१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप

चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ।

गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।

‘गर्भपतनका लागि सङ्घीय मन्त्रालयले स्वास्थ्य विभाग, जिल्ला अस्पतालहरूले प्रदेश र स्वास्थ्य चौकीहरूले स्थानीय तहबाट सम्बन्धन लिनुपर्छ,’ स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चापागाईँले भनिन्, ‘मनकामना अस्पतालले गर्भपतनका लागि अनुमति नै पाएको छैन।’ 

चितवनमा २३ वटा स्वास्थ्य संस्थाले गर्भपनका लागि अनुमति पाएका छन्। जिल्लामा १४ वटा सरकारी र ९ वटा निजी स्वास्थ्य संस्थाले गर्भपतनका लागि अनुमति लिएको उनले बत्ताइन्।

सम्बन्धन प्राप्त गर्नेमा सरकारी तर्फ भरतपुर अस्पताल, माडीको बगौडा अस्पताल, रत्ननगरको बगौडा अस्पताल, खैरहनीको खैरहनी अस्पताल, कालिकाको जुटपानी अस्पताल, शक्तिखोर हेल्थ पोष्ट, भण्डारा अस्पताल, पिप्ले हेल्थपोष्ट, वीरेन्द्रनगर हेल्थ पोष्ट, काउले हेल्थ पोष्ट, मेघौली हेल्थ पोष्ट, शिवनगर प्राथमिक केन्द्र, जगतपुर हेल्थ पोष्ट, र शारदानगर हेल्थपोष्ट रहेका छन्।

त्यसैगरी निजी तर्फ चितवन मेडिकल कलेज, चौधरी क्लिनिक खैरहनी, नेपाल परिवार नियोजन संघ, नेशनल सिटी अस्पताल, नारायणी सामुदायिक अस्पताल, आदर्श नारी क्लिनिक, मेरो स्वास्थ्य क्लिनिक, सुनौलो भविष्य नेपाल र मेरी स्कोपले गर्भपतनका लागि अनुमति लिएका छन्। उनीहरुले मेडिकल र सर्जिकल प्रक्रियाबाट १२ हप्तासम्मको गर्भपतन गराउने गरी अनुमति पाएको चापागाईँले जानकारी दिइन्। तर, १२ हप्ताभन्दा माथिको गर्भपतन गराउने अधिकार भरतपुर अस्पताललाई मात्र छ।

नेपालमा गर्भपतनले सन् २००२मा कानुनी मान्यता प्राप्त गरेको थियो। जस अनुसार महिलाको मञ्जुरीमा १२ हप्ताको गर्भ, जर्वजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा आउने भएमा, शारीरिक तथा मानसिक रूपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको राय तथा सुझावले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था छ।

मानसिक सन्तुलन ठिक नभएका १६ वर्ष मुनिका महिलाले अभिभावकको सल्लाहमा गर्भपतन गराउन पाउँछन्। तर, मनकामना अस्पतालले गर्भपतनको सम्बन्धन नलिई १८ हप्ता माथिको गर्भपतन गराएको छ। त्यो पनि लिङ्ग पहिचान भएको आधारमा। अनुमति नलिएका संस्थाले गर्भपतन गराउन नपाउने उनले बत्ताइन्।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउन नपाइने उल्लेख गर्दै भिडियो एक्स-रे गर्दा पनि चिकित्सकले छोरा छोरी के छ भनेर भन्न नपाइने व्यवस्था रहेको चापागाईँले बत्ताइन्। अस्पतालमा गए राती भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गए राति १२ बजेतिर मृत्यु भएको हो। अत्यधिक रक्तश्राप भएको भन्दै चिकित्सकले उनको गर्भपतन गराएका थिए।

उपचारका क्रममा गर्भवतीको मृत्यु भएको घटनामा अस्पतालले गल्ती स्वीकार गरेको छ। शनिवार आफ्न्त र अस्पताल प्रशासनविच भएको वार्तामा अस्पतालले गल्ती स्वीकार गरेको हो। उपचारका क्रममा चिकित्सकले साल निकाल्ने क्रममा लापरबाही गरेपछि मृत्यु भएको अस्पतालले स्वीकार गरेको मृतकका देवर सन्तोष चौधरीले बताए।

सहमति अनुसार अस्पतालले गल्ती स्वीकार गर्दै पीडित पक्षलाई २७ लाख ५० हजार रुपैयाँ दिएको छ। वार्ताकै क्रममा पीडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको उनले बताए। सुरुमा आफन्तले ४० लाख डिमाण्ड गरेका थिए।  अस्पतालले १० लाख मात्रै दिने भनेको थियो। पछि २७ लाख ५० हजारमा सहमति जुटेको हो।

चार महिने गर्भवतीको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै मृतकका आफन्तहरूले दिनभर अस्पताल घेराउ गरेका थिए। दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरू बिचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए।

चार महिनाको गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हो। घटनाको विषयमा अस्पतालले आधिकारिक रुपमा जानकारी गराएको छैन। अस्पतालका कार्यकारी निर्देशक दिलीप घिमिरेलाई घटनाबारे जानकारी लिन खोज्दा जवाफ दिन मानेन। 

प्रकाशित: २० श्रावण २०८० १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App