नेपाली खेलकुद इतिहासका अग्रणी खेलाडी (६ ओलम्पियन) मध्ये एक बक्सिङका हस्ती नामसिंह थापाको निधन भएको छ।
सन् १९६४ मा जापानमा भएको १८औं गृष्मकालीन ओलम्पिकदेखि नेपालले सहभागिता जनाएको थियो। सोही पहिलो सहभागितामा नेपालबाट चार बक्सर र दुई धावकले प्रतिस्पर्धा गरेका थिए।
उक्त टोकियो ओलम्पिक खेल्ने चार बक्सरमध्ये नामसिंहको शनिबार निधन भएको छ। नेपाल बक्सिङ महासंघले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नामसिंहको निधन भएको पुष्टि पनि गरेको छ।
साथै महासंघले अवसानमा श्रद्धाञ्जली अर्पण गर्दै उनले बक्सिङ खेलप्रति देखाएको लगानी र लगाव सदैव सम्झने उल्लेख गरेको छ। हङकङस्थित ‘हेभन एण्ड होप’ अस्पतालमा अस्ताएको महासंघले जनाएको छ।
‘हामी सम्पूर्ण खेलप्रेमी दाजुभाई, दिदीबहिनीहरूको लागि ठूलो क्षति हो। उहाँले बक्सिङ खेलप्रतिको लगानी र लगाव सदासर्वदा सम्झिरहने छौं,’बक्सिङ महासंघका अध्यक्ष राम अवालेले उल्लेख गरेका छन्। थापा लामो समयदेखि क्यान्सरपीडित थिए। उनका श्रीमती, एक छोरा र चार छोरीहरू छन्। उनी स्याङ्जा र पोखराको बीचमा रहेको गाउँ मनकामना गाविसको बलेउ–५ मा जन्मिएका थिए। उनले १८ वर्षको उमेरमा टोकियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाएका थिए।
पुरुष फ्लाइवेटमा प्रतिस्पर्धा गरेका उनी समग्रमा नवौं स्थानमा रहे। उक्त ओलम्पिकमा एलेटिक्सका दुई खेलाडी भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले प्रतिस्पर्धा गरेका थिए। बक्सिङतर्फ भने थापासँगै ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले प्रतिस्पर्धा गरेका हुन्।
प्रकाशित: २० पुस २०८२ ०६:१८ आइतबार





