नेकपा एमाले बागलुङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर-१ बाट जिल्ला अध्यक्ष हिराबहादुर केसीसहित तीन जनाको नाम सिफारिस गरेको छ।
आइतबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले अध्यक्ष केसीसहित केन्द्रीय सदस्य मनाकुमारी केसी र पूर्व केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाको नाम सिफारिस गरेको हो।
शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं-१ को बैठकले सिफारिस गरी पठाएका नामहरूलाई आज जिल्ला कमिटीले अनुमोदन गर्दै गण्डकी प्रदेश कमिटीमा पठाएको अध्यक्ष केसीले जानकारी दिए।
हिराबहादुर केसी एमाले बागलुङको नेतृत्वमा दोस्रो कार्यकालका लागि सेवारत छन्। अनेरास्ववियु र युवा संघको राजनीति हुँदै पार्टीको मूलधारमा स्थापित भएका केसीले यसपटक प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरेका छन्।
गत निर्वाचनमा उनी प्रदेश सभातर्फ उम्मेदवार बनेका थिए तर तत्कालीन कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए।
प्रकाशित: २० पुस २०८२ २१:२१ आइतबार




-600x400.jpg)
