अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारी भर्ना तथा कटौती गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवहरूसँग रहने बताएका छन्। उनले एलन मस्क र उनको सरकारी दक्षता विभाग (डोज) ले सहयोग गर्ने भए पनि अन्तिम निर्णय मन्त्रालयले नै गर्ने स्पष्ट पारेका हुन्।
बिहीबार सचिवहरूसँगको भेटमा ट्रम्पले भने, ‘हामीले अधिकांश सचिवहरू, एलन र अन्यसँग बैठक गरेका छौं र यो निकै सकारात्मक छलफल रह्यो। कर्मचारी संख्यालाई आवश्यक ठाउँमा ल्याउनु महत्त्वपूर्ण छ, तर सक्षम र उत्पादक कर्मचारीहरूलाई राख्नु पनि उत्तिकै जरुरी छ।’
डोजद्वारा गरिएका व्यापक कटौतीहरूले चिन्ता बढाएको छ। यी कटौतीका कारण कानुनी चुनौतीहरू उठिरहेका छन् भने मतदाताहरू पनि असन्तुष्ट छन्। यद्यपि, बिहीबारको बैठकपछि ट्रम्पले मस्क र डोजको प्रशंसा गर्दै भने, ‘मलाई लाग्छ कि उनीहरूले उत्कृष्ट काम गरेका छन्।’
यसअघि, मस्कले संघीय कर्मचारीहरूलाई आफ्नो कामको रूपरेखा बनाउन वा जागिर गुमाउन विकल्प दिएका थिए। यो कुराले ट्रम्प सरकारमा धेरै सदस्यहरू असन्तुष्ट थिए। यस कुरालाई लिएर विदेशमन्त्री मार्के रुबियो र मस्कबीच भनाभन भएका खबर पनि सार्वजनिक भएका छन्। आफूले भने अनुसार मार्कोले कर्मचारी कटौती नगरेको मस्कको आरोपछि विवाद सुरु भएको अमेरिकी सञ्चार माध्यमले दाबी गरेका छन्।
ट्रम्पले भने, ‘क्याबिनेट सचिवहरूले आवश्यक कर्मचारीहरू राख्न सक्छन्। तर, यदि पर्याप्त कटौती भएन भने एलनले हस्तक्षेप गर्नेछन्।’ ट्रम्प र मस्कले ठूलो मात्रामा कटौती गर्ने प्रयास गरिरहेका छन्, जसअन्तर्गत हजारौं कर्मचारीहरू बर्खास्त हुने सम्भावना छ।
संघीय सरकारको पुनर्संरचना तीव्र गतिमा भइरहेको छ, जसले केही रिपब्लिकन सांसदहरूलाई पनि असहज बनाएको छ। मतदातामा असन्तोष बढ्दै गएकाले मस्कले सिनेट रिपब्लिकनहरूसँग गोप्य बैठक गरेर आफ्ना योजनाबारे स्पष्टिकरण दिएका छन्। उनले हाउस रिपब्लिकनहरूसँग पनि भेटेर सरकारको खर्च सुधार गर्ने अवसरबारे छलफल गरेका थिए। एजेन्सी
प्रकाशित: २४ फाल्गुन २०८१ ०८:५४ शनिबार