अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल, यसको मालिक कम्पनी न्यूज कर्पोरेशन, मालिक रुपर्ट मर्डोक, न्यूज कर्पोरेशनका सीईओ रोबर्ट थमसन, र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। यो मुद्दा फ्लोरिडाको दक्षिणी जिल्ला अदालतमा शुक्रबार दायर गरिएको हो।
ट्रम्पले उनीहरुविरुद्ध मुद्दा दायर गरेर कम्तीमा १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्। मुद्दामा वाल स्ट्रिट जर्नलले सन् २००३ मा ट्रम्पले जेफ्री एपस्टाइनलाई उनको ५० औं जन्मदिनमा ‘अश्लील’ पत्र लेखेको र नग्न महिलाको चित्र कोरेको दाबी गरेको उल्लेख छ। पत्रमा ट्रम्पको हस्ताक्षर ‘डोनाल्ड’ नग्न महिलाको कम्मरमुनि रहेको र पत्रमा ‘हामीसँग केही समान कुराहरू छन्’ भन्ने वाक्यांश समावेश भएको दाबी गरिएको छ। ट्रम्पले यो पत्र र चित्र आफूले लेखेको वा कोरेको भन्ने कुरालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्, यसलाई ‘नक्कली’ र ‘दुर्भावनापूर्ण’ भनेका छन्।
ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकालाई उक्त लेख गलत भएको थाहा हुँदाहुँदै पनि सत्यको वास्ता नगरी ट्रम्पप्रति द्वेषपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ। मुद्दामा ट्रम्पले व्यक्तिगत रूपमा रुपर्ट मर्डोक र पत्रिकाकी सम्पादक एमा टकरलाई पत्र नक्कली भएको र प्रकाशित गरेमा मुद्दा हाल्ने चेतावनी दिएको दाबी गरिएको छ।
मुद्दामा उक्त लेखमा सत्यताको कमी भएको र पत्रको प्रामाणिकता पुष्टि नगरी प्रकाशित गरिएको उल्लेख छ। लेखमा उक्त पत्र जेफ्री एपस्टाइनको सहयोगी घिस्लेन म्याक्सवेलले सङ्कलन गरेको जन्मदिनको एल्बममा समावेश भएको र अन्य चर्चित व्यक्तिहरू जस्तै एलन डर्शोविट्ज र लेस वेक्सनरको सन्देश पनि त्यसमा रहेको भनिएको छ। यो लेख लाखौं मानिसहरूमाझ पुगेको र यसले ट्रम्पको प्रतिष्ठामा आर्थिक तथा सामाजिक क्षति पुर्याइरहेको मुद्दामा दाबी गरिएको छ।
यो मुद्दाको सुनुवाइका लागि इजलासलाई अनुरोध गरिएको छ। साथै, ट्रम्पले शुक्रबार नै आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टाइनको मुद्दासँग सम्बन्धित गोप्य ग्रान्ड जूरी कागजातहरू सार्वजनिक गर्न न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा अनुरोध गर्न निर्देशन दिएका छन्। यद्यपि कानुनी विज्ञहरूले यस्ता कागजातहरू सार्वजनिक गर्न कठिन हुने बताएका छन्।
जेफ्री एपस्टाइन एक अमेरिकी लगानीकर्ता थिए, जसको कम्पनीको नाम जे एपस्टाइन एण्ड कर्पोरेशन थियो। उनमाथि यौन दुर्व्यवहार र बाल यौन तस्करीको आरोप लागेको थियो। एपस्टाइनको सन् २०१९ मा न्यूयोर्कको जेलमा आत्महत्या गरेको दाबी गरिएको थियो। एजेन्सी
प्रकाशित: ३ श्रावण २०८२ ०९:०३ शनिबार





