निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथिको अन्यायविरुद्ध सङ्घर्षरत नेपाल चिकित्सक सङ्घको आन्दोलनप्रति समर्थन जनाउँदा देशभरका सरकारी अस्पताल प्रभावित भएका छन्। सङ्घको आह्वानमा भएको आन्दोलनलाई समर्थन गर्ने स्वास्थ्यकर्मीका कारण उदयपुरको जिल्ला अस्पतालको सेवा ठप्प भएको छ।
सङ्घको आन्दोलनमा समर्थन जनाएका स्वास्थ्यकर्मीले शुक्रबारदेखि आकस्मिक र सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गरेपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन्। आन्दोलनमा सहभागी स्वास्थ्यकर्मी काममा नफर्किएपछि सेवा प्रभावित भएको हो।
अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनले शुक्रबारदेखि ओपीडी सेवा लिन आएका बिरामीले सेवा पाउन सकेनन्। शुक्रबार ओपीडी सेवा पूर्ण रूपमा बन्द हुँदा सयौँ बिरामी र आफन्त अस्पतालको गेटबाटै फर्कन बाध्य भए। बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका स्वास्थ्यकर्मी शुक्रबार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी संस्थानसरह निर्वाह भत्ताको सुविधा माग गर्दै नेपाल चिकित्सक सङ्घले आन्दोलन गरिरहेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेको सङ्घले शुक्रबारदेखि कडा रूपमा सङ्घर्ष थालेपछि सर्वसाधारण प्रभावित भएका छन्।
सङ्घले माग पूरा नभएसम्म अस्पताल सुचारु नगर्ने अडान लिएको छ। शुक्रबारदेखि अस्पतालको ओपीडी सेवा बन्द गरेको सङ्घले माग पूरा नभए आइतबारदेखि निजी मेडिकल र क्लिनिकसमेत बन्द गरेर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ।
प्रकाशित: १३ वैशाख २०८२ १०:३० शनिबार





