१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

डुम्रे-बेसीशहर सडक खण्डको चाम्बासदेखि तुरतुरे क्षेत्र १० दिन बन्द रहने

डुम्रे-बेसीशहर-चामे सडक योजनाअन्तर्गत डुम्रे-बेसीशहर सडक खण्डको भानु नगरपालिकास्थित चाम्बासदेखि तुरतुरे क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको काम अघि बढाउन उक्त सडक खण्ड १० दिनका लागि बन्द गर्न लागिएको जानकारी दिएको छ।

उक्त क्षेत्रको ढुकुर्दीदेखि तुरतुरेसमम रोडवे एक्साभेसन (सडक खन्ने काम) गर्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण र काममा सहजता ल्याउन सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ।

डुम्रे-बेसीशहर-चामे सडक योजनाको पत्रअनुसार चैत २१ गतेदेखि चैत ३० गतेसम्म दैनिक रूपमा दुई फरक-फरक समयमा सडक अवरुद्ध हुने बताइएको छ।

प्रशासनका अनुसार बिहान १२:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म र बेलुका ५:०० बजेदेखि राति ९:०० बजेसम्म सो सडक खण्ड पूर्ण रूपमा बन्द रहनेछ।

सडक बन्द रहेको समयमा यात्रुहरूले वैकल्पिक मार्गको प्रयोग गर्न सक्नेछन्। प्रशासनले सवारी आवागमनका लागि तुरतुरे–पालुङटार–खत्रिचार हुँदै विमलनगर निस्कने वैकल्पिक रुट तय गरिदिएको छ।

सडक प्रयोगकर्ताहरूलाई तोकिएको समयतालिका र वैकल्पिक मार्गको जानकारी राखेर मात्र यात्रा गर्न प्रशासनले अपिल गरेको छ।

प्रकाशित: १९ चैत्र २०८२ २२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App