नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले मुलुकमा र पार्टीमा देखिएको मुख्य समस्या विश्वासको संकट रहेको बताएका छन्।
आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आम नागरिक र युवा पुस्तामा भरोसा टुट्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
‘अहिले नेपालमा ‘क्राइसिस अफ इम्याजिनेसन’ र ‘कोल्याप्स अफ ट्रस्ट’ को अवस्था छ,’ थापाले भने, ‘बाबु-आमा र छोराछोरी सँगै बसेर रुनुपर्ने अवस्था छ। छोरा क्यानडा जान्छु भन्छ, छोरी अष्ट्रेलिया जान्छु भन्छिन्। यो देशमा बस्नै सकिँदैन भन्ने मनोविज्ञान बनेको छ। यो अविश्वास चिर्ने जिम्मेवारी कांग्रेसको हो।’
महामन्त्री थापाले नेपाली कांग्रेस केवल चुनाव जित्न, सरकार बनाउन र मन्त्री बन्नका लागि मात्र स्थापना नभएको जिकिर गरे।
‘कांग्रेस चुनावबाट बनेको पार्टी होइन, कांग्रेस राष्ट्रिय शक्ति हो,’ उनले भने, ‘चुनाव जितौला वा हारौला, तर समाजमा जहाँ समस्या पर्छ, त्यहाँ कांग्रेस उभिनुपर्छ। राष्ट्रिय शक्तिले जिम्मेवारी निर्वाह गर्छ। तर अहिले हामी चुनाव जित्ने खेलमा मात्र लाग्यौँ, नागरिकको भरोसा जित्न सकेनौँ।’
प्रकाशित: २७ पुस २०८२ १९:०८ आइतबार





