८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘अक्सिजन थेरापीले बचाउन सक्छ’

काेराेना कहर

मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहँु बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष (आइसियु) मा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ। यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको छ। अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले अक्सिजन सुविधासहित समुदाय स्तरमा तत्काल आइसोलन सेन्टर अथवा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिने बताए। ‘कोरोना भाइरसका कुल संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने तर्क गर्दै उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियुको चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ।’  

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनमा राति भाइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी  गर्नुपर्ने उल्लेख छ।

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड–१९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ। कोरोनाविरुद्ध प्रभावकारी एन्टिभाइरल थेरापी अथवा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ। रोगको सुरुका चरणमा राति उपलब्ध गराइने अक्सिजन थेरापी धेरै उपयोगी हुने सो शोधपत्रमा उल्लेख छ। चीनका अस्पतालमा अक्सिजन थेरापीको व्यापक प्रयोग भएको थियो।  

उक्त शोधपत्रमा राति भाइरसको आक्रमण बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन घरमै आइसोलेसनमा बसेका फोक्सोका बिरामीलले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ। श्वासप्रश्वासको समस्या भएकालाई यसअघि पनि अक्सिजन थेरापीको प्रयोग हँुदै आएको छ। ‘अवस्था जटिल बन्दैछ, दिनहँु कैयौं मानिसले घरबाट कुन अस्पतालमा उपचार गर्न जाने होला भनेर सोधिरहेका छन्। उनीहरूले अस्पताल भेट्टाएका छैनन,’ डा. पुन भन्छन्, ‘सरोकारवाला सबै मिलेर तत्काल समुदायस्तरमा अक्सिजनको सुविधासहितको अस्थायी संरचना बनाउन सके पनि समस्या धेरै सुुल्झन्छ, मृत्युको सम्भावना न्यून हुन्छ।’  

पाटन अस्पताल कोभिड–१९ का संयोजक डा. विमल पाण्डेले शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा तल गए बाहिरबाट अक्सिजन दिनुपर्ने बताए। ‘सुरुमै अक्सिजन दिइयो भने अवस्था जटिल हुँदैन,’ उनले भने। सोमबार घरमै अक्सिजनको लेभल ६० प्रतिशतमा झरिसकेका एक बिरामी पाटन अस्पतालमा ल्याइएको र अन्तिम अवस्थामा ल्याइएका कारण तिनको मृत्यु भएको उनले जानकारी दिए। ‘अस्थायी आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा पनि अक्सिजन थेरापीको सुविधा उपलब्ध गराउन सके मृत्युको जोखिम कम हुन्थ्यो,’ उनले भने। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम काठमाडांैका आइसोलेसन केन्द्रमा अक्सिजनको उपलब्धता पर्याप्त नभएको स्विकार्छन्। उनले कोरोना बिरामीको उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा थप २५ सय शड्ढया ‘हाइ डेपेन्डेन्सी युनिट’ स्थापना गर्न लागिएको बताए। ‘यी शड्ढयामा जनरल वार्डभन्दा बढी र आइसियुभन्दा कम सुविधा हुनेछ। अक्सिजनको सुविधा हुनेछ,’ उनले भने। यसैबीच सरकारले उपत्यकाका सबै सरकारी अस्पतललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

प्रकाशित: २७ आश्विन २०७७ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App