१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

पाहलगाम घटनाबारे परराष्ट्रमन्त्रीको जानकारीः बुटवलका सुदीपको मृत्यु, आमा घाइते

भारतको जम्मू काश्मीरको पाहलगमस्थित बैसारान मेडोमा मंगलबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाउने नेपालीको पहिचान भएको छ। 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जाल एक्समार्फत मृतक बुटवल उपमहानगरपालिका–११, कालिकानगर, रुपन्देहीका सुदीप न्यौपाने भएको जानकारी गराएकी छिन्। 

राणाका अनुसार हमलामा सुदीपकी आमा घाइते भएकी छन्। आमा–छोरा घुम्न पाहलगम पुगेका थिए। यो क्रूर र अमानवीय हमलाको जति निन्दा गरे पनि कम हुने पनि उनले बताइन्। उनले परराष्ट्र मन्त्रालय घटनाबारे थप जानकारी लिन भारत सरकारसँग सम्पर्कमा रहेको जानकारी दिएकी छिन्। 

मंगलबार भएको सो घटनामा एक नेपालीसहित २८ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यका अनुसार २६ भारतीय र २ विदेशीको ज्यान गएको छ। 

सो हमलामा दर्जन भन्दा धेरै घाइते छन्। केहीको अवस्था गम्भीर भएका कारण मृतक संख्या बढ्न सक्ने देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाको निन्दा गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। गृहमन्त्री अमित शाहले बुधबार श्रीनगरमा पीडित परिवारसँग भेटेका छन्। 

नेपालसहित विश्वभरबाट नै हमलाको निन्दा भएको छ। जम्मू काश्मीरमा स्कूल–कलेज बन्द गरिएको छ। भारतको राजधानी दिल्ली, मुम्बईलगायत सहरमा सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। चार विशेष उडानमार्फत पर्यटकलाई श्रीनगरबाट दिल्ली र मुम्बई फर्काइँदै छ।

प्रकाशित: १० वैशाख २०८२ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App