भारत, मुम्बईको किङ एडवर्ड मेमोरियल (केईएम) अस्पतालमा मंगलबार कोभिड-१९ पोजिटिभ दुई बिरामीको मृत्यु भएको छ। डाक्टरहरूले मृत्युको कारण कोभिड-१९ नभई दीर्घकालीन रोग भएको बताएका छन्।
एक ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम (मिर्गौलासम्बन्धी रोग) थियो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड-१९ संक्रमित फेला परेका छन्। बृहन्मुम्बई महानगरपालिकाले स्थिति नियन्त्रणमा रहेको र नागरिकलाई नआत्तिन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले मास्क लगाउने र बुस्टर खोप अद्यावधिक गर्न जोड दिएको छ।
पछिल्लो समय एसियामा कोभिड-१९ को नयाँ लहर देखिएको छ। सिंगापुर, हङकङ, चीन र थाइल्याण्डजस्ता देशहरूमा बढ्दो संक्रमणले चिन्ता बढाएको छ। यी वृद्धिको कारण कमजोर प्रतिरक्षा र ठूला जमघटहरू मानिएको छ। एजेन्सी
प्रकाशित: ७ जेष्ठ २०८२ ०८:२१ बुधबार





