इरानमा इजरायलसँगको १२ दिने द्वन्द्वमा मारिएका सैन्य कमान्डर र आणविक वैज्ञानिकसहित करिब ६० जनाको राजकीय अन्त्येष्टि गरिएको छ।
शनिबार तेहरानको एङ्गेलाब स्क्वायर नजिकै इरानी झण्डाले बेरिएका र मृतक कमान्डरहरूको तस्बिर राखिएका कफिनहरूको वरिपरि ठूलो भीड जम्मा भएको थियो।

अन्त्येष्टिमा सहभागी हुन आएकाहरूको नाराबाजी गर्दै इरानी झण्डा फहराएका थिए र मारिएकाहरूको तस्बिर बोकेका थिए।
यसअघि, सरकारी सञ्चारमाध्यमले मानिसहरूलाई सहभागी हुन आग्रह गरेको थियो भने सरकारले निःशुल्क बस र मेट्रो सेवा उपलब्ध गराएको थियो। आजका लागि सरकारी कार्यालयहरू बन्द गरिएका थिए।

शनिबार अन्त्येष्टि गरिएकाहरूमा इरानका सशस्त्र बलका चिफ अफ स्टाफ तथा देशका सर्वोच्च सैन्य अधिकारी मोहम्मद बाघेरी पनि थिए।
बाघेरीलाई इजरायली हमलामा मारिएका उनकी श्रीमती र छोरीसँगै गाडिनेछ। इरानी अधिकारीहरूका अनुसार, द्वन्द्वमा इरानमा कुल ६२७ जनाको मृत्यु भएको छ।
उता, इजरायली अधिकारीहरूले इरानको मिसाइल आक्रमणपछि इजरायलमा २८ जना मारिएको बताएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड्सका कमान्डर-इन-चिफ होसेन सलामी र तेहरानस्थित आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद मेहदी तेहरान्ची लगायतका आणविक वैज्ञानिकहरू पनि अन्त्येष्टि गरिएकाहरूमा थिए।
सरकारी टेलिभिजनका अनुसार, अन्त्येष्टिमा इरानी राष्ट्रपति मसूद पेजेश्कियन र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सल्लाहकार रियर एडमिरल अली शामखानी जस्ता प्रमुख व्यक्तित्वहरू सहभागी थिए। शामखानी यसै महिनाको सुरुमा भएको इजरायली हमलामा घाइते भएका थिए।



प्रकाशित: १४ असार २०८२ २१:२० शनिबार





