१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बिरामी नहुँदा उदयपुर अस्पतालमा डाइलासिस सुचारु भएन

सदरमुकामस्थित उदयपुर अस्पताल। तस्बिर : नागरिक

महिना दिनअघि उद्घाटन भए पनि बिरामी अभावमा जिल्ला अस्पतालको मिर्गौला डाइलासिस सेवा सुचारु हुन सकेको छैन। गत पुस ३ मा पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले उद्घाटन गरेको उदयपुर अस्पतालको ‘हेमो डाइलासिस’ यन्त्र उपकरण बिरामी नहुँदा सेवा सुचारु हुन नसकेको हो।

जनशक्ति र यन्त्र उपकरण सबै तयारी अवस्थामा राखिए पनि बिरामी नआएका कारण सुचारु गर्न नसकिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्रकुमार झाले बताए। मेसु झाका अनुसार हाललाई डाइलासिस सेवा निःशुल्क गर्ने निर्णय भएको छ। पहिला निःशुल्क गर्ने कि सशुल्क गर्ने, शुल्क लिँदा कति लिने भन्ने दुविधा मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले टुंग्याएको छ।

जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा नगर प्रमुृख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख पदेन सदस्य र सरकारबाट मनोनीत तीनजना कार्यकारी सदस्य रहने अस्पताल विकास समितिको बैठकले डाइलासिस सेवा तत्काल निःशुल्क गर्ने निर्णय गरेको छ।

अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले निःशुल्क उपचार गर्ने निर्णय गरिसकेकाले सेवा सुचारु गर्न सबै तयारी पूरा भएको बताए। तर सेवा लिने बिरामी नआएकाले उपचार सुचारु हुन नसकेको खनालको भनाइ छ।

समितिले हाल डाइलासिस गराउँदै आएका मिर्गौला बिरामीको मात्र उपचार गर्ने निर्णय भएको छ। ‘अहिलेलाई नयाँ बिरामी भर्ना गरेर उपचार गर्न केही प्राविधिक कठिनाइ रहेको छ’, समितिको निर्णय उद्धृत गर्दै खनालले भने, ‘त्यसैले पहिलेदेखि उपचार गराउँदै आएकालाई मात्र हाललाई डाइलासिस गर्ने निर्णय भएको छ।’

पुराना बिरामीलाई उपचार गर्न थाल्ने मात्र गर्न सके पनि जिल्लावासीलाई धेरै राहत मिल्ने अनुमान अस्पतालको छ। सेवा सुचारु गरेपछि विस्तारै सबैखाले मिर्गौला बिरामीले सेवा पाउने गरी प्रविधि र जनशक्ति स्तरोन्नति गर्दै जाने योजना अस्पतालले बनाएको छ।

मेसु डा. झाले डाइलासिस सुचारु गर्न आवश्यक यत्र उपकरण खरिद र व्यवस्थापनमा संघीय सरकार स्वास्थ्य मन्त्रालयले ८५ लाख र स्थानीय तहको सहयोग रहेको बताए। जिल्लाका आठ स्थानीय तहमध्ये त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले पनि सहयोग गरेका छन्।

डाइलासिस कक्षको कोठाको ट्रस बनाउन लागेको १० लाख त्रियुगा नगरपालिकाले बेहोरेको हो भने कटारी, चौदण्डीगढी र ताप्लीबाट ३-३ लाख तथा रौतामाईले दिएको दुई लाखले अन्य यन्त्र उपकरण खरिद गरिएको झाले बताए।

उदयपुर अस्पतालमा हाडजोर्नी, पत्थरी, दाँत र जटिलखाले गर्भवती शल्यक्रिया सेवामार्फत बच्चा निकाल्ने (सिएस) सेवा गर्दै आएको छ। अव मिर्गौला उपचार सेवा पनि सुचारु हुने भएपछि उदयपुरसहित छिमेकी जिल्लावासी जनता स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्।

प्रकाशित: ५ माघ २०८० ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App