१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब रनवेमा नै यात्रुहरू खाना खान थाले...

नेपाल होस् या छिमेकी मुलुक भारत अथवा अन्य कुनै विदेशी मुलुक नै किन नहोस्। आफ्ना सेवाग्राहीलाई सक्दो सहज रुपले सेवा उपलब्ध गराउने दायित्त्व उनको पहिलो प्राथमिकतामा पर्नुपर्छ। तर, नेपाली विमान कम्पनीहरूको दिनदिनैको लापरबाहीका कारण सेवाग्राही सँधै सास्ती खेप्न बाध्य भइरहन्छन् र यो कहिलेसम्म यस्तो भइरहने हो ठेगान छैन।

भारतमा बिरलै विमान ढिलाईको समाचार सुन्न पाइन्छ। तर, यो वर्षको जाडोयामले भारतलाई पनि छोडेन। अत्यधिक कुहिरोका कारण भारतमा पनि विमान उडान प्रभावित बनेको छ। जसका कारण यात्रुहरू मर्कामा परेका छन्।

पछिल्लो समय भारतका विभिन्न निजी विमानस्थलमा उडान प्रभावित भएपछि यात्रुहरूले पाइलटमाथि हातपात मात्रै गरेनन् रनवे मै खाना खान थालेपछि घटना थप चर्चामा आएको छ।

भारत महाराष्ट्रको बम्बई एयरपोर्टको रनवेमा यात्रुहरूले उडानमा भएको ढिलाई र विमान कम्पनीले जानकारी नगराएको विरोधमा रनवे मै खाना खान थालेको भिडियो भाइरल बनेको छ। घटना पछि केन्द्र सरकारले एयरलाइन्स कम्पनीलाई कारण देखाउ भन्दै नोटिस जारी गरेको छ।

बीबीसीका अनुसार भिडियो भाइरल भएपछि केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमवार मन्त्रालयका सबै अधिकारीलाई बोलाएर बैठक गरेका थिए भने मङ्गलवार नियामक ब्यूरो अफ सिभिल एभिएशन सिक्योरिटीले विमान कम्पनी इन्डिगो र बम्बई एयरपोर्टलाई पत्र पठाएको छ।

समयमा जवाव नदिएको खण्डमा जरिवानासहित कारबाही गर्ने पत्रमा चेतावनी समेत दिइएको छ।

तर, नेपालमा आजसम्म सुन्न पनि पाइएको छैन कि विमानमा ढिलाई हुँदा सरकारले कुनैपनि विमान कम्पनीलाई सोधपुछ गरेको छ वा कारबाही गरेको छ।

के थियो घटना ?

गोवा–दिल्ली उडानमा ढिलाई भएपछि त्यसलाई डाइभर्ट गरेर बम्बई एयरपोर्ट लगियो। तर, विमानका यात्रुहरू बाहिर निस्केर रनवेमा खाना खान थाले भने केही रनवे मै बसिरहे। घटना लगतै एयरपोर्ट सुरक्षा निकायले यात्रुहरूलाई सुरक्षित क्षेत्रमा लगेर रनवे खाली गराएका थिए।

आइतवार गोवाबाट दिल्लीका लागि उडेको जहाज वाक्लो कुहिरोका कारण दिल्ली अवतरण गर्न सकेन र जहाजलाई डाइभर्ट गरेर बम्बई लगिएको थियो।

नेपाली एयरलाइन्स पनि विशेषगरी आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरूले तोकिएको समयमा सायदै कहिल्यै उडान गर्ने गरेको छ होला। एक घन्टा अघि नै विमानस्थल पुगेर सबै जाँच गराएर मात्रै अन्तिम चरणको प्रवेशद्वारमा जानुपर्ने भएकाले यात्रुहरू पनि सोही अनुसार समय मिलाएर घरबाट आफ्नो गन्तव्यका लागि हिँड्छन्। तर, मानौं ९ बजेको जहाज समय छ भने त्यो ९ बजे नै उड्दैन। समयभन्दा सँधै आधा एक वा त्योभन्दा पनि धेरै ढिलो गरी विमानले उडान भर्छ। जसको परिणाम यो हुन्छ की यात्रुले निर्धारण गरेका आफ्ना सबै काम प्रभावित त हुन्छ नै समयको पनि तालमेल मिल्दैन। र, यसले मानसिक, आर्थिक लगायत विभिन्न तनाव उत्पन्न गराउँछ।

विमान उडानमा किन ढिलाई भइरहेको छ, विमान उडानमा ढिलाई छ भनेर पूर्व जानकारी एयरलाइन्स कम्पनीहरूले आफ्ना यात्रुहरूलाई समय पूर्व जानकारी नगराउँदा पनि त्यसले बेलाबेला नेपाली एयरलाइन्स कम्पनीप्रति सेवाग्राहीको आक्रोश विमानस्थलमै पनि देख्न र सुन्न पाइन्छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यो समस्या जाडोयामको मात्रै होइन अन्य समयमा पनि उस्तै हो। गर्मी होस् वा मनसुन होस् वा जाडो याम होस् समस्या सँधै एक समान नै देखिन्छ।

प्रकाशित: ३ माघ २०८० ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App