२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको भन्सार शुल्कसामु किन झुक्दैन चीन?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कको दबाबमा बेइजिङ किन पछि हटिरहेको छैन भन्ने प्रश्नको जवाफ हो-उसलाई त्यसो गर्नु आवश्यक छैन।

चीनका नेताहरूले धम्की दिने (ट्रम्प प्रशासन) को सामु नझुक्ने कुरा पटक–पटक दोहोर्‍याएका छन्। साथै, विश्वको कुनै पनि देशभन्दा बढी यो चुनौती सामना गर्ने क्षमता चीनसँग छ।

भन्सार शुल्क युद्ध सुरु हुनुअघि चीनले अमेरिकामा ठूलो परिमाणमा सामान बिक्री गर्थ्यो, तर यो उसको कुल गार्हस्थ उत्पादन (जीडीपी) को केवल २ प्रतिशत मात्र थियो।

यद्यपि चीनका राष्ट्रपति सी जिनपिङले घरजग्गा संकट, क्षेत्रीय ऋणको बोझ र बेरोजगारी जस्ता आर्थिक समस्याहरू समाधान गर्न संघर्ष गरिरहेका छन्। यस्तो बेला अमेरिकासँग व्यापार युद्धमा फस्नु उनको चाहना छैन। तैपनि, सीको सरकारले चिनियाँ जनतालाई अमेरिकी दबाबको प्रतिरोध गर्न चीन बलियो अवस्थामा रहेको बताएको छ।

चीनलाई थाहा छ कि उसले लगाएको भन्सार शुल्कले अमेरिकी निर्यातकर्ताहरूलाई पनि हानि पुर्‍याउँछ। ट्रम्पले आफ्ना समर्थकहरूसँग चीनलाई भन्सार शुल्कमार्फत सजिलै झुक्न बाध्य पार्न सकिन्छ भनी दाबी गरेका थिए, तर यो पूर्ण रूपमा भ्रामक साबित भएको छ। बेइजिङ आत्मसमर्पण गर्ने पक्षमा छैन।

राष्ट्रपति सीले शुक्रबार बेइजिङ भ्रमणमा रहेका स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँग ट्रम्प प्रशासनको ‘एकतर्फी धम्की’ को संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताए। जवाफमा सान्चेजले भने, ‘चीन र अमेरिकाबीचको व्यापार तनावले युरोपसँगको सहकार्यमा बाधा पुर्‍याउनु हुँदैन।’

यो भेट बेइजिङले अमेरिकी सामानमा फेरि भन्सार शुल्क बढाउनु केही घण्टाअघि भएको थियो। यद्यपि, चीनले थप अमेरिकी शुल्क वृद्धिको जवाफ नदिने जनाएको छ। हाल अमेरिकाले चीनमाथि १४५ प्रतिशत शुल्क लगाएको छ भने जवाफमा चीनले १२५ प्रतिशत शुल्क लगाएको छ।

अर्को साता सी मलेसिया, भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन्। यी देशहरू ट्रम्पको शुल्कबाट प्रभावित छन्। उनका मन्त्रीहरूले दक्षिण अफ्रिका, साउदी अरब र भारतसँग व्यापार सहकार्य विस्तारबारे छलफल गरिरहेका छन्। साथै, चीन र युरोपेली संघ चिनियाँ गाडीमाथिको युरोपेली शुल्क हटाएर न्यूनतम मूल्य निर्धारण गर्ने वार्तामा छन्।

संक्षेपमा, चीनसँग धेरै विकल्पहरू छन्। विश्लेषकहरूका अनुसार, दुई महाशक्तिबीचको यो शुल्क वृद्धि अब लगभग अर्थहीन बन्दै गएको छ, किनकि उनीहरूले पहिल्यै धेरैजसो व्यापार कटौती गरिसकेका छन्। त्यसैले, यो शुल्क वृद्धि प्रतीकात्मक मात्र बनेको छ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले हालै सामाजिक सञ्जालमा अध्यक्ष माओको कोरियाली युद्धकालीन भनाइ उद्धृत गरिन्— ‘यो युद्ध जतिसुकै लामो भए पनि हामी कहिल्यै झुक्दैनौं।’ उनले थपिन्, ‘हामी चिनियाँ हौं, उत्तेजनाबाट डराउँदैनौं, हामी पछि हट्दैनौं।’

जब चीनले अध्यक्ष माओलाई स्मरण गर्छ, त्यो उनीहरूको गम्भीरताको संकेत हो। बीबीसी

प्रकाशित: ३० चैत्र २०८१ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App