यस वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने अनुमानसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुनमा बढी पानी पर्ने बताएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने जनाएको छ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ। त्यसले सङ्क्रमणको जोखिम बढाउने छ।’
धेरै पानी पर्दा जम्ने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे। टायर, गमला जस्ता पानी जम्ने ठाउँको व्यवस्थापनमा जोड दिँदै उनले भने, ‘सफा पानी जम्ने ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फुल पार्छन्। ती फुलबाट निस्कने लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी रोग लाग्छ।’
डा. दाहालका अनुसार पुस १७ देखि हालसम्म ७१ जिल्लामा १,०८१ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ। पाँच जनाभन्दा बढी सङ्क्रमित भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पत्राचार गरिएको छ।
सन् २०२४ मा ७६ जिल्लामा डेङ्गी फैलिएको थियो। त्यस वर्ष १५ जनाको मृत्यु भएको र ४१,८६५ जना सङ्क्रमित भएको तथ्याङ्क छ। रासस
प्रकाशित: ९ जेष्ठ २०८२ १६:०१ शुक्रबार





