२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

दशप्रतिशत आगमन बढाउने २०२५ को लक्ष्य अपुरो

२०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक भित्रिए

सन् २०२४ को तुलनामा कम्तिमा १० प्रतिशत बढी पर्यटक भित्र्याउने सन् २०२५ को लक्ष्य अपुरै रहेको छ। पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो।  

नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। बोर्डका अनुसार २०२५ को आगमनमा अघिल्लो वर्षको तुलनामा १ प्रतिशत मात्र वृद्धि हो। तर, २०१९ को तुलनामा भने ३ प्रतिशत कमी हो।  

‘२०२४ को तुलनामा २०२५ मा कम्तिमा १० प्रतिशत आगमन बढाउने लक्ष्य थियो। तर, पुरा हुन सकेन,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले भने, ‘जेनजी आन्दोलन र विपत्का घटनाक्रमले पनि आगमन घटाएको हो। पर्यटकीय सिजन सुरु हुनैलाग्दा भएको जेनजी आन्दोलनको प्रभाव पर्यटन क्षेत्रमा करिब एकमहिना रह्यो।’ त्यसबाहेक आक्रामक रुपमा प्रवर्द्धनका गतिविधि हुन नसक्दा पनि आगमन सोचेजति हुन नसकेको उनले बताए।  

उनका अनुसार सन् २०२५ मा भारतीय पाहुनाको आगमनमा भारी गिरावट आएको छ। जेनजी आन्दोलनपछि भारतीयको आगमनमा गिरावट आउन थालेको थियो। जेनजी आन्दोलनपछि अरु मुलुकका पाहुनाको आगमनमा छोटो समयमै सुधार भएपनि भारतीय पाहुना आगमनको गति भने सुस्त गतिमा अघि बढिरहेको उनले बताए। २०२४ को तुलनामा २०२५ मा भारतीय पाहुनाको आगमन ८ प्रतिशतले घटेको छ। त्यस्तै चिनियाँ पाहुनाको आगमन पनि सोचेजति हुन नसक्दा बोर्डको लक्ष्य पुरा नभएको हो। चिनियाँको आगमन पनि २०२४ को तुलनामा २०२५ मा ६.३ प्रतिशतले कमी छ।

‘जुन रुपमा सेल्स मिसनका कार्यक्रम हुनुपर्ने हो, त्यो अनुसार हुन सकेनन्। अन्तर्राष्ट्रिय बजार पहिचान गरेर सेल्स मिसनका कार्यक्रम गर्नुपर्ने भएपनि हुन नसक्दा आगमनले गति लिन नसकेको हो,’ उनले भने। उनका अनुसार व्यावसायिसँगको सहभागितमा कतिपय कार्यक्रममा बोर्ड सहभागि भएपनि आक्रमक रुपमा प्रवर्द्धनका कार्यक्रम हुन नसक्दा आगमन प्रभावित भएको लामिछानेले बताए।

‘नेपालको पर्यटक छिटो गरि रिकभर हुने भएकोले जेनजी आन्दोलनको एकमहिनापछि तेश्रो मुलुकका पाहुना आगमनमा सुधार भएपनि छिमेकी मुलुकको आगमन कमजोर रह्यो,’ उनले भने, ‘नेपालले बढी आशा गरेको पर्यटन बजार भारत र चीन भएपनि दुवै मुलुकबाट पाहुना आगमनमा सुधार भएन।’

नेपालले सबैभन्दा बढी पर्यटक सार्क मुलुकबाट भित्र्याउँछ। २०२५ मा पनि नेपालले ३५.२ प्रतिशत पाहुना सार्क मुलुकबाटै भित्र्याएको छ। २०२५ मा सबैगरि ४ लाख ८ हजार १ सय ३ जना पर्यटक सार्क मुलुकबाट भित्र्याएको नेपालले २०२४ मा ४ लाख १७ हजार ८ सय ५६ जना पाहुना ल्याएको थियो। २०२४ को तुलनामा २०२५ मा सार्क मुलुकबाट भित्रिने पाहुनाको संख्या २.३ प्रतिशतले कमी रहेको पनि बोर्डले बताएको छ।  

यूरोपको आगनमा भने केही वृद्धि भएको छ। २०२४ मा नेपालमा २ लाख १४ हजार १५ जना यूरोपियन पाहुना भित्रिएकोमा २०२५ मा ३.३ प्रतिशतले बढेर २ लाख २१ हजार १८ जना पाहुना भित्रिएका छन। २०२५ मा नेपाल भित्रिएका यूरोपियन पाहुनाको हिस्सा झन्डै २२ प्रतिशत रहेको छ। त्यसैगरि एशियाका अरु मुलुकका पाहुनाको आगमनमा सामान्य वृद्धि रहेको छ। एशियाका अरु मुलुकका पाहुनाको आगमनको हिस्सा झन्डै २२ प्रतिशत रहेको पनि बोर्डको भनाई छ।  

अमेरिकी पाहुना आगमनमा पनि खासै वृद्धि छैन । २०२४ को तुलनामा एक प्रतिशत बढेर २०२५ मा १ लाख ३५ हजार ५ सय ३ जना अमेरिकी मुलका पाहुना भित्रिएका छन। त्यसैगरि मध्यपूर्वका पाहुनाको आगमनमा भने वृद्धि भएको छ। सन् २०२४ मा नेपालमा १६ हजार ६ सय ४८ जना पाहुना मध्यपूर्वबाट भित्रिएको भएपनि २०२५मा २३ प्रतिशतले बढेर २० हजार ५ सय ४ पुगेको छन।

‘मध्यपूर्वका पाहुनाको आगमनको आकार सानो भएपनि वृद्धिदर भने यो पटक राम्रो देखिएको छ। यूरोपको आगमन पनि सुधार छ। तर, एशियाकै आगमनमा कमजोर देखिएको छ,’ लामिछानेले भने।  

अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए।  

मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै जुलाई महिनामा नेपालमा ७० हजार १ सय ९३ र अगष्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

सेप्टेम्बरमा भने नेपालमा ७८ हजार ७ सय ११ जना विदेशी भित्रिएका थिए। अक्टोवरको १ लाख २८ हजार ४ सय ३३, नोभम्बरमा १ लाख १६ हजार ५ सय ५३ र डिसेम्बरमा ९८ हजार १ सय ९० जना विदेशी पाहुना भित्रिएका छन।  

भारतीयको आगमन सबैभन्दा बढी  

पछिल्लो समय आगमन कमजोर बन्दै गएपनि नेपालमा सन् २०२५ मा सबैभन्दा बढी भारतीय पाहुना नै भित्रिएका छन। नेपालमा बढी पाहुना भित्रिने दश मुलुकमध्ये पहिलो नम्बरमा भारतीय रहेका छन। २०२५ मा २ लाख ९२ हजार ४ सय ३८ जना भारतीय पाहुना नेपाल भित्रिएका छन। दोश्रो नम्बरमा अमेरिकाका १ लाख १२ हजार ३ सय १६ जना पाहुन नेपाल भित्रिएका छन।

तेश्रो नम्बरमा रहेको चीनका ९५ हजार ४ सय ८० जना पाहुना भित्रिएका छन। बेलायतको आगमनको आकार चौथो नम्बरमा रहँदा ५८ हजार ६ सय ८४ जना पाहुना भित्रिएका छन। त्यस्तै ५७ हजार ५ सय ४५ जना पाहुना भित्रिएर बंगलादेश पाँचौ स्थानमा रहेको छ।  

प्रकाशित: १९ पुस २०८२ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App