२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन शान्ति सम्झौतामा प्रगति नभए रुसमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी धम्की

फाइल तस्बिर

अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले युक्रेनसँगको शान्ति सम्झौतामा प्रगति नभए रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्। उनले युक्रेनलाई सैन्य सहयोग घटाएको भन्ने आरोप अस्वीकार गरे।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो फोन कुराकानी गरे पनि युक्रेन युद्ध समाधानका लागि ठोस नतिजा ननिस्किएपछि रुबियोले सिनेटमा यो कुरा बताए।

डेमोक्रेट नेताहरूले युद्ध अन्त्य गर्न पुटिनमाथि दबाब दिन ट्रम्प असफल भएको भन्दै आलोचना गरेका छन्।

सिनेटको विदेश सम्बन्ध समितिमा रुबियोलाई रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रस्ताव गरेको कडा प्रतिबन्धसम्बन्धी विधेयकको समर्थनबारे प्रश्न सोधिएको थियो।

यो विधेयकले रुसको युद्ध खर्च रोक्ने उद्देश्य राख्छ, जसअनुसार रुसको तेल र ग्याँस किन्ने मुलुकहरूबाट आयातमा ५०० प्रतिशत शुल्क लगाइनेछ। रुबियोले भने, ‘यदि स्पष्ट भयो कि रुस शान्ति सम्झौताको इच्छुक छैन र युद्ध जारी राख्न चाहन्छ भने, त्यो बिन्दुमा पुग्न सकिन्छ।’

तर उनले थपे, ‘राष्ट्रपति ट्रम्पको धारणा छ कि अहिले नै हामीले प्रतिबन्धको धम्की दिन थाल्यौँ भने रुस वार्ताबाट पछि हट्न सक्छ। वार्ताको टेबुलमा ल्याउन सक्नु आफैँमा मूल्यवान् कुरा हो।’ एजेन्सी

प्रकाशित: ७ जेष्ठ २०८२ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App