उनले भने।


तस्करीका तीन घेरा
नेपालमा सुन तस्करीमा तीन तहको घेरा रहेको अनुसन्धान अधिकारी बताउँछन्। पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्छन्। दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन्। जानकारका अनुसार दोस्रो तहमा खासा हुँदै सुन भिœयाउने र हङकङ तथा दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्।
तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन्। काठमाडौंमा स्टोर भएको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीसम्म पुर्याीउने जिम्मा उनीहरूकै देखिन्छ। यस्ता कारोबारी बढी वीरगन्ज क्षेत्रमा सक्रिय छन्।
तस्करी सुनको पहिलो प्राथमिकता भारतीय बजार नै हो। त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ। प्रहरी अनुसन्धानमा केही मुख्य कारोबारी र सहयोगीको नाम खुले पनि उनीहरू कारबाहीको दायरामा आइसकेका छैनन्।
प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार मुरारीलाल गोयल (जमालिया), बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, विक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्ता काठमाडौंमै बसेर तस्करीमा सक्रिय छन्। त्यस्तै, ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल पनि सहयोगी देखिएका छन्। प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, रजनी साह र राजु द्वारा वीरगन्जमा सक्रिय छन्।
सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ। दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तीन वर्षयता प्रहरीले सुन तस्करी अभियोगमा १ सय २० जनालाई पक्राउ गरेको छ। त्यसमा भारतीय नागरिक ३४ र चिनियाँ ८ छन्।
तस्करीमा सुरक्षाकर्मीसमेत संलग्न रहेको तथ्य २०६९ असोज १९ को त्रिभुवन विमानस्थल घटनाले पुष्टि गर्छ। दुबई जाने फ्लाई दुबईको उडानबाटै १ करोड २४ लाख रुपैयाँ बराबर विभिन्न विदेशी मुद्रासहित भारतीय नागरिक विनोदकुमार सोनी विमानस्थलमा पक्राउ परे। विदेशी मुद्रा बोकेर सुन किन्न जाने क्रममा सोनी समातिएको अनुसन्धानमा खुल्यो।
उक्त घटनामा विमानस्थलको सुरक्षा जिम्मेवारीमा रहेका एसएसपी रविराज श्रेष्ठको नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको संलग्नताबारे अनुसन्धान गर्योक। सुन तस्करीको जालो खुलेपछि श्रेष्ठ बर्खास्तगीमा परे। 
तस्कर समूहले दिएको सामान प्रहरीले विमानस्थलको सबै सुरक्षा घेरा कटाएर भित्र पुर्याेई तस्करको सहयोगीलाई दिने गरेको सोही अनुसन्धानमा खुल्यो। त्यसका लागि प्रहरी अधिकारीको कार्यकक्ष र सवारीसाधनकै प्रयोग हुने गरेको समेत पाइयो। यत्तिका तथ्य भेट्टाउने प्रहरीको अनुसन्धान प्रतिवेदन भने अहिलेसम्म पनि गोप्य राखिएको छ।


हुन्डीदेखि मुद्रा तस्करसम्म
प्रहरी अनुसन्धानमा सुन तस्करको संलग्नता हुन्डीदेखि विदेशी मुद्रा तस्करीसम्म रहेको पाइएको छ। 'छानबिन क्रममा संकलित विश्वस्त सूचनास्रोत अनुसार मुरारीलाल गोयल (जमालिया), पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, राजेश अग्रवाल, ज्ञानकुमार श्रेष्ठ अवैध हुण्डी तथा विदेशी मु›ा कारोबार र अन्य तस्करीमा समेत सक्रिय रूपमा संलग्न पाइएको छ,' नागरिकले प्राप्त गरेको विमानस्थल सुन तस्करीसम्बन्धी गोप्य प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत विस्तृत अनुसन्धान गर्नुपर्ने औंल्याइए पनि अहिलेसम्म फाइल बढेको देखिँदैन।
'यसअघि भएका जहाज अपहरण, लागुऔषध कारोबारलगायत घटना्कझैं अन्तर्राष्ट्रिय आतंकवादी र अन्य आपराधिक संगठनले पनि यसको फाइदा उठाउन सक्ने हुँदा यसमा संलग्न संगठित आपराधिक समूहका व्यक्तिको थप पहिचान र विस्तृत अनुसन्धान तथा कारबाही गर्न' प्रतिवेदनमा सिफारिस छ। यसले सुन तस्करहरू कुन हदका गतिविधिमा उपयोग हुन्छन् भन्ने प्रस्ट्याएको छ।
जानकार प्रहरी अधिकारी भने सुन तस्करीमा सक्रिय समूह हुन्डी र विदेशी मुद्रामा संलग्न हुनुलाई सामान्य मान्छन्। सुन खरिदको रकम भुक्तानीका लागि डलर तस्करी अनिवार्य छ। त्यसैका लागि नेपालबाट सबैभन्दा धेरै पैसा हुन्डीमार्फत नै हङकङ पुग्छ, दोस्रोमा दुबई। स्थलमार्ग हुँदै तिब्बत हिँडेका चिनियाँका साथमा अमेरिकी डलर फेला पर्नु पनि सुन तस्करीकै हिस्सा रहेको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी सुनाउँछन्।
उपत्यका केन्द्र
२०६९ यता सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभरि २ सय ६५ किलो अवैध सुन फेला परेकामा उपत्यकामै १ सय ४७ किलो बरामद भएको छ।
दोस्रोमा मध्यक्षेत्र पर्छ, जहाँबाट ६० किलो अवैध सुन बरामद भएको छ। तेस्रोमा पूर्व क्षेत्रबाट १४ किलो अवैध सुन बरामद भएको प्रहरी तथ्यांक छ। पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिममा समेत केही परिमाणमा अवैध सुन फेला परेको छ। यो प्रवृत्तिले उपत्यकालाई केन्द्रबिन्दु बनाएर पूर्व र मध्यक्षेत्रको बाटो हुँदै अवैध सुन भारततिर तस्करी हुने गरेको झल्काउँछ।
२०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ। २०६९/७० मा ६९ किलो फेला परेकोमा ०७०/७१ मा १ सय ४१ किलो बरामद भयो। चालु आर्थिक वर्ष चार महिनामै ५५ किलो अवैध सुन फेला परिसकेको छ। यसमध्ये अधिकांश सुन स्थलमार्गबाट लुकाइछिपाई उपत्यका भिœयाउने क्रममा बरामद भएका हुन्। सुरुमा व्यापारीले खासाबाट सामान ल्याउने कन्टेनर, जिप र साना व्यक्तिगत सवारीमा फल्स बटम बनाएर सुन भिœयाउने गरेका थिए। यसरी उपत्यका भिœयाइने सुन पटक–पटक प्रहरीको फन्दामा पर्न थालेपछि व्यापारीले कम्मरमा बाँधेर, जुत्ताको सोलमा राखेर र मोटरसाइकलको डिक्कीमा लुकाएर तस्करी गर्न थाले। यसले स्थलमार्गबाट हुने सुन तस्करी केही कम भयो।
स्थलमार्गमा कडाइ भएपछि कारोबारीहरू हवाइमार्गतिर लागे। कारोबारीले दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौं आउने हवाई रुट तस्करीमा उपयोग गर्न थाले। वैदेशिक रोजगारका लागि गएका नेपालीसमेत भरियाका रूपमा प्रयोग हुने क्रम चल्यो, जुन अझै जारी छ।
यसबीच, तत्कालीन डिआइजी गोपाल भण्डारीलाई विमानस्थलको सुरक्षाप्रमुखबाट हटाएर गत चैत १७ गते डिआइजी यादव अधिकारीलाई लगिएपछि हवाइमार्गबाट तस्करी भएको सुन समातिने क्रम ह्वात्तै बढ्यो। दुबई–काठमाडौं र मलेसिया–काठमाडौंको हवाई रुटबाट सबैभन्दा धेरै अवैध सुन भरियासहित समातिए। हवाई रुटमा कडाइ गरेलगत्तै सुन तस्करीमा भारतीय नागरिकको संलग्नता बढेको प्रहरी विवरण देखाउँछ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार डिआइजी अधिकारी विमानस्थलमा बसेको चार महिना अवधिमा ३६ किलो अवैध सुन फेला परेको थियो। तर, असार २७ मा उनी पनि हेडक्वार्टर तानिए। उनको ठाउँमा विमानस्थल प्रमुखका रूपमा डिआइजी विजयलाल कायस्थ नियुक्त भएपछि भने सुन बरामद हुने क्रम स्वात्तै घटेको छ। कायस्थको चारमहिने कार्यकालमा ६ किलो सुन मात्र फेला परेको छ।
'सुन बैंकमा थुप्रिँदा पनि बजार अभाव नहुनुले अवैध बाटोबाट सुन भित्रिरहेको देखिन्छ, यसमा प्रहरी अनुसन्धान जारी छ,' महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले भने।

कार्यान्वयन सुस्तता
एसएसपी श्रेष्ठ जोडिएको विमानस्थल सुन तस्करी अनुसन्धानमा तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्यालसमेत थिए। श्रेष्ठबारे अनुसन्धान गर्दा सुन तस्करीमा सक्रिय आधा दर्जनजतिको नाम खुले पनि प्रतिवेदनमा नाम पोलिनुबाहेक थप उपलब्धि केही आएन। अर्याल अहिले संगठनको नेतृत्वमा छन् तर उनीसमेतले तयार पारेको अनुसन्धान प्रतिवेदन थप अनुसन्धानका लागि अझै ब्युरो पठाइएको छैन। 
जानकार प्रहरी अधिकारीका अनुसार अहिले पनि विमानस्थलको सुरक्षा र भन्सार संयन्त्रको सेटिङ भत्किएको छैन। पछिल्लो समय तस्करीको सुन नसमातिनुले सुरक्षा निकायको सक्रियता सुस्त देखिन्छ। 'सुन तस्करी प्रहरीको मुख्य प्राथमिकतामा परेकै छैन,' प्रधान कार्यालयका एक अधिकारी स्विकार्छन्, 'प्रहरीले जति सुन फेला परेका छन्, ती योजनाबद्ध अनुसन्धानभन्दा तलासी र प्रहरी अधिकारीको व्यक्तिगत प्रयासकै नतिजा हुन्।'
सीमा र भन्सार सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी प्रवक्ता एआइजी सिंहबहादुर श्रेष्ठले सूचना संकलन संयन्त्र बलियो नहुँदा सुन तस्करी नियन्त्रणमा समस्या आएको बताए। उनले सुन तस्करी भइरहेको क्षेत्र पहिचान गरी निगरानी बढाउन सम्बन्धित युनिटलाई निर्देशन दिइसकेको जानकारी दिए। 
'एकै व्यक्तिले ठूलो परिमाणमा सहजै लुकाउन सक्ने भएकाले पहिल्याउन केही समस्या छन्,' उनले भने, 'संगठनको क्षमता र साधनस्रोत परिचालनबाट नियन्त्रण प्रयास जारी छ।'

प्रकाशित: २७ कार्तिक २०७१ २०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App