७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

खैरहनी नगरपालिका वडा नम्बर– १ की २२ वर्षिया सुस्मिता (नाम परिर्वतन) टप टेनमा पर्ने जेहेन्दार विद्यार्थी थिइन्। उत्कृष्ट अङ्कमा १२ कक्षा पास गरेपछि उनी आइएलटिएस कोर्स गर्न थालिन्। आइएलटिएसमा राम्रो अङ्क ल्याएकी सुस्मिताले अमेरिकाको एक कलेजमा एप्लाई गरिन्। भिषा रद्द भयो। यत्ता उनलाई पढ्न इच्छुक बायो, आइटी, इन्जिनियरिङ जस्ता विषयको प्रवेश परीक्षा दिने समय अवधि सकिसकेको थियो। नर्सिङ पढ्न भारतको बैङ्गलोर पुगिन्। त्यसपछि उनको बानी व्यवहारमा परिवर्तन देखिन थाल्यो। एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।  

‘बाबा ममीसँग टाढा कहिल्यै भएको थिइन्। पढाई तिर ध्यान नजाने। एयर होस्टेजमा पनि भर्ना भएकी थिए। परीक्षा दिन सकिन्,’ विस्तारै ठिक हुँदै गरेकी सुस्मिताले भनिन्, ‘बाबा ममीले थाहा पाएपछि झुक्काएर रिह्याभ सेन्टरमा ल्याउनुभयो। अहिले ठिक हुँदै गएकी छु।’ ब्यूटिफुल माइण्डमा आएको एक महिनासम्म मानसिक समस्या भएका स्वीकार गर्न नसकेको बताईन्। उनी यहाँ आएको ३ महिना भयो। अझै तीन महिना चिकित्सकले बस्न सुझाव दिएका छन्।  

पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीलाई ३ वर्ष अघिसम्म रातीमा निद्रा पर्दैन्थ्यो। अधिकारीले मानसिक रोग विशेषज्ञसँग परामर्श लिए। ‘रातको एक घण्टा पनि निद्रा नलागि उजेलो हुन्थ्यो। दिनदिनै अनिदो हुन थालेपछि तनाब बढ्यो। कसैले बोल्दा बोल्दै पनि झन्झट हुन थाल्यो। दिनभरी सुत्यो निद्रा लाग्दैन। चक्कर लाग्न थाल्यो,’ उनले भने ‘चिकित्सकको सल्लाहमा ३५ दिन आरटिएमएस थेरापी गरेपछि निद्रा लाग्न थालेको छ।’  

यसरी विभिन्न कारणले मानसिक रोगीको संख्या नेपालमा बढ्दै गएको छ। कोरोना महामारीपछि मानसिक समस्या भएका बिरामी बढ्दै गएको मनोरोग रोग विशेषज्ञ डा.गिरीराज भन्तनाले बताए। ‘कोरोनापछि आर्थिक समस्या देखिएको छ । आर्थिक अभाव भएपछि मानिसहरु डिप्रेसनमा गइरहेका छन्,’ उनले भने ‘अहिले हामी जटिल अवस्थामा छौँ।’ उनका अनुसार ३३ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित छन्। त्यसमध्ये १५ प्रतिशत अर्थात् ४५ लाख नेपालीमा अहिले पनि मानसिक समस्या छ। त्यसमध्ये पनि २ प्रतिशत हाराहारी अर्थात् ६ लाख नेपाली क्रोनिक (गम्भीर) मानसिक रोगी भएको उनले बताए।  

उपचारपछि १० प्रतिशत बिरामीमा फेरी बल्झने गरेको छ। ‘सीप मुलक तालिम र रोजगारी भएन भने यो रोग बल्झिन सक्छ,’ उनले भने ‘उपचारपछि पनि यदि पुनस्र्थापना गर्न सकिएन भने रोग बल्झिएर पुरानै अवस्थामा फर्किने सम्भावना हुन्छ।’ फेरी बल्झन नदिन तनाव व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए। उनले सामाजिक कारण कारण पनि रोग बल्झने गरेको बताए। नेपालमा ६ लाख बिरामीलाई आवासीय उपचार र त्यसपछि सीपमूलक तालिम र पुनस्र्थापनाको आवश्यकता हुने हुने उनको भनाइ छ।  

मानोरोग विशेषज्ञ प्रा.डा.शैलेन्द्रराज अधिकारीले मानसिक रोगको उपचार महत्वपूर्ण हुने बताए। उनले राज्य, निजी क्षेत्र लगायत सबै मिलेर यसको उपचारमा लाग्न अनुरोध समेत गरे।  

९० प्रतिशत मानसिक रोगीले आफू बिरामी छु भन्ने स्वीकार नगर्ने बताए। ‘म बिरामी हुँ, नियमित औषधि खानुपर्छ भन्दैनन्। आफु मानसिक रोगी हो भन्ने बनाउन कम्तिमा एक महिना लाग्छ,’ उनले भने ‘पहिलो चरणको मानसिक रोगीलाई पनि ४५ दिनदेखि तीन महिनासम्मको उपचार गर्नुपर्छ।’ सुरुवाती चरणको मानसिक रोगीलाई औषधी आवश्यक नपर्ने उनले बताए। ३५ दिने आरटिएमएस थेरापी  मार्फत मानिसहरु निको हुने बताए।  

मानसिक रोगको उपचार पद्धती महङ्गो छ। जनशक्ति समेत नेपालमा निकै कम रहेको उनले बताए। उनका अनुसार नेपालमा २ सय ५० जना साईक्याट्रीक, मनोपरामर्श दाता ३० जनामात्र छन्। तर, विश्व स्वास्थ्य संगठनका अनुसार ६० लाख जनसंख्या बराबर ६ जना चिकित्सक सहितको जनशक्ति आवश्यक पर्छ। मानसिक रोगको उपचार महँगो पर्ने भन्दै उनले ब्युटिफुल माइण्ड फाउण्डेशन मार्फत् गरिब र न्यून आए भएकालाई सेवा दिंदै आएको बताए। 

लामो परामर्शपछि औषधि खाएमा ओसिटी, डिप्रेसन, इन्जाइटी निको हुने भन्दै उनले फलोअपमा नआएर रोग बल्झिने बताए। बिरामीको व्यवहार, लक्षणहरु र उसँग लामो कुराकानी गरेपछि एनलाईसिस गरेर रोग पत्ता लगाउन सकिने डा. अधिकारीको भनाई थियो। “एमआरआई, सिटीस्क्यान गरेर रोग पत्ता लाग्दैन। डाग्नोसिस वैज्ञानिक हुँदैन। लक्षण, व्यवहार र बिरामीसँग लामो कुराकानी गरेर रोग पत्ता लगाउने हो,’ उनले भने।

वातावरणीय प्रभाव, वंशाणुगत, शिक्षाको कमी, जनचेतनाको अभाव, नकारात्मक सोच, आर्थिक अभाव, मानसिक तनावका कारण रोग लाग्ने उनले बताए। अहिले मानसिक रोग जटिल अवस्थामा पुगेको उनको भनाइ छ। ‘क्यान्सर र सडक दुर्घटनापछि मृत्यु हुने दर आत्महत्याको छ,’ उनले भने ‘आत्महत्या ९५ प्रतिशत डिप्रेसनको भएका व्यक्तिले गर्दछन्।’ उदासिनता, नियमित काम गर्न मन नलाग्ने, निद्रा नलाग्ने, आत्महत्या गर्न मन लाग्ने जस्ता समस्या मनोरोगका लक्ष्ण हुन्।  

प्रकाशित: २३ आश्विन २०८० ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App