१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा दुई जनाले दिए कारागारबाटै एसइई, सम्बन्धित केन्द्रमै उत्तरपुस्तिका जाँचको तयारी

ताप्लेजुङमा जिल्ला कारागारबाट दुई जना परीक्षार्थीले एसइई दिएका छन्। ११ केन्द्रमध्ये चार केन्द्रका परीक्षाको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सबै केन्द्रमा एसइई परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार जिल्ला कारागारमा कैदीबन्दीको रूपमा रहेका एक जनाले नियमित र एक जनाले ग्रेडवृद्धि परीक्षा दिएका छन्। प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार ताप्लेजुङका सबै केन्द्रमै परीक्षा सकिएका विषयको उत्तरपुस्तिका परीक्षणको प्रबन्ध गरिएको छ। जिल्ला सुरक्षा समितिले सम्बन्धित केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा जनशक्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म तथा मातहतका युनिटमार्फत व्यवस्थापन गर्ने भएको छ।

सम्बन्धित केन्द्रका केन्द्राध्यक्षले विषयगत शिक्षक तथा विज्ञहरूको व्यवस्थापन गरी शुक्रबारबाटै उत्तरपुस्तिका परीक्षण गर्ने कार्य सुरु गर्ने तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए। गएराति मात्र उत्तरपुस्तिका जाँच कार्यविधि प्राप्त हुन आएको र कार्यविधि प्राप्त भए लगत्तै सबै केन्द्रका केन्द्राध्यक्षसँग सम्पर्क गरी उत्तरपुस्तिका जाँचको आवश्यक तयारी गर्न निर्देशन दिइएको भट्टराईले बताए। 

ताप्लेजुङमा मिक्वाखोला र मैवाखोला गाउँपालिकामा केन्द्र छैनन् भने फुङलिङमा ४, सिरिजङ्गामा २, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, आठराई त्रिबेणी र सिदिङ्वामा एक–एक वटा केन्द्र रहेका छन्।

यस वर्ष साविकभन्दा ६ वटा केन्द्र कटौतीमा परेका छन्। यहाँबाट नियमित, प्राविधिक धार र ग्रेडवृद्धि गरी कुल २ हजार ९ जनाले परीक्षा दिने गरी आवेदन दिएकामा कतिपय अनुपस्थित भएको सम्बन्धित केन्द्रका केन्द्राध्यक्षले जनाएका छन्।

अनुपस्थित हुनेको विवरण केही समयपछि प्राप्त हुने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०८२ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App