राजधानी नजिकका जिल्लामा स्क्रवटाइफसको संक्रमण बढेपछि उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मंगलवारसम्म ६ जना स्क्रवटाइफसका बिरामी भर्ना भई उपचारमा छन् । ती मध्येमा एक जना आइसियुमा उपचारार्थ छन् । यो अस्पतालमा उपचारमा आउनेहरू प्राय धादिङ, नुवाकोट,भक्तपुर काठमाडौँका जिल्लाका बढी छन् ।
‘रेफर भएर उपचारमा आएका बिरामी पनि छन्’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले भने । पछिल्लो समय दैनिक एक/दुई जनाको दरले स्क्रवटाइफसका बिरामी उपचारमा आइरहेको टिचिङ अस्पताल आकस्मिक कक्षका इन्चार्ज डा. रमेश महर्जनले जानकारी दिए ।
उपत्यका बाहिर स्क्रवटाइपस धेरैको संख्यामा संक्रमित भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेर बहादुर पुनले बताए । राष्ट्रिय इपिडिमोलोजी महाशाखाका अनुसार एक साताभित्र स्क्रवाटइफसबाट संक्रमित हुनेको संख्या३घ जना छन् । गत वर्ष नेपालमा ८ हजार २ सय ४९ जना स्क्रवटाइफसबाट संक्रमित थिए ।
चिकित्सकका अनुसार ‘फिगर माइटस’ (किर्ना)ले मानिसलाई टोकेमा यो रोगको संक्रमण हुन्छ । यो परजीविले मानिसलाई टोक्ने क्रममा ‘ओरिन्सियो सुसोगोमुसी’ नामक कीटाणु शरीरमा प्रवेश गर्छ । यो कीटाणु रगतको माध्यमबाट शरीरको विभिन्न अङ्गमा पुगी संक्रमण गरी क्षति पु¥याउँछ । यो क्रममा मुटु, मस्तिष्क, कलेजो, मिर्गौला जस्ता भागमा पुगेर संक्रमण गरी फेल समेत गराउन सक्छ ।
यो रोगको संक्रमण भएको थाहा पाउने बित्तिकै अस्पतालमा पुगेर समयमै उपचार गरेमा पूर्ण निको हुन्छ । ढिला गरेमा बिरामीको मृत्यु हुन सक्छ । विशेष गरी घाँस–दाउराको काम गर्दा, खेतबारीमा या झाडीमा गएर नाङ्गो गोडा बसेमा या नाङ्गो भागमा यो किर्ना बस्छ र टोक्छ । नेपालमा प्राय खेतबारीमा काम गर्ने किसानमा यो रोगको बढी संक्रमण हुने गरेको डा. पुन बताउँछन् । तर पछिल्लो समय जङ्गलमा हाइकिङ गर्न जाने चलन बढेकोले भविष्यमा यो समुहमा पनि स्क्रवटाइफसको संक्रमण हुने जोखिम बढेको छ । ‘भविष्यमा हाइकिङ गर्न जानेलाई स्क्रवटाइफसको संक्रमण नहोला भन्न सन्किँदैन’ उनले भने ।
चिकित्सकको अनुसार स्क्रवटाइफस सङ्क्रमणमा पनि अन्य रोगमा जस्तै ज्वरो आउँछ । तर ज्वरो आउने बित्तिकै अस्पताल जानु पर्छ । तर बिरामी झुक्किएर ढिला पुग्दा यो रोगले जटिलता बढाउँछ । ज्वरो सहित शरीरमा किर्नाले टोकेको भागमा कालो तथा सानो गोलो टाटा सहितको भाग देखिएमा स्क्रवटाइफस भएको यकिन हुन्छ । यी दुई लक्षण देखिने बित्तिकै अस्पताल गइहाल्नु पर्छ । सुरुमा ज्वरो बाहेक खास अन्य लक्षण नदेखिने हुनाले बिरामी झुक्किएर ढिला उपचारमा पुग्दा स्क्रवाटइफसले जटिल समस्या हुन्छ नै कतिपय अवस्थामा मृत्यु समेत हुने भएकोले छिटो उपचारमा पुगेमा जोखिमबाट बच्न सकिन्छ । शरीरमा प्रतिरक्षा क्षमता कमजोर भएका यो रोगको बढी जोखिममा हुन्छन् ।
नेपालमा सन् २००४ देखि नै स्क्रवाटइफस देखिएको भएपनि सन् २०१५ देखि नेपालमा यसको पहिचान भएको हो । केही वर्षदेखि हरेक वर्ष जस्तो यो रोगको पहिचान हुन थालेको छ । सरकारले ज्वरो आएका बिरामीलाई डेंगीमा जस्तै स्क्रवटाइफस पनि परीक्षण गर्ने भएकोले बढी पहिचान हुन थालेको टेकु अस्पतालका निर्देशक डा. बसौला बताउँछन्।
खेती तथा घाँस दाउराको काम गर्ने मानिस बढी जोखिममा हुने भएकोले झाडी या जङ्गलमा काम गर्न जाँदा पानी बुट लगाएर जाने, पुरा बाहुला, भुईँमा नबस्ने गरेमा संक्रमणबाट बच्न सकिन्छ । यसको साथै नेपालमा पछिल्लो समय घरभित्र मुसा घुम्दा पनि किर्ना लिएर आउने भएकोले कच्ची घरमा भुईँमा नसुत्ने, घरको सफाइमा ध्यान दिने, मुसाको प्वाल टाल्ने जस्ता सावधानी अपनाउनु पर्ने चिकित्सक सुझाउँछन् ।
प्रकाशित: ३ भाद्र २०८२ १७:३० मंगलबार





