२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान सीमा समारोह पुन: सुरु, आजदेखि आम जनताका लागि खुला

भारतले मंगलबारदेखि पाकिस्तानसँगको दैनिक सीमा समारोह ‘बिटिङ रिट्रिट’ पुन: सुरु गरेको छ। २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमण र त्यसपछिको सैन्य तनावका कारण नौ मेबाट यो समारोह स्थगित गरिएको थियो। 

भारतले ‘अपरेसन सिन्दूर’ मार्फत पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीरमा नौ आतंककारी अखडा ध्वस्त पारेको दाबी गरेको थियो, जसको जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो। 

पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। भारतले उक्त घटनामा पाकिस्तानको हात भएको आरोप लगाउँदै आएको छ। तर पाकिस्तानले यो आरोप अस्वीकार गरेर निष्पक्ष अनुसन्धानको माग गरिरहेको छ। यहीँ कुरामा दुवै देश लडाँइमा उत्रेका हुन्।

सीमा सुरक्षा बल (बीएसएफ) का अनुसार पञ्जाबको अटारी–वाघा, हुसैनीवाला र सादकी संयुक्त चेकपोस्टमा मंगलबार साँझबाट समारोह सुरु भएको छ र बुधबार (आज) बाट आम जनताका लागि खुला हुनेछ।

यो समारोह पहिलेभन्दा संयमित छ। बीएसएफ र पाकिस्तान रेन्जर्सबीच परम्परागत हात मिलाउने कार्य र सीमा गेट खोल्ने प्रक्रिया नहुने जनाइएको छ। पाकिस्तानले भने आफूले समारोह कहिल्यै नरोकेको र आफ्ना सैनिकले सीमाको आफ्नो तर्फ मार्च गरिरहेको दाबी गरेको छ।

अटारी-वाघा सीमामा सन् १९५९ देखि हुने यो समारोह लोकप्रिय पर्यटकीय आकर्षण हो, जहाँ दुवै देशका सैनिकले नाटकीय प्रदर्शन गर्छन्। सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यसँगै बनेको यो सीमाले उपमहाद्वीपलाई भारत र पाकिस्तानमा विभाजित गरेको थियो। यो समारोहले दशकौंदेखि कूटनीतिक र सैन्य तनावका बाबजुद निरन्तरता पाएको छ। एएफपी

प्रकाशित: ७ जेष्ठ २०८२ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App