संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रूपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
संयुक्तराष्ट्रसंघका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने बिन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ।
राष्ट्रसंघका महासचिव गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसंघको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भने, 'जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति शृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ। द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ।'
'भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ। हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नुहुँदैन,' उनले भने।
गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मे सम्म सहायतामा पूर्ण रूपमा नाकाबन्दी लगाएपछि स्थिति अझ खराब बनेको छ।
नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ।
आइतबार इजरायलले संयुक्त राष्ट्रसंघ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि 'रणनीतिक विराम' सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण 'खतरनाक स्तरमा' पुगेको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघको आप्रवासन निकाय (आईओएम) का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भने, 'सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो।'
सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक 'र्यापिड सपोर्ट फोर्सेज' का कमाण्डर मोहम्मद हमदान डग्लोबिचको शक्ति सङ्घर्षका कारण सुडान टुक्रिएको छ।
यो युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। एएफपी
प्रकाशित: १२ श्रावण २०८२ १७:५३ सोमबार




-600x400.jpg)
-600x400.jpg)