१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

९७ बर्षकाे उमेरमा स्तन क्यान्सरको सफल शल्यक्रिया

सामान्यतया ८० वर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन्। उनीहरुले यो उमेर समूहको बिरामीको शल्यक्रियालाई चरम जोखिम मान्दछन्। तर, चितवनमा ९७ वर्षीय वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।

भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटले म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर आएकी तमीसरा पुन मगरको सफल शल्यक्रिया गरेकाे हो।

शुक्रबार बिहान सर्जन डा. भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। शल्यक्रिया वृद्ध अवस्थाको यो उमेर समूहमा पहिलो पटक गरिएको डा. श्रेष्ठले बताए।

‘९७ वर्षको शल्यक्रिया गरिएको चितवनमा पहिलो पटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ,’ उनले भने। सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ। ८० वर्ष भन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिए पनि जोखिम उठाएर सफलतापूर्वक शल्यक्रिया गरिएको श्रेष्ठले बताए। श्रेष्ठ चितवनका वरिष्ठ क्यान्सर सर्जन समेत हुन्।

उनले २०५१ सालदेखि शल्यक्रिया गर्दै आएका छन्। यो अवधिमा यसअघि आफूले ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको बताए।

डा. श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो। उपचारमा संलग्न डा. सुरेश गौतम, डा. इन्द्रनारायण श्रेष्ठ, डा. रबिन्द्र केसी, डा. सागर भुसाल, डा. सुधिर रेग्मी, डा. मणिप्रसाद गौतम, डा. किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेल लगायत थिए। अहिले वृद्धाको अवस्था निकै सुधारोन्मुख रहेको श्रेष्ठले बताए।

‘जोखिम लिएर शल्यक्रिया गरेका थियौँ। बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहनुभएको थियो। हामीलाई उहाँहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो। त्यसमा हामी सफल भयौं’ उनले भने, ‘शल्यक्रिया गरेको पाँच मिनेटमै होस्‌मा आउनुभयो।’

अब क्यान्सरकै कारण कम्तीमा तीन चार वर्ष उनको ज्यान नजाने डा. श्रेष्ठले बताए। उच्च जोखिम मानिए पनि शल्यक्रिया पछि आइसियुमा समेत राख्न नपरेको उनको भनाइ छ।

तमीसरा स्तनमा गिर्खा देखिएपछि उपचारका लागि नारायणी सामुदायिक अस्पताल आएकी थिइन्। परीक्षणका क्रममा क्यान्सर भएको पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए।

‘हामीलाई उपचार गर्न निकै चुनौती थियो। परिवारले आमाको सय औँ जन्म जयन्ती बनाउनु छ, उपचार गरिदिनुहोस् भनेपछि हामीले शल्यक्रिया गरेका हौँ’, उनले भने।

‘उहाँको फोक्सो र मुटुमा समस्या रैछ। अप्रेसन गर्नुपुर्व उहाँको प्लेटलेस-सेतो रगत) ५२ हजारमात्र थियो। सेतो रगत चढाएपछि ६८ हजार पुग्यो। यसमा पनि अप्रेसन गर्न जोखिम हुन्थ्यो। फिजिसियन चिकित्सकको सल्लाहमा अप्रेसन गरेपछि सेतो रगत चढाउने भनेपछि अप्रेसन गरियो’, उनले भने ‘अहिले उहाँ हिँड्न समेत लाग्नुभएको छ।’

चार पाँच दिनमा तमीसरालाई डिस्चार्ज गरिने उनले बताए। वृद्धाको स्तनमा दुई दशमलव ५ सेन्टिमिटरको गिर्खा थियो। शल्यक्रिया पश्चात् उनी तत्कालका लागि क्यान्सर मुक्त भएको उनी बताउँछन्। क्यान्सरको सेल परीक्षणका लागि नमुना भारत पठाइएको भन्दै उनले त्यसको रिपोर्ट पश्चात् थप जानकारी प्राप्त हुने बताए।

‘अहिले सिटिस्क्यानको रिपोर्ट अनुसार उहाँ क्यान्सर मुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री (आइएचसी) परीक्षणका लागि नमुना भारत पठाएका छौं, उनले भने।

उनले ९७ वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाए। शल्यक्रिया खर्च ७५ हजार रुपैयाँ मात्र लागेको श्रेष्ठले बताए। रिपोर्ट आएपछि औषधि दिइने उनको भनाइ छ।

‘क्यान्सर रोग वंशाणुगत पनि हुन्छ। हर्मनका कारण पनि हुन्छ। प्राय वृद्ध वृद्धालाई हुने भनेको हर्मनका कारण क्यान्सर हुन्छ’, उनले भने ‘हर्मनका कारण भए ट्याब्लेट खानुपर्दछ।’ वृद्धा अवस्थामा क्यान्सर संक्रमण दर कम हुने उनले बताए।

अहिले युवा अवस्थामा समेत स्तन क्यान्सर देखिन थालेको श्रेष्ठ बताउँछन्। ‘गत वर्ष स्तन क्यान्सर भएका २५ वर्षभन्दा कम उमेरका चार जनाको महिलाको शल्यक्रिया गरेको छु, उनले भने ‘तीन जनाको त विवाह समेत भएको थिएन।’

प्रकाशित: ५ जेष्ठ २०८१ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App