चुरोटभन्दा हुक्का सयौं गुणा महँगो छ। तर लत बसेपछि कसको के लाग्छ? सेवनकर्ताहरू जतिसुकै पैसा तिरेर पनि हुक्का तानेरै छाड्छन्। पैसा नभए साथीसँग मिलेर पनि उनीहरूले हुक्का तानेकै हुन्छन्। यस्ता युवा जमात् सहरभरि भेटिन्छन्।
गत मंगलबार काठमाडौंको सुन्धारास्थित एउटा सेकुवा कर्नरमा एक युवक हुक्का तान्ने तयारीमा भेटिए। उनले कोइला र हुक्का राखेर आगो सल्काई तान्न थाले। करिब आधा घन्टा बिस्तारै ताने। त्यसपछि अर्का युवकलाई तान्न दिए। हुक्का तान्न दुवै जना पोख्त देखिन्थे।
अनौपचारिक कुरा गर्दा ती युवकले ६ वर्षदेखि हुक्का तान्न थालेको बताए। ‘सुरुमा सिक्दा अलि टाउको दुख्छ, पछि आनन्द आउँछ,’ उनले भने। सेकुवा कर्नरका सञ्चालकले एकपटक हुक्का तानेको ४०० रूपैयाँ लाग्ने बताए। पैसा भएका र लतमा परेकाहरू दैनिकजसो हुक्का तान्छन्।
पैसा कम हुनेहरूले कहिले चुरोट कहिले हुक्का तानेर आनन्द लिने गरेको सेकुवा कर्नरका सञ्चालकले बताए। ‘महँगो छ, सबैसँग पैसा हुँदैन, कहिले चुरोेट कहिले हुक्का लिन्छन्,’ उनले भने।
सुन्धाराकै अर्को रेस्टुरेन्टमा पस्दा सञ्चालक काउन्टरमा भेटिए। ‘हुक्का पाइन्छ?’ भनेर सोध्नेबित्तिकै उनले मूल्यसहित जवाफ दिए, ‘एक पटक तानेको ५०० रुपैयाँ लाग्छ, कुन फ्लेभर (स्वाद) मा लिनुहुन्छ?’ महँगो भएको बहाना बनाएर म पन्छिएँ। सेकुवा कर्नरको तुलनामा त्यो रेस्टुरेन्टमा हुक्काको मूल्य १०० रूपैयाँ महँगो थियो।
सुन्धाराकै अर्को खाजापसलले पनि हुक्का पाइने जवाफ दियो। रेस्टुरेन्टमा हुक्का मात्र राखेर फाइदा नहुने भएकाले लामो समय बसेर हुक्का तान्नेका लागि मदिरा पनि राखे फाइदा हुने उक्त खाजा पसलका सञ्चालकले बताए।
यसरी सुन्धाराको ३०० मिटरभित्र विभिन्न रेस्टुरेन्टमा हुक्का राखेको पाइएको छ। व्यवसायीहरूका अनुसार तीन वर्षयता हुक्का बिक्रीमा कमी हुन थालेको छ। हुक्का सबैतिर राख्न थालेर हो या आर्थिक मन्दीले तीन वर्षपहिलेजस्तो हुक्का बिक्री हुन छाडेको उनीहरूको भनाइ छ।
‘आर्थिक मन्दीले होला, आजभोलि खाजा पनि कम बिक्री हुन्छ, हुक्का पनि,’ सुन्धारास्थित सेकुवा कर्नरका सञ्चालकले भने। उनीहरूका अनुसार हुक्का प्रयोगकर्ता महिला र पुरुष दुवै छन्। ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार हुक्का युवा पुस्ताबीच लोकप्रिय छ। ‘
कलेज पढ्नेका बीचमा हुक्का लोकप्रिय बनेको पाइन्छ,’ उनले भने। रेस्टुरेन्ट या बारमा पस्दा साथीभाइका बीचमा सम्मानित अनुभव गर्न पनि युवाहरूले हुक्का तान्ने गरेको डा. पंगेनी बताउँछन्।
कतिपय विक्रेता भने बजारमा हुक्काको माग नघटेको बताउँछन्। बौद्धस्थित एक विक्रेताले हुक्काको माग झनै बढेको बताए। विक्रेता सविन लामा (नाम परिवर्तन) का अनुसार एक प्याकेट हुक्काको १८ सय पर्छ। एउटा हुक्कामा पाँच वटा प्याकेट हुन्छन्।
हुक्काको भाँडाको मूल्य भने गुणस्तर र डिजाइनअनुसार फरकफरक छन्। ती १३ सयदेखि १० हजार मूल्यसम्मका हुन्छन्। कुनै धातुले बनेका र डिजाइन भरेका हुक्का भाँडोको मूल्य अलि बढी पर्छ। त्यस्ता हुक्का बार र रेस्टुरेन्टमा बढी प्रयोग हुन्छन्।
पछिल्लो समय चीनमा उत्पादित प्लास्टिकले बनेका हुक्काका भाँडा सस्तो मूल्यमा पाइन्छन्। त्यसलाई घरमा लगेर पनि प्रयोग गर्न मिल्छ। हुक्काहरू भने दर्जनौं फ्लेभरका हुन्छन्। पहिला सीमित ठाउँमा बेचिए पनि पछिल्लो समय धेरैजसो रेस्टुरेन्ट तथा बारमा हुक्का राखिएकाले ग्राहक बाँडिएको जस्तो लागे पनि खपत नघटेको बिक्रेताहरू बताउँछन्।
पछिल्लो समय परम्परागतभन्दा चीनले विभिन्न स्वादमा बजारमा ल्याएको हुक्का पाइने भएकाले प्रयोगकर्ताले आर्थिक क्षमताअनुसार घरैमा बसेर पनि प्रयोग गर्न सक्ने गरी हुक्का उत्पादन भइरहेको महाबौद्धका एक बिक्रेताले बताए। पदिना, अंगुर, स्ट्रबेरी, भेनिला, सुन्तला, खरबुजा, कागती, आँपदेखि विभिन्न थरीका स्वादमा हुक्का बजारमा पाइन्छन्। तीमध्ये नेपाली बजारमा पदिनाको हुक्काको माग बढी रहेको ती बिक्रेताले बताए।
नेपाल विकास तथा अनुसन्धान परिषद्ले गत वर्ष अर्थात् सन् २०२३ मा गरेको ‘नेपालमा सुर्तीको प्रयोग तथा समीक्षा’ विषयक अध्ययनअनुसार नेपालमा हुक्का प्रयोगकर्ताको संख्या बढ्दो छ। सन् २०७८-७९ को तथ्यांकअनुसार नेपालमा १ लाख २३२ केजी हुक्का आयात भएको छ। त्यसभन्दा दुई वर्षअघि आर्थिक वर्ष २०७६-७७ मा ६ हजार २६० केजी मात्रा आयात भएको थियो।
आर्थिक वर्ष २०७९-८० मा ३७ हजार ५०९ केजी आयात भएको देखिन्छ। यो अवधिमा हुक्काको खपत घट्नुको पछि लकडाउन कारण हुन सक्ने उक्त अध्ययनले औंल्याएको छ। यो हिसाबले नेपालमा बर्सेनि हुक्काको खपत बढेको देखिन्छ। हुक्काको खपत गर्नेमा १५ देखि ३० वर्षभित्रका युवायुवती धेरै छन्।
पछिल्लो समय हुक्का उत्पादक कम्पनीहरूले किशोरकिशोरी तथा युवालाई लक्षित गरी हुक्काको विज्ञापन, बजारीकरण गर्ने र ती उत्पादनहरूमा हुक्काको असरबारे कुनै सूचना नराखेका कारण पनि युवाहरूमा हुक्का गैरधूमपानजन्य पदार्थ भन्ने भान भएको परिषद्ले औंल्याएको छ।
यसमा पनि जडीबुटी, ई-सिगरेटजस्ता नामबाट विभिन्न डिजाइनमा उत्पादन गर्नु र खुद्रापसलदेखि थोक विक्रेता र खाजापसलमा समेत उपलब्ध हुने कारण युवाहरूको पहुँचमा हुने गरेको परिषद्को पछिल्लो अनुसन्धानमा उल्लेख छ।
हुक्काले क्यान्सर : चिकित्सक
चिकित्सकका अनुसार हुक्का धूमपान नभएको भ्रमले युवा पुस्ताबीच लोकप्रिय बनेको छ तर यो चुरोटभन्दा यो कैयौं गुणा हानिकारक छ। हुक्कामा हुने निकोटिन र पर्याप्त धातुले मुटु तथा रक्तनलीजन्य रोग निम्त्याउँछ। एउटा हुक्कामा १०० देखि २०० वटा खिल्ली चुरोट बराबर असर हुन्छ।
हुक्काको प्रयोगका कारण तत्काल र दीर्घकालीन रूपमा श्वास-प्रश्वाससम्बन्धी रोेग लाग्ने जोखिम हुन्छ। सिभिल अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार पटकपटक हुक्का प्रयोग गरेकाहरूमा फोक्सोसम्बन्धी गम्भीर प्रकृतिको रोग लाग्ने गरेको छ। परम्परागत हुक्का तान्नेहरू कतिपयमा दमका साथै फोक्सोसम्बन्धी अन्य गम्भीर रोग लागेको र कतिपयमा फोक्सोको क्यान्सरसमेत भएको पाइएकोे छ।
ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा. राजु पेंगेनीका अनुसार हुक्काको प्रयोग साथीहरूसँग मिलेर गर्ने हुँदा तत्कालै विभिन्न संक्रामक रोग लाग्ने जोखिम हुन्छ। ‘जुठो पाइप प्रयोग गरेका कारण कतिपयलाई तुरुन्तै भाइरल संक्रमण हुन्छ। दम तथा एलर्जी भएका बिरामी एकपटकमै श्वास फेर्न कठिन भई उपचारका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउँछ,’ उनले भने। जथाभाबी जुठो हुक्का तान्दा क्षयरोगलगायत सर्ने गरेको डा. पंगेनीको भनाइ छ।
विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानअनुसार हुक्का धूमपानकै समूहमा पर्छ र यसले चुरोटले भन्दा दुईदेखि तीन गुणा बढी असर गर्छ। हुक्कामा फलफूलको स्वाद राखिए पनि ५० प्रतिशतभन्दा बढी सुर्तीजन्य पदार्थ हुनाले त्यसले चुरोटको जस्तै असर गर्छ। हुक्का तान्दा चुरोटभन्दा बढी समय लाग्नाले असर पनि तीन गुणा बढी हुन्छ। यसमा ८२ वटा क्यान्सरजन्य रसायन हुन्छन्।
कार्सिजेनिक, हाइड्रोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिन, फिनोलस र फिनोल डेरिभेटिभसजस्ता हानिकारक रसायन हुन्छ। जसले फोक्सोमा सिधा असर गर्नुका साथै पछि गएर शरीरका विभिन्न अंगको क्यान्सर हुन्छ।
दम बढ्ने, फोक्सोमा एलर्जी हुने, निमोनिया हुने, खोकी लाग्ने, श्वासनलीमा क्रोनिक ब्रोङक्राइटिस हुनेजस्ता जटिल रोग लाग्छन्। फोक्सोबाहेक प्यान्क्रियाजको क्यान्सर, मूत्रनलीको क्यान्सर, मुख तथा घाँटीको क्यान्सर, पेटको क्यान्सर हुन्छ। मुटुजन्य रोग पनि लाग्छ।
हुक्कालाई गैरधूमपानका रूपमा हेरिएकै कारण यसप्रति सरकारको ध्यान नपुगेको चिकित्सकहरू बताउँछन्। ‘हुक्का खुला हुनुको कारण नै यसले असर गर्दैन भन्ने भ्रम हो,’ सिभिल अस्पतालका छातिरोग विशेषज्ञ डा. विदेश विष्टले भने।
हानिकारक छैन भन्दै गरिने हुक्काका विज्ञानपले पनि युवाहरूमा यसप्रति आकर्षण बढाएको डा. विष्ट बताउँछन्। ‘हुक्का धूमपान नै भएकाले सकेसम्म प्रयोग नगरेको राम्रो,’ उनले भने। एकदुईपटक तानेर छाड्ने भन्दा लत नै बसिसकेकाहरू क्यान्सरको उच्च जोखिममा रहेको डा. विष्टको भनाइ छ।
नियन्त्रणमा कानुनी झमेला
जनस्वास्थ्यमा हुक्काको जोखिम बढ्दै गएकाले सरकारले हुक्काको प्रयोेग र बिक्रीको अनुगमन गर्नुपर्ने चिकित्सकको सुझाव छ। ‘हुक्का प्रयोगलाई कानुनी रूपमै नियन्त्रण गर्नुपर्छ,’ डा. पंगेनीले भने। बेलैमा नीतिनियम बनाएर यसको अनुगमन तथा नियन्त्रणमा सरकार जागरुक हुनुपर्नेमा डा. विष्टले पनि जोड दिए।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसीका अनुसार विभिन्न विदेशी कम्पनीहरूले ई-सिगरेट (भेप) र हुक्का नेपाली बजारमा विभिन्न स्वरूपमा ल्याएका छन्। त्यस्ता उत्पादनमा सुर्तीजन्य पदार्थ भनी उल्लेख गरिएको पाइन्न। त्यसकारण सिधै कारबाही गर्न मिल्ने स्थिति छैन।
‘न बट्टामा हानिकारक छ भनी लेखिएको छ न सुर्तीजन्य पदार्थ भनिएको छ,’ केसीले भने। उनका अनुसार उत्पादक कम्पनीहरूले उत्पादनमा फ्लेभरको मात्रा उल्लेख गर्ने तर सुर्तीको मात्रा नदेखाउने भएका कारण अनुगमन या नियन्त्रणमा कानुन अभाव भएको हो।
उत्पादनमा सुर्तीको मात्रासमेत उल्लेख गरिएको अवस्थामा अहिलेकै कानुनअनुसार कारबाहीको दायरामा ल्याउन सकिने उनले बताए। कुनै पनि हुक्का प्रयोग गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले धूमपानविरुद्धको ऐनमा टेकेर निर्देशिका बनाई या छुट्टै कानुन संशोधन गरी अनुगमन तथा कारबाही गर्नुपर्ने देखिएको प्रमुख केसीको भनाइ छ।
हुक्का तथा भेपमा सुर्तीजन्य पदार्थमा जस्तो स्वास्थ्यका लागि हानिकारक पदार्थ नरहेको भनी विज्ञापनसमेत गरिने भएकले बेलैमा प्रयोगकर्ता र विक्रेता दुवैलाई सचेत बनाउने जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता डा. केसीले औंल्याए।
प्रकाशित: ५ चैत्र २०८० ०७:३२ सोमबार