२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रसुती गृहमा ‘कंगारु मदर केयर थेरापी’

कम तौलका नवजात शिशुको हेरचाहमा प्रभावकारी

कुनै पनि शिशु अति कम तौलका जन्मिएका छन् भने विशेष केयर र उपचारविना बचाउनै मुस्किल हुन्छ। उनीहरूको शारीरिक तापक्रम कम, श्वास फेर्न गाह्रो, रोग संक्रमणको जोखिम र पर्याप्त हेरचाह नभएमा मृत्युसमेत हुन्छ। यस्ता शिशुको उपचार तथा हेरचाहका लागि अभ्यासमा रहेको एनाइसियु (नवजात शिशु आइसियु) प्रसुती गृहमा कंगारु मदर केयर (कँगारु पोजिसन) थेरापी प्रभावकारी बनेको प्रसुती गृहले जनाएको छ। पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम प्रभावकारी बनेको प्रसुती गृह नवजात शिशु विभागका विशेषज्ञ डा. शैलेन्द्र कर्माचार्यले बताए।

चिकित्सकका अनुसार कंगारु मोदर केयर विधि अन्तर्राष्ट्रिय रूपमा पहिल्यै स्थापित थेरापी हो। यो वार्डमा १८ सयभन्दा कम तौलमा जन्मिएका शिशुका लागि भर्ना गरिन्छ। प्रसुती गृहले केएमसी मोदर केयर वार्ड खोलेर थेरापी गर्दै आएको छ। ६ शय्याको यो वार्डमा एसी तथा आधुनिक उपकरणको व्यवस्था छ। यो वार्डको व्यवस्था भएयता नवजात शिशुको स्वास्थ्य सुधारमा छिटो प्रगति भएको डा. कर्माचार्यले बताए।

यो वार्डमा ल्याउनुअघि शिशुलाई केही दिन एनआइसियुमा राखिन्छ। केही सुधार भएपछि कंगारु मदर केयर (केएमसी) वार्डमा सारिन्छ। यो वार्डमा कंगारुले झैं आमा र बुबालाई शिशुलाई छातीमा टाँसेर राख्न सिकाइन्छ। यसरी राख्दा आमाको तापक्रम शिशुलाई मिल्छ।

प्रसुती गृहका डा. कर्मचार्यका अनुसार नवजात शिशुलाई कंगारुले झैं बच्चा राख्ने विधिलाई कंगारु मोदर केयर भनिन्छ। यो पोजिसनमा राखेमा शिशुलाई श्वास फर्ने सजिलो भई एप्नियाँ हुँदैन। छातीमा टाँसिएको अवस्थामा आमाले श्वास फेर्दा शिशुलाई पनि श्वास फेर्न सहज हुन्छ र अन्य खालको संक्रमण पनि हुनबाट बचाउँछ।

छातीमा राख्दा शिशुलाई न्यानो हुने एनआइसियुको तुलनामा शिशुको तौल छिटो बढ्ने, आमा र शिशु दुवैलाई आनन्द आउने भएकाले दुवै स्वस्थ हुन्छन्। ‘शिशुमा मातृत्वले छिटो विकास हुन्छ, आमालाई प्रसुतीपछि हुने डिपे्रसन हुँदैैन। ‘स्तनपान गर्न छिटो सिक्छन् र शिशु छिटो हुर्कन्छन्’, उनले भने। अस्पतालमा कंगारु केयरपछि एनआइसियुमा शिशुको बसाइ घटेर छिटो स्वस्थ बनेको र एनआइसियु छिटो खाली भएपछि अरू शिशुले भर्ना हुने अवसर पाएको डा. कर्माचार्यले बताए।

यो थेरापीका कारण शिशुको स्तनपान र हेरचाहमा आमा छिटो पोख्त भई घर फर्कने गरेको डा. कर्मचार्यले सुनाए। ‘आमा र बच्चाको अस्पताल बसाइ नै घटेको छ’, उनले भने।

यो थेरापी व्यवस्थित हुुनुअघि कम तौल भएका नवजात शिशु अस्पतालको एनआइसियु वार्डमा महिनौं उपचार गर्नुपर्थ्याे। यो अस्पतालमा मासिक एक सयजना कम तौल भएका शिशु जन्मिन्छन् भने मासिक दुई हजारभन्दा बढी प्रसुती हुन्छ। जन्मिएका शिशुहरू सात सय ग्रामदेखि २५ सयभन्दा कम तौल भएका जन्मिन्छन्। १८ सयभन्दा कम तौल भएका शिशु बढी जोखिममा हुन्छन्। यस अवस्थामा उनीहरूलाई यो वार्डमा राखिन्छ।

चिकित्सकका अनुसार गर्भका बेला आमालाई पोषण नपुगे, रोगी भए, गर्भ अवस्थामा औषधी प्रयोग गरे, अति कम या बढी उमेरमा गर्भवती भए र आनुवंशिक समस्या भएमा कम तौल भएका शिशुको जन्म हुन्छ।

नेपालमा यो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र तहसम्म लागु गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ। यो कार्यक्रमको प्रभावका कारण नवजात शिशुको हेरचाहमा टेवा पुगेको परिवार कल्याण महाशाखा आमा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. गौरी प्रधान श्रेष्ठले बताइन्। ‘यो अभ्यासले कम तौल भएका शिशुको स्वास्थ्य सुधार छिटो भएको छ’, डा. श्रेष्ठले भनिन्।

यो कार्यक्रम देशभरका स्वास्थ्य संस्थामा लागु भएको छ। नेपालमा जन्मिएका कुल शिशुमध्ये १५ देखि २० प्रतिशत कम तौल भएका हुन्छन्। नेपालमा प्रति हजारमा ३० नवजात शिशुमध्ये एकजनाको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठनले नवजात शिशुको उपचार तथा हेरचाहका लागि कंगारु मदर केयर थेरापी मापदण्ड बनाएर जारी गरेपछि सदस्य राष्ट्रहरूले लागु गर्न थालेका हुन्।

प्रकाशित: २७ असार २०८१ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App