८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुर्गममा मातृशिशु मृत्युदर शून्य

अग्ला पहाड र गहिरा खोंचमा छरिएका बस्ती। चारैतिर भीर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौं लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ।

आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घन्टा हिँडे पुगिन्छ। छोटो समयमै स्वास्थ्य क्षेत्रमा फट्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रूपमा स्थापित भएको छ।

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदरमा शून्य छ। गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन्।

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी व्यथा लाग्नुअगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृशिशृ मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए।

हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृशिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो।  

स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्। तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौं तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी सचेत पनि गराइरहेको छ।

‘स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन्। यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्’, स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने। उनका अनुसार गाउँपालिकाले वडा नं १ को बोङ्गादोभान, वडा नं ३ को तमान, वडा नं ५ र वडा नं ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालन गरिरहेको छ।  

छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथ नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताए। पहिले जनचेताको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनुपरेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको उनको भनाइ थियो।

महिलाले अस्पतालमा बच्चा जन्माउने गरेकाले घरमा सुत्केरी हुनेहरू शून्यमा झरेको उनले जानकारी दिए। ‘पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ। गाउँका महिला दिदीबहिनी पनि सचेत बन्दै गएका छन्। उहाँहरूमा बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ। गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्नुहुन्छ। स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौं’, छन्त्यालले भने। पहिले घरमै सुत्केरी हुनेको संख्या बढी भएकाले मातृशिशु मृत्युदर पनि बढी भएको उनको भनाइ थियो।

स्थानीय मनकुमारी रसाइलीले घरनजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको बताइन्। भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पु¥याउने गरेकामा अहिले त्यो स्थिति नरहेको उनको भनाइ थियो।

डोकोमा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताइन्। ‘पहिलेपहिले गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे। गाउँमा अस्पताल पनि थिएनन्। अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्’, उनले भनिन्, ‘पहिला कोहीलाई सुत्केरी व्यथा लागेमा डोकामा बोकेर दिनभरि हिँडालेर अस्पताल पु¥याउनुपथ्र्यो। यसरी अस्पताल लैजाँदा कतिपयले बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएका छैनन्।’

६ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन्। बर्थिङ सेन्टर ६ वटै वडाका नागरिकका लागि पायक पर्ने स्थानमा छन्। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आम नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन पालिकाले विभिन्न स्थानमा स्वास्थ्यचौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको बताए।

गाउँपालिकाले वडा नं ६ को नर्जाखानी, ४ को लाम्मेला र वडा नं २ को बोख्यानीमा सामुदायिक स्वास्थ्य एकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए।

‘हामी सुरुआती दिनदेखि नै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवनरक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौं। कोही पनि नागरिक सामान्य उपचारका लागि दिनभरि लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ’, अध्यक्ष बुढामगरले भने, ‘स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौं।’

स्वास्थ्य संस्था तथा परामर्श केन्द्र सञ्चालनमा आएसँगै यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो। –रासस

प्रकाशित: २० पुस २०८० ०७:४४ शुक्रबार

बर्थिङ सेन्टर तमानखोला गाउँपालिका स्वास्थ्य सेवा नमुना पालिका विकासोन्मुख गर्भ जाँच