२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

देउवालाई गगनको आग्रह- वरिपरिकाले माया गरेका छैनन्, अब आराम गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विश्राम लिन आग्रह गरेका छन्।

उनले सभापतिको वरिपरि घेरा हालेर बस्ने समूहले उनलाई माया नभई स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको टिप्पणी गरे।

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले देउवाको इतिहास र योगदानको सम्मान गर्दै अब मार्गप्रशस्त गर्न सुझाव दिए।

‘दाइ, यो देशमा प्रजातन्त्रका लागि तपाईंको ठूलो योगदान छ। तर अब तपाईंले छाडिदिनुपर्छ। समय आएको छ, अब तपाईंले आराम गर्नुपर्छ,’ सभापति देउवालाई सम्बोधन गर्दै थापाले भने।

महामन्त्री थापाले देउवालाई उचाल्ने र पदमा टिकिरहन सल्लाह दिनेहरूप्रति पनि टिप्पणी गरे। उनले देउवालाई भेट्न र उचाल्न जानेहरू वास्तविक शुभचिन्तक नभएको दाबी गरे।

‘जसले घुमिघुमिकन तपाईंलाई बोलाउन गए, वास्तवमा ती तपाईंलाई माया गर्ने मान्छे होइनन्,’ थापाले भने, ‘तपाईंको चिन्ता गरेर, तपाईं प्रतिको सम्मान नघटोस् भनेर हामीले बारम्बार भनेका छौं, दाइ अब छाडिदिनुस्।’

उनले आफूहरूले विशेष महाधिवेशन बोलाउनुको उद्देश्य सभापतिको अपमान गर्नु नभएको प्रस्ट पारे। विगतमा जेल जीवनमा सँगै दुःख-सुख साटेको स्मरण गर्दै उनले आफूहरू देउवाको साख जोगाउन लागिपरेको बताए।

‘हामी तपाईंको सम्मान घट्न नदिन यो कुरा गरिरहेका छौं ,’ उनले भने, ‘इतिहासले पछि तपाईंको मूल्यांकन गर्दा धेरै खराब कामहरू भए भनेर नभनियोस्। त्यसैले अहिले नै बाटो छोड्दिनुपर्छ।’

प्रकाशित: २७ पुस २०८२ १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App