अस्ट्रेलियाली विश्वविद्यालयहरूमा जातीय भेदभाव व्यापक रूपमा फैलिएको तथ्य सरकारी प्रतिवेदनले देखाएको छ।
अस्ट्रेलियाली मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अनुसार, जातीय भेदभावले विद्यार्थी र कर्मचारीहरू दुवैमा गहिरो प्रभाव पारिरहेको छ। ४२ विश्वविद्यालयका ७६ हजारभन्दा बढी विद्यार्थी तथा कर्मचारीहरूमाथि गरिएको सर्वेक्षणमा सहभागीहरूको ७० प्रतिशतले अप्रत्यक्ष जातीय भेदभावको अनुभव गरेको बताएका छन्। यसमा आफ्ना समुदायप्रति लक्षित जातीय व्यवहार सुन्ने तथा देख्ने अनुभव समावेश छ।
सर्वेक्षणमा सहभागी यहुदी र प्यालेस्टिनी व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीले जातीय भेदभावको अनुभव गरेको बताएका छन्। त्यस्तै, स्वदेशी अस्ट्रेलियन, अफ्रिकी, चिनियाँ, उत्तरपूर्वी एसियाली र मध्यपूर्वी समुदायका सदस्यहरूले पनि ८० प्रतिशतभन्दा बढी दरमा जातीय भेदभाव भोगेका छन्।
अस्ट्रेलियाको जातीय भेदभाव आयोगका कमिश्नर गिरिधरन शिवरमनले भने, ‘जातीय भेदभावले व्यक्तिहरू र समुदायलाई गहिरो क्षति पुर्याउँछ । यसले व्यक्तिको पहिचान र आत्म–सम्मान कमजोर बनाउँछ, उनीहरूको सामूहिकता र सुरक्षा भावना कमजोर गर्छ, र यदि रोक्न नसकिने हो भने हिंसामा परिणत हुन सक्छ ।’
सरकारले मे २०२४ मा विश्वविद्यालयहरूमा यहूदीविरोधी, इस्लामोफोबिया र जातीय भेदभावको अवस्था बुझ्न उक्त प्रतिवेदन तयार गर्न आदेश दिएको थियो। सिन्हवा
प्रकाशित: ६ फाल्गुन २०८२ ०७:४४ बुधबार





