आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू निर्वाचन आयोगले नियुक्त गरेको छ । निर्वाचन आयोगले मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । प्रसाईलाई मोरङ क्षेत्रनं ६ को निर्वाचन अधिकृतकोसमेत जिम्मेवारी दिइएको छ ।
यस्तै मोरङ क्षेत्र नं १ को निर्वाचन अधिकृतमा महान्यायाधिवको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश घिमिरे, क्षेत्रनं २ मा सोलुखुम्बुका जिल्ला न्यायाधिबक्ता रुद्रप्रसाद आचार्य, क्षेत्र नं ३ मा सर्बोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्रनं ४ मा सर्बोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नं ५ मा सर्बोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुलीलाई नियुक्त गरेको छ ।
निर्वाचन आयोगको कार्य तालिका अनुसार नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । यस्तै मतदान स्थल, मतदान केन्द्र निर्धारण सम्पन्न गरी आबश्यक अन्य प्रबन्धहरूसमेत गरिरहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिए ।
प्रकाशित: २० पुस २०८२ २१:२३ आइतबार





