२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

इलाममा प्रतिलाख छ सय टाइफाइड संक्रमित

जिल्लाका ६४ हजार ४ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। यही चैत २६ देखि ३० सम्म जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउन लागिएको हो।

प्रन्ध महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अनिवार्य लगाउन अभियान नै सञ्चालन गरिएको हो। अभियानपछि यो खोपलाई बालबालिकाको नियमित खोपमै राखिने भएको छ। यो अभियानमा ९५ प्रतिशतभन्दा बढी  बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ।

यो खोप छुटेमा अर्काे आउने निश्चित नभएकाले यो पटक लक्षित समूहका सबैले खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालयको भनाइ छ। इलाममा खोप लगाउनेमध्ये ५ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या १८ हजार ५ सय ४२ छ। १५ वर्षमुनिका ४५ हजार ८ सय ५८ बालबालिका भने विद्यालय जाने उमेरका छन्।

प्रति एक लाख जनसंख्यामा १ सय जनामा टाइफाइड भए त्यसलाई उच्च असर मानिन्छ। इलाममा प्रतिलाख जनसंख्यामा छ सयसम्म बिरामी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। बालबालिकामा टाइफाइडको दर अझ बढी छ।

अरू उमेर समूहको तुलनामा बालबालिकामा टाइफाइडको जोखिम ११ प्रतिशतले बढी हुने कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले जानकारी दिए। ‘इलाममा टाइफाइडको दर अति उच्च देखिएको छ,’ उनले भने, ‘इलाममा यो खोप लक्षित समूहको कसैले छुटाउन हुँदैन।’

उनले टाइफाइडले मानिसलाई महिनादिनसम्म पनि ओछ्यान पर्न बाध्य पारिरहेको जनाए। अभियानका लागि जिल्लामा ५ सय ७९ खोपकेन्द्र निर्धारण गरिएको छ। १ हजार १ सय ५८ स्वास्थ्यकर्मी यसका लागि परिचालन गरिँदैछ।

चिकित्सकका अनुसार कोभिडविरुद्धको खोप लगाएको १४ दिनपछिमात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्छ। र, यो खोप लगाएको १४ दिनपछिमात्र कोभिडको खोप (आवश्यक भए) लगाउन मिल्छ।

‘परीक्षणहरूबाट यो खोपले ९५ प्रतिशत काम गर्ने पुष्टि भएको छ,’ स्वास्थ्य प्रमुख आदित्य शाक्यले भने, ‘यो खोपमा कुनै शङ्का गर्नु आवश्यक छैन। खोप लगाएपछि सामान्य ज्वरो आउनसक्छ र नआउन पनि सक्छ, त्यसमा आत्तिनुपर्दैन।’

उनले यो खोप पूर्ण सुरक्षित र प्रभावकारी भएको पनि जनाए। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले टाइफाइडविरुद्धको खोपको तयारी सन् १०१२ देखि नै गरेको हो। सन् २०१७ मा डब्ल्युएचओबाट अनुमति पाएको यो खोप विश्वका अन्य देशमा समेत प्रयोग भइसकेको छ।

ललितपुरमा २ वर्षअघि नै यो खोप प्रयोगमा आइसकेको उनले जनाए। राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगस्ट सन् २०२० मा टाइफाइडविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो।

पछिल्लो समय एन्टिबायोटिकले समेत मानवीय शरीरमा रोगविरुद्ध काम गर्ने क्षमता कम भइरहेको शाक्यले बताए। ‘रोग लागिहालेमा प्रयोग गरिने एन्टिबायोटिकको प्रभावसमेत कम हुन थालेको छ,’ उनले भने, ‘त्यसैले रोग लाग्नै नदिन सतर्क हुनुपर्छ, सुरुमै खोप लगाउनुपर्छ।’

सरकाले झाडापखाला, टाइफाइड, रोटा भाइरस र हैजाजस्ता रोगविरुद्ध दिइने खोपलाई नियमित खोप सेवामा समावेश गर्ने योजना बनाउँदै छ। खोप प्रदान गर्नुका साथै सरसफाइ प्रवर्धन कार्यक्रमलाई पनि एकीकृत रूपमा सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालमा ५ वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब साढे ४ जना टाइफाइड संक्रमित हुने गरेका छन्। तीन वर्षको तथ्याङ्कअनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगमध्ये टाइफाइड तेस्रो स्थानमा छ। अस्पताल भर्ना भइरहेका बिरामीमध्ये चौथो कारण टाइफाइड नै देखिएको कार्यालयले जनाएको छ। अभियानमा देशका करिव ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ।

प्रकाशित: २३ चैत्र २०७८ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App