१५ माघ २०७७ बिहीबार
अन्तर्वार्ता

एकता जोगाउने सूत्र कामयावी भएनन् : विष्णु पौडेल (अन्तर्वार्ता)

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले मुलुकको समग्र राजनीतिमा गतिरोध हुने अवस्थाको पूर्वानुमान गरिएको छ। यस्तो स्थितिमा सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलको निवासमा शनिबार अपराह्न सामयिक स्थितिमा लामो कुराकानी भएको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरिसकेका छन्। पार्टीको भविष्य, नेताहरूको आकांक्षा र पार्टीको आन्तरिक जीवनको विषयमा पार्टी महासचिव पौडेलसँग नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल र संवाददाता टपेन्द्र कार्कीले गरेको वार्ता विद्यमान राजनीतिको अन्तर्य बुझ्न सहायक हुने ठानेर प्रस्तुत गरेका छौँ।

नेकपाभित्र जुन विवाद उत्पन्न भएको छ, यसको समाधान कुन विन्दुमा पुगेको छ ?

पार्टीको विवाद समाधान गर्ने प्रयास भएका छन्। पछिल्ला दिनलाई हेर्ने हो भने समधानको संभावना झनपछि झन टाढिँदै गइरहेका पनि छन्। नेकपाको आन्तरिक जीवनको यथार्थ कुरा गर्ने हो भने संकटउन्मुख अवस्थामा छ तर पनि हामी संकट टार्ने प्रयासमा लागिरहेका छौँ।

नेकपाभित्रको रोगचाहिँ के हो ? के रोग लागेर यो दल बिरामी भएको हो ?

मुख्य कुरा परस्परमा अविश्वास पैदा हुँदा यो समस्या आएको हो। परस्परमा अविश्वास हुँदा रोग बढ्दै गयो। यसले पार्टीलाई नै धराशायी बनाउँदैछ। कम्युनिस्ट पार्टीभित्र विवादहरू सिद्धान्त, विचारमा केन्द्रित हुन्छन्। तत्कालीन एमालेको कुरा गर्ने हो भने पाँचौँ महाधिवेशन विचारको दृष्टिले ऐतिहासिक महाधिवेशनको रूपमा लिइन्छ। त्यो महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरूले ठूलो बहस र छलफल गर्नुभएको थियो। अहिलेचाहिँ सैद्धान्तिक बहस, नीतिगत बहस र कार्यक्रमहरूमा विमति छैनन्। विवादचाहिँ निरन्तर प्राविधिक प्रश्नहरूमा छन्। कसले कुन जिम्मेवारी लिने, कहिले प्राप्त गर्ने भन्ने जस्ता विषयमा विवाद केन्द्रित छ। कम्युनिस्ट पार्टीको दृष्टिकोणमा यो दुःखद पक्ष हो।

नीति, विधि प्रक्रियाको दिशातर्फ नेकपा हिँड्न नसकेको हो ?

हामीले यो एकता गरिरहँदा एकता प्रक्रियाले पूर्णता प्राप्त नगर्दासम्म विशेष प्रकारको विधिअन्तर्गत चल्छौँ भनेर प्रतिबद्धता गरेका हौँ। एकता प्रक्रियालाई टुंगोमा नपुग्दासम्म पार्टी सञ्चालन सहमतिको आधारमा गर्छाँै भनेका हौँ। बहुमत अल्पमतको कुरा गर्ने हो भने त्यतिबेलै स्पष्ट थियो कसको पक्षमा बहुमत छ कसको पक्षमा अल्पमत छ भनेर। अहिले पनि देखिएकै छ। त्यो गर्ने हो भने विभाजन सुरक्षित हुँदैन, हाम्रो अभियान तिक्ततापूर्ण हुन्छ। त्यस कारणले अन्तरघुलनको कालखण्ड पार गर्नुपर्छ। विचार, विवाद र सम्बन्धका दृष्टिकोणले यो कालखण्ड पार गर्नुपर्छ। एकता सुरु भएको २०७५ जेठ ३ गतेदेखि एकता महाधिवेशन नहुँदासम्मको अवधिमा पार्टी अन्तरघुलनको कालखण्ड हो। त्यसबीचमा पूर्वअस्तित्वबाट एउटा साझा अस्तित्वमा स्थापित हुन्थ्यो, रूपान्तरण हुन्थ्यौँ भन्ने हाम्रो ठम्याइ हो। तबसम्म हामी कम्युनिस्ट पार्टीको परम्परागत अवस्थाभन्दा माथि उठेर सहमतिका साथ अघि बढ्छाँै भन्ने प्रतिबद्धता गरेका थियौँ। सहमति एकतालाई सुदृढ गर्न, एकतालाई पूर्णता दिन र एकता प्रक्रियालाई कुनै प्रकारको व्यवधान उत्पन्न नहुनेगरी सहमतिका साथ अघि बढ्ने कुरा थियो र त्यहीँनिर सहमतिको प्रबन्ध गरेका हौँ। यो बीचमा हामी त्यो सहमतिको व्यवस्थाबाट डरलाग्दो गरी बाटो बिराउने अवस्थामा पुगेका छौँ र विचलित पनि भएका छौँ। र, मैले दुःखका साथ भन्नुपर्दा के नेकपाको एकता सुरक्षित छ भन्ने प्रश्नमा हामी कुनै पनि नेता पार्टीको एकतालाई सुरक्षित राख्छौँ भनेर दाबीका साथ भन्न सक्ने, बोल्न सक्ने अवस्थामा छैनौँ।

तत्कालीन एमालेमा जसरी विभाजन आएको थियो अहिले नेकपा त्यही अवस्थामा पुगेको हो ?

आज पनि हामी आशावादी छौँ। सास रहेसम्म आस हुन्छ भन्ने नेपाली लोकोक्ति छ। त्यस्तै औपचारिक ढंगले पार्टी विभाजन हुनुभन्दा अघि हामीले एकता जोगाउनका निम्ति अधिकतम कोसिस गर्नुपर्छ। म आफँै पनि र पार्टीका अरू साथीहरू, बहुसंख्यक नेताहरू, बहुसंख्यक कार्यकर्ताहरू पार्टीको एकता सुदृढ रहोस् भन्ने चाहिरहेका छन्। त्यो चाहनालाई प्रतिनिधित्व गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति, अग्रगामी परिवर्तनका निम्ति, संवैधानिक यात्रालाई सुनिश्चित गर्नका लागि नेकपाको एकता सुरक्षित र सुनिश्चित रहनुपर्छ भन्ने ठम्याइ हो। त्यसकारण हामी एकता जोगाउन केही उपाय छन् कि भन्ने कोसिस गर्दैछौँ। तर दुःखको कुरा के छ भने पछिल्ला दिनहरूमा हाम्रा हरेक प्रयास असफल हुँदै आएका छन्। हामी एकता जोगाउने कोसिस गर्दैछौँ तर असफलता हात लागिरहेको छ। यो निकै दुःखद पक्ष हो।

नेकपाको एकता जोगाउने सूत्र के हुन् ?

अहिलेचाहिँ सूत्रहरूले काम गरिरहेका छैनन्। एकता जोगाउने अनेकन सूत्र छन् जुन कामयावी भएनन्। कम्युनिस्ट आन्दोलनको बृहत् हित, राष्ट्रको हित र जनताको हितलाई केन्द्र भागमा राखेर आफ्नो हितलाई देश, जनता र पार्टीको हितमा अधीनस्थ राख्न तयार हुने बित्तिकै एकता सुरक्षित हुन्छ। तर एकता कायम गर्नका लागि गरिएका प्रयास सूत्रहरू एकपछि अर्को असफल भइरहेका छन्। आज पनि हामी एकता जोगाउन नयाँ सूत्रकै खोजीमा छौँ।

असफलताको पछाडिको मुख्य बाधक को हो ?

अहिले म यसको मुख्य बाधक को वा सहायक बाधक को भन्नेतिर जाँदै जान्न। व्यक्तिविशेषमा दोष दिने वा जोड दिने पक्षमा म छैन। म पार्टीको महासचिव पनि हुँ, पार्टीको औपचारिक बैठकमा पनि छौँ। अहिले पनि पार्टी एकतालाई सुरक्षित राख्नका लागि लागिरहने अन्य साथीमध्ये एक जना म पनि पर्छु। मिडियाबाट म कसैलाई नाम तोकेर आरोपित गर्न चाहन्न। यसो गर्दा एकताका लागि मैले गरिरहेका प्रयास कमजोर हुन्छन्। यो मलाई थाहा छ। कहाँ के कारणले एकतामा व्यवधान भएको भन्ने मलाई थाहा छ।

हामीले जनातसँग गरेको कबुल के हो भन्ने भुल्नुहुँदैन। निर्वाचनमा जाँदा हामीले दुई पार्टीबीच चुनावी गठबन्धन ग¥यौँ। चुनावी गठबन्धनमा हामीले पार्टी एकता गर्छौँ भनेर घोषणासमेत गरेका थियौँ। त्यसकारण हाम्रो गठबन्धनले बहुमत पायो। त्यसपछि मुलुकले के अपेक्षा गरेको थियो भने अस्थिरताको चक्रव्यूहबाट मुक्त हुनेछ। मुलकले संविधान मात्रै पाएन संविधान कार्यान्वयन गर्ने अवसर पायो।

कहाँनिर समस्या छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ तर शीर्ष नेताहरूलाई यो कुरा जानकारी छ कि छैन ?

कहिलेकाहीँ थाहा हुन्छ तर पनि मानिसलाई कतिपय आकांक्षाले डो¥याउँछ। आकांक्षाले यसरी जबर्जस्ती डोहो¥याउँछ कि त्यसपछि पार्टीको, मुलुकको र जनताको बृहत हित छायाँमा पर्छ। अहिले त्यही स्थिति आएको हो।

यतिबेला संविधान मात्रै पाएका थिएनौँ, संविधान कार्यान्वयन गर्ने सुनिश्चित राजनीतिक वातावरण पनि निर्माण भयो, जनताले त्यही अनुकूलको जनादेश दिए, राजनीतिक स्थायित्व सुनिश्चित भयो। अब नेपाल संविधानको रक्षा गर्न मात्रै होइन, प्रभावकारी कार्यान्वयन गर्न सक्षम हुन्छ र संविधानले परिलक्षित गरेको दिशातर्फ समाजलाई डोहो¥याउन सक्षम हुन्छ भन्ने अपेक्षा समाजमा थियो। त्यसअनुरूप अघि बढ्न पहिलो सर्त पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपथ्र्यो। आन्तरिक एकता बलियो नभइसकेपछि त्यसको बहुआयमिक प्रभाव पर्ने नै भयो। सत्तारुढ दल त्यसको आफ्नै पार्टीभित्र आन्तरिक एकता सुदृढ छैन समस्याग्रस्त छ भने चौतर्फी समस्या आउँछ नै। त्यसले मुलुकको राष्ट्रिय राजनीतिलाई गम्भीररूपमा प्रभावित गर्ने अवस्था सिर्जना भएको छ।

यसो भनिरहँदा हामीले अहिलेको विवादलाई नेतृत्वको व्यक्तिगत टकराव हो भन्न सक्छौँ ?

नेताहरू र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहो¥याएको छ। त्यो आकांक्षा, मुलुक र जनताको आवश्यकता हो कि होइन ? स्वयं पार्टीको आवश्यकता हो कि होइन त्यसतर्फ कसैको मतलब छैन। आकांक्षाले यसरी जबर्जस्ती डोहो¥याएको छ कि त्यही आकांक्षा पूरा गर्न पार्टीभित्र यसप्रकारका समस्या एकपछि अर्कोरूपमा थपिँदै गएका छन्।

सचिवालयका कति जना नेताको त्यस्तो आकांक्षा देखिएको छ ?

म अहिले त्यतातिर जान चाहन्न। जे होस्, सिंगो पार्टीको सन्दर्भमा भन्ने हो भने केही सीमित नेताको आकांक्षा नै अहिलेको समस्याको मुख्य जड (चुरो) हो।

आकांक्षी नेताहरूलाई तपाईँहरूको आकांक्षाले मुलुकलाई घाटा गर्छ भन्नुभएको होला नि ? उहाँहरूको केही प्रतिक्रिया छैन ?

कहिलेकाहीँ के हुन्छ भने आकांक्षालाई आकांक्षा मात्रै भनेर प्रस्तुत गर्न गाह्रो हुन्छ। कम्युनिस्ट आन्दोलनमा एउटा रोग छ– आकांक्षालाई सिद्धान्तको जामा लगाइदिने। आकांक्षा भन्यो भने बजारमा एउटा सिद्धान्तको जामा पाइन्छ त्यही जामा ल्याएर लाएपछि त्यो आंकांक्षाको रूपमा मात्रै रहँदैन। त्यस्तो पनि प्रचलन भएकाले यसलाई परिभाषितरूपमा भन्न पनि कठिन छ। खैर, जेसुकै होस्, हामी एकता जोगाउन अन्तिम प्रयास गरिरहेका छौँ। सबै संभावनाको खोजी र कोसिसमा छौँ। मुख्य नेतृत्व (कोर अफ द लिडरसिप) भन्दा बाहिरबाट गरिएका प्रयास कामयावी हुन्छन् भन्ने कुरामा विश्वस्त छु।

त्यसो हो भने पार्टी विभाजनकै दिशामा छ भनेर हामीले बुझौँ ?

यसलाई विभाजनकै अवस्थाचाहिँ नभनौँ। समस्या जटिल बन्दै गएको यथार्थ लुकाउन सकिँदैन। तपाईँहरूले पनि देखिरहनुभएको छ एकताको पहलकदमी पनि हुँदैछ।

अहिलेको अवस्था कहाँ गएर टुंगिएला त ?

टुंगिनु त एकतामै पर्ने हो। विभिन्न कालखण्डमा यो भन्दा बढी समस्या देख्यौँ र भोग्यौँ पनि। सशक्त पहलकदमी पनि लियौँ र सफल पनि भयौँ। त्यसपछि हाम्रो अपेक्षा के थियो भने त्यसपछि त समस्या समाधान भए होलान् भन्ने ठान्थ्यौँ तर नयाँ नयाँ किसिमका समस्या आउन थाले। यसअघिका समस्या हाम्रो काबुमा रहे। त्यसलाई हामीले समाधान गर्न सक्यौँ। पार्टी एकतालाई सुदृढ राख्न सकेका थियौँ। त्यतिबेलाको परिस्थितिलाई काबुमा राखेर अन्तर्विरोधलाई समाधान गरेर पार्टीको एकतालाई जोगाएर ल्यायौँ। यसपटक भने पृथक अवस्था देखिएको छ। समाधानका अधिकतम प्रयासहरू सफल हुन सकिरहेका छैनन्।

समाधानका विकल्पहरू कसरी प्रस्तुत गरिरहनुभएको छ ?

केही यस्ता विषय छन् जसका विकल्प नै छैनन् कि जस्तो आए। तर पनि हामी केही साथीहरू भने यसलाई समाधानको दिशातर्फ लैजानुपर्छ भनेर लागिरहेका छौँ। सबै संभाव्य उपाय खोजी गर्दैछौँ।

एकता जोगियो भने, पार्टी एकता जोगाउन सकियो भने, पार्टी एकताको पक्षमा रहेको जनमत, एकताको पक्षमा रहेको सदस्य पंक्ति कार्यकर्ता पंक्ति र दोस्रो तेस्रो लियरमा रहेको नेतृत्व पंक्तिको पहलमा पार्टी एकता जोगिन सक्छ। हामी सचिवालयका सदस्यहरू मसमेत (मुख्य नेतृत्व) पार्टीको नेतृत्व गर्न असफल भयो, पार्टी एकता जोगाउन पनि असफल भयो, पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान गर्न पनि सचिवालय असफल भयो। अन्तरविरोधलाई समाधान गर्दै पार्टीलाई अघि बढाउने भूमिकामा सचिवालय प्रभावकारी हुन सकेन। अब पार्टी एकता जोगियो भने शायद सचिवालय भन्दा तलको कमिटी (स्थायी कमिटी, केन्द्रीय कमिटी वा कार्यकर्ता पंक्ति) बाट जोगिन सक्छ।

सचिवालयको औचित्य सकियो भन्ने यहाँको निष्कर्ष हो ?

सचिवालयको वैधानिक उपस्थिति त हुन्छ नै। भूमिकाका दृष्टिले हेर्ने हो म कठोर भएरै भन्न सक्छु– सचिवालयले आफ्नो भूमिका स्थापित गर्न र औचित्य÷दायित्व पूरा गर्न सकेनौँ।

विभाजन नजिक आइपुग्दा दोस्रो पुस्ताचाहिँ हेरेरै बस्ने हो कि हस्तक्षेप गरेर पार्टी चलाउने हो ?

हेरेर बस्ने भन्दा पनि सकेसम्म सबैलाई मिलाएर लैजानुपर्छ, नेताहरूको पनि व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा हामी लागेका हौँ। विभाजनको खिलाफमा र एकताको पक्षमा बहुसंख्यक साथीहरू उभिन चाहिरहनुभएको छ। खासगरी दोस्रो पुस्ता पार्टी सञ्चालनका लागि सक्षम छ। अहिले पनि हामी छलफलमा छौँ, के गर्दा उपयुक्त हुन्छ भनेर साथीहरू लागिरहनुभएको छ। विभाजनका लागि होइन, एकताका लागि अनुकूल हुने निर्णय गरेरै अघि बढाँै भनेर दोस्रो तेस्रो पुस्ता चिन्तित भएर क्रियाशील छ। त्यसै अर्थमा पार्टी एकता जोगाउन सक्यौँ भने दोस्रो तेस्रो पुस्ताबाटै जोगिन्छ।

संभावना कत्तिको छ ?

संभावना छ। साथीहरू लागिरहनुभएको छ। धेरैतिरबाट कुराकानी भइरहेका छन्। पार्टी र मुलुकको राजनीतिक भविष्य साथै आमकार्यकर्ता र जनताको भविष्यसँग जोडिएको यस पार्टी विभाजनउन्मुख हुनुहँुदैन भन्ने चाहनाका कारण साथीहरू विभाजन रोक्न पहलकदमी गरिरहनुभएको छ।

नेकपाको अन्तद्र्वन्द्वले नेकपालाई मात्रै हानि गर्छ कि मुलुकलाई पनि ?

पार्टीहरू भनेका अस्थायी परिदृष्य नै हुन्। सिंगो मानव सभ्यतालाई हेर्ने हो मानव जातिको इतिहासको सन्दर्भमा भन्ने हो भने पार्टीहरू समयको आवश्यकताले निर्माण हुन्छन् र प्रयोजन सकिएपछि सकिन्छन् पनि। त्यसकारण पार्टीहरू सापेक्षित सत्य हुन्, निरपेक्ष सत्य होइनन्। कम्युनिस्ट पार्टी पनि सापेक्षित सत्य हो निरपेक्ष सत्य होइन। तर यतिबेला शक्तिशाली पार्टी, जनआधारित पार्टी, लोकतान्त्रिक मूल्य÷मान्यता भएको, विचार दृष्टिकोण आत्मसाथ गरेको शक्तिशाली पार्टी अहिलेको आवश्यकता हो।

संविधानको रक्षक, संविधानको प्रभावकारी कार्यान्वयन र संविधानले परिलक्षित गरेको दिशामा आर्थिक–सामाजिक रूपान्तरण गर्ने पार्टी अहिलेको आवश्यकता हो। यति धेरै जनताको समर्थन रहेको झण्डै दुईतिहाइ बहुमत नजिक रहेको र सरकारको नेतृत्व गरेको पार्टीमा अनपेक्षित घटना भए, एकताबद्ध रहन सकेन भने त्यसको प्रभाव नेकपामा मात्र पर्दैन, धेरैतिर हानि÷नोक्सानी गर्छ भन्ने लाग्छ।

नेताहरूलाई स्थायी कमिटीले त्यसरी मार्गनिर्देशन गर्न सक्ला त ?

स्थायी कमिटी बैठकले विग्रहको पक्षमा निर्णय गर्ला जस्तो मलाई लाग्दैन। व्यक्तिको कुरा छाडौँ, स्थायी कमिटी कुनै पनि प्रकारको विग्रहलाई परास्त गर्दै एकताको पक्षमा उभिन्छ भन्ने मलाई लाग्छ। म यसमा चाहिँ आशवादी छु।

नेकपाले मुलुकको समृद्धिको बाटो तय गर्छ भनेर सरकार बनाएको हो। त्यो बाटो अब कहाँ पुग्यो ?

सरकारको काम पार्टीको आन्तरिक जीवनले गम्भीररूपले प्रभावित पारेको छ। योचाहिँ हामीले नलुकाई भन्नुपरेको छ। हामीचाहिँ खासगरी दुईवटा विषयमा सोच्ने हो। पार्टीले निर्वाचनमा जाँदा जनतासँग जुन प्रतिबद्धता लिएर गएको छ (जसलाई हामी चुनावी घोषणापत्र भन्छौँ) त्यसको आलोकमा उभिएर सरकारका काम कारबाही अघि बढाउने। यो कालखण्ड सकिएर अर्को कालखण्डमा निर्वाचनमा जाँदा घोषणापत्र आधारभूतमा कार्यान्वयन गरेर जाने हाम्रो जिम्मेवारी हो। हामीले पार्टीको आन्तरिक अन्तरविरोधलाई व्यवस्थापन गर्न सक्यौँ भने आगामी निर्वाचनमा जाँदा आमरूपमा आधारभूत घोषणापत्रमा भएका विषयलाई कार्यान्वयन गरेर जान सक्छौँ। यसो भयो भने जनतासँग हामी फेरि तपार्इँहरूको परीक्षामा आएका छौँ भनेर शीर उचालेर जान सक्छौँ।

नेकपाभित्र यहाँहरूले सोचेको सबैभन्दा राम्रो (उत्तम) र खराब चिज के हो ? र, खराब भन्दा खराब भयो भने के होला ?

उत्तम चिज भनेकै पार्टी एकता सुरक्षित रहनु हो पार्टीका एकताका सबै काम सकिनु, सकेसम्म चैतभरमा वा नसके एकाध महिना थप समय लिएर वा ढिला गरेर भए पनि लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गर्नु र एउटा अग्रगामी लोकतान्त्रिक मूल्य÷मान्यतामा आधारित नेकपाको एकतालाई पुनर्पुष्टि गर्नु नै हो। त्यसैगरी पार्टीको नेतृत्वको सरकारलाई साथ सहयोग गरेर अघि बढ्नु, पार्टी र सरकारबीच र सरकार र जनताबीचको सम्बन्ध समधुर र सुन्दर बनाएर सरकारको काम प्रभावकारी बनाउँदै अगाडि लैजान चाहिरहेका छौँ। हामीले चाहेको सुन्दर अपेक्षा यही नै हो। अब खराब विषयमा त्यति धेरै चर्चा गर्नु परेन, देखिएकै छ।

खराब परिस्थिति नै धेरै छ भन्ने तपाईँको ठम्याइ हो ?

खराब परिस्थिति बलशाली हुँदै गएको छ। पार्टीभित्र खराब परिस्थिति हाबी हुन खोजेको छ।

अहिले सडकमा ‘राज आऊ देश बचाऊ’ भन्ने नारा लागिरहेका छन्। यसका पछाडि नेकपाभित्र देखिएको अन्तर्विरोध नै हो भन्ने महसुस छ कि छैन ?

कोभिडदेखि यता ठूलो संख्यामा हामीलाई सडकमा जान स्वास्थ्य मापदण्डले पनि दिएको छैन। त्यसले गर्दा यस्तो बेलामा पार्टीहरूको भूमिका के हो भन्ने अवस्था आयो। मलाई के लाग्दैन भने जनमत राजावादीको पक्षमा छ तर जनमत नेताहरूप्रति कठोर भएकै हो। तर पार्टीहरूको विकल्प र संविधानको विकल्प खोज्ने क्रममा जनमत पुगेको छ भन्ने मलाई लाग्दैन। जनमत संविधानको पक्षमा छ जनमत राजनीतिक पार्टीहरूको पक्षमा छ। पार्टीहरूप्रति जनताको आक्रोश छ, आलोचना छ। राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गरुन्, आफ्नो क्षमता प्रदर्शन गरुन् भन्ने अपेक्षा छ। आलोचना मिश्रित अपेक्षा छ।

कोभिड नियन्त्रणको सवालमा सरकारको भूमिका प्रभावकारी भयो भन्ने कुरामा तपाईँ आफैँ कत्तिको विश्वस्त हुनुहुन्छ ?

कोभिड नियन्त्रणको सवालमा कुरा गर्ने हो भने हामीले दक्षिण एसियाली अरू मुलुकलाई हेर्दा हामी केही हदसम्म सफल भयौँ। अन्य मुलुकको तुलनामा हामी निकै सफल भयौँ, हामीले गरेका काम उच्चतम छन् भनेर म भन्दिन तर तुलनात्मकरूपमा भन्ने हो भने सरकारको रेस्पोन्स उचित नै ठान्छु। कोभिडका कारणले मृत्यु दर उच्च नहोस् भन्नेतर्फ हाम्रो ध्यान छ। हाम्रा कोसिस निकै राम्रोसँग अघि बढेका छन्।

अब हाम्रो ध्यान कोभिडको भ्याक्सिन ल्याउनेतर्फ केन्द्रित छ। भ्याक्सिन गुणस्तरीय र कम लागतमा नेपाल ल्याउने हाम्रो प्रतिबद्धता छ। समयमै आपूर्ति गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ। यस हिसाबले हेर्ने हो भने कोभिड मात्रै होइन स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती आउन सक्दोरहेछ भन्ने कुरालाई ध्यान दिएर स्वास्थ्य संरचना बलियो बनाउनुपर्छ भनेर त्यतातिर ध्यान केन्द्रित भयो। मंसिर १५ गते मात्रै एकसाथ हामीले सबै स्थानीय तहमा अस्पताल शिलान्यास गरेका छौँ। बजेट प्रबन्ध गरेका छौँ। यो हिसाबले स्वाथ्य क्षेत्रमा हाम्रो पर्याप्त ध्यान गएको छ।

कोभिडविरुद्धको खोप किन्नका लागि राज्य मुठी खोल्छ ?

म अर्थमन्त्री पनि भएको नाताले भन्छु कि हामीले खोपका लागि आवश्यक पर्ने स्रोतको प्रबन्ध गरिसकेका छौँ। खोपका निम्ति स्रोतको अभाव हुँदैन। खोप दायित्व राज्यले बेहोर्ने गरी हाम्रो तयारी छ। विश्वव्यापी मान्यताका आधारमा फ्रन्टलाइनहरू र ज्येष्ठ नागरिकहरूले खोप प्राथमिकतामा पाउनेछन्।

प्रकाशित: ६ पुस २०७७ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App