म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीले बजार सौन्दर्यकरण योजनालाई सहयोग पुगेको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा संकलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि ६ लाख रुपैयाँ सहयोग गरेको छ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले यो योजनाका लागि २० लाख रुपैयाँ छुट्याएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषले ६ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले २–२ लाख रुपैयाँ उपलब्ध गराएको बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए।
कुल ३० लाख रुपैयाँ लागत अनुमान गरिएको यो योजनाको ठेक्का बेनीको एक निर्माण कम्पनीले २४ लाख ३६ हजार ५७१ रुपैयाँमा लिएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथको प्रवेशद्वार मानिने गलेश्वर बजारको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाएर पर्यटक र भक्तजनलाई आकर्षित गर्न यो काम सुरु भएको छ।
योजनाअन्तर्गत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग र सडकमा स्लेट ढुंगा बिछ्याइने छ। सडक किनारमा गमलामा फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताए।
गलेश्वर बजारभित्रको सडकमा ढुंगा बिछ्याएपछि सार्वजनिक यातायातका साधन कालीगण्डकी करिडोरको बाहिरी सडकबाट मात्र चल्ने व्यवस्था गरिने उनले बताए। बजारभित्र निर्माण सामग्री र उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधनलाई ढुंगामा असर नपर्ने गरी संरचना बनाइने उनको भनाइ छ।
मन्दिरमा भक्तजनले चढाएको भेटीबाट यो योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। उनको बुझाइअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म भेटीलगायत शीर्षकबाट ६६ लाख २ हजार ९९३ रुपैयाँ आम्दानी भएको छ। यसमध्ये ४० लाख ९ हजार ४५२ रुपैयाँ खर्च भई २५ लाख ९३ हजार ५४१ रुपैयाँ बचेको छ। गत वर्ष कोषले भेटीबाट संकलित रकमले १२ लाख रुपैयाँको लागतमा ज्येष्ठ नागरिक आश्रममा सभाहल बनाएको थियो।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एक विशाल चट्टानमा रहेको गलेश्वर मन्दिरमा पूजा र दर्शन गर्दा मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। हिन्दू धर्मग्रन्थअनुसार सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहेको यो मन्दिरमा साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्छ। रासस
प्रकाशित: ३१ चैत्र २०८१ १०:२७ आइतबार