२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ। अमेरिकामा दर्ता भई शाखा रहेको सो फाउन्डेसनले क्यान्सर अस्तपाल अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरेको छ। अस्पताल आगामी पाँच वर्षभित्र सुरु हुने विनय तारा फाउन्डेसनका अध्यक्ष तथा अन्कोलोजिस्ट डा. विनय शाहले जानकारी दिए।  

मंगलबार शाहले सञ्चारकर्मीमाझ अस्पताल निर्माण प्रक्रिया र यसको औचित्यको बारेमा जानकारी दिँदै सो घोषणा गरेका हुन्। यसअघि फाउन्डेसनबाटै सञ्चालित विनय तारा क्यान्सर केयर सेन्टरलाई विस्तार गरी अन्तर्राष्ट्रिय तहको क्यान्सर अस्पताल निर्माण गर्न लागेको उनले बताए।

नेपालमा क्यान्सर उपचारका लागि सरकारी र निजी तहमा विभिन्न अस्पताल सञ्चालमा रहे पनि मधेस प्रदेशको क्षेत्रमा जनसंख्याको पहुँचमा क्यान्सर अस्पताल नरहेकोले सेवा प्रभावकारी सेवा दिने उद्देश्यले पनि जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल खोल्ने तयारी गरेको अध्यक्ष शाहले बताए।

पहिलो चरणमा अस्पताल निर्माणको लागि जग्गा खरिद किन्ने कार्य, अस्पताल निर्माणको लागि अनुमति लिने र बजेट संकलन गर्ने कार्यहरू पूरा भइसकेको उनले बताए। बाँकी प्रक्रिया पूरा गर्न डा. शाहसहित फाउन्डेसनकै अर्का सदस्य डा. डेभिड नेपाल आएका छन् भने नेपालस्थित विनय तारा फाउण्डेसनका सदस्य डा. वाइपी सिंह पनि जुटेका छन्।

‘हामी राजनीतिक व्यक्तित्व, सामाजिक नेतृत्व सबैसँग बसेर छलफल गरिरहेका छौं,’ डा. शाहले भने। सरोकारवारवालासँग छलफलको कार्य जारी रहेको र अहिलेसम्म दुई अर्ब ९१ करोड ३० लाख रूपैयाँ संकलन भइसकेको तथा जनकपुरमा चार बिघा जग्गा खरिद भइसकेको छ।

डा. शाहका अनुसार मधेस प्रदेशमा मात्र ६० लाख जनसंख्या रहेको, छिमेकी राष्ट्र भारतको बिहार प्रदेशमा १० करोड जनसंख्या रहेको र त्यो क्षेत्रमा पनि क्यान्सर उपचारको लागि राम्रो अस्पताल नभएकाले यो अस्पतालको औचित्य रहेको उनले बताए। ‘नेपाल र भारत दुवै देशका बिरामीले सेवा पाउनेछन्,’ उनले भने।

सामुदायिक सेवाको उद्देश्यले खोलिने यो अस्पताल नाफामुखी नभएर सेवामुखी भएकोले विपन्न नागरिकको पहुँचमा पुग्नेगरी सेवा शुल्कःको ढाँचा निर्माण गरिने, सुरुमै क्यान्सरको पहिचानमा बढी जोड दिने, क्यान्सरको जनचेतना दिने, उच्चस्तरीय प्रविधि मार्फत क्यान्सरको पहिचान र उपचार गरिने, चिकित्सक तथा नर्सहरूलाई अन्तर्राष्ट्रिय तहको तालिम दिइने र सोही अनुसार अन्य सेवा सुविधा दिइने किसिमले अस्पताल सञ्चालनमा आउने भएकोले फाउण्डेसनले अन्तराष्ट्रियस्तरको क्यान्सर अस्पताल बनाउने दावी गरेको जनाएको छ।

नेपालमा धेरै विपन्न नागरिक उपचारको पहुँच बाहिर रहेको अवस्थामा उनीहरूलाई निःशुल्क उपचार दिनेगरी शुल्क तय हुने डा. शाहले बताए। ‘ हामीले भारतको टाटा मेमोरियल ढाँचामा शुल्क निर्धारण गछौं,त्यसवाट विपन्न नागरिकले लाभ लिनेछन्’ उनले भने। यो ढाँचाअनुसार धेरै धनी, मध्यम धनी र विपन्न नागरिकको लागि अस्पतालले छुट्टै शुल्क निर्धारण गर्नेछ। जुन शुल्कवाट अस्पताल सञ्चालन हुनुका साथै विपन्न नागरिकका लागि उपचार खर्च संकलन हुने शाहले बताए।

अमेरिकामा अन्कोलोजिष्टको रूपमा सेवा दिँदै आएका डा. शाहले केही वर्षदेखि अवकाश लिइ विनय तारा फाउण्डेसनमार्फत क्यान्सरको क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन्।  यसअघि नेपालमा फाउण्डेसनले सन् २०१३ मा रगतको क्यान्सरसम्बन्धी सम्मेलन, फाउन्डेसनमार्फत सिभिल अस्पतालको क्यान्सर विभागलाई सहयोग प्रदान गरिसकेको छ।

उनीहरूले यसअघि जनकपुरमा विनय–तारा क्यान्सर केयर जनकपुरमा २५ शय्याको सञ्चालन गरिसकेका हुन्। जीवनको पछिल्लो खण्डमा नेपालमै क्यान्सर रोगमा गुणस्तरीय सेवा प्रदान गर्ने सोच पलाएपछि फाउण्डेसन खोेली सेवा दिन सुरु गरेको डा. शाहले बताए।

प्रकाशित: ३० फाल्गुन २०८० ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App