शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारकोे बैठकमा मन्त्री पोखरेलले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सोमबार प्रकाशित नतिजाअनुसार दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन्। एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिनेछन् ।
मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताए।
बैठकमा सांसदहरुले सुकुमवासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनकाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीको लागि ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिए।
सांसदहरुले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सीपमूलक शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: २९ वैशाख २०८३ १६:३७ मंगलबार





