२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

स्नातकोत्तरमा कम क्रेडिट आवरलाई समकक्षता दिने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि समकक्षता र मान्यता दिने प्रक्रिया अघि बढाएको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम विकास केन्द्र, समकक्षता र मान्यतासम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको जनाए। निर्देशिकामा हालको व्यवस्थाले विदेशी विश्वविद्यालयबाट स्नातकोत्तर तह पास गरेका विद्यार्थीले कम क्रेडिट आवरकै कारण समकक्षता पाएका छैनन्।

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र नेपाली विश्वविद्यालयहरूको क्रेडिट आवरसँग मेल खाँदैन। जसका कारण उनीहरूलाई नेपालमै समेत आफ्नो शैक्षिक तहलाई अगाडि बढाउन समस्या भएको छ।

नेपालमा विश्वविद्यालयहरूले स्नातकोत्तर तह दुई वर्षको कायम गरेका छन्। त्रिविको समकक्षता र मान्यतासम्बन्धी निर्देशिकाले गरेको व्यवस्थाअनुसार पनि स्नातकोत्तर तह दुई वर्षको हो भने क्रेडिट आवर ६० घन्टाको व्यवस्था गरेको छ। ‘त्रिविको पाठ्यक्रम समकक्षता र मान्यतासम्बन्धी निर्देशिकाले ६० क्रेडिट आवर पूरा गरेकालाई मात्र स्नातकोत्तर तह मानेको छ,’ कार्यकारी निर्देशक यादवले नागरिकसँग भने, ‘तर विश्वका थुप्रै देशका विश्वविद्यालयहरूले एक वर्षको स्नातकोत्तर तह कायम गरेका छन्। क्रेडिट आवर पनि २९ देनि ४० घन्टाको मात्र नै व्यवस्था गरेको पाइयो।’

उनले थपे, ‘नेपाली विद्यार्थीहरू धेरैजसो स्नातकोत्तर तह पूरा गर्न बिदेसिएका छन्। अध्ययनपछि शैक्षिक योग्यताको प्रमाणपत्रको समकक्षता पाएका छैनन्। जसका कारण उनीहरूको थप अध्ययन रोकिएको छ। विद्यार्थीको विद्यावारिधिको अध्ययन अघि बढाउन केन्द्रले निर्देशिका परिमार्जन गरि उपकुलपति कर्यालयमा पठाइसकेको छ।’ स्नातकको समकक्षताको समस्या हल भए पनि हाल नेपाली विश्वविद्यालयहरूमा स्नातकोत्तर र विद्यावारिधि तहमा ठूलो समस्या रहेको छ। ‘परिमार्जिति निर्देशिका त्रिवि कार्यकारी परिषद्बाट पास भएपछि अब कम क्रेडिट आवरमा अध्ययन गरेका विद्यार्थीहरू पनि नेपालमा विद्यावारिधि, एमफिल गर्ने बाटो खुल्छ,’ उनले भने, ‘नेपालमै अनुसन्धानका कार्यहरू अघि  बढाउन सक्छन्।’

बौद्धिक चोरी पत्ता लगाउने सफ्टवेयर कार्यान्वयन

त्रिवि पाठ्यक्रम विकास केन्द्रले बौद्धिक चोरी न्यून गर्न टर्निर्टोन सफ्ट वेयर कार्यान्वयनमा ल्याएको छ। कार्यकारी निर्देशक यादवका अनुसार अब विश्वविद्यालयमा अध्ययन अनुसन्धानका सवालमा सही र उचित तरिकाले अध्ययन–अनुसन्धान गर्न यस्ता सफ्टवेयर प्रयोगमा ल्याइएकोे हो। बौद्धिक चोरी पत्ता लगाउने सफ्टवेयर त्रिविका सबै विभागमा उपलब्ध छ।

साथै पाठ्यक्रम विकास केन्द्र र त्रिवि पुस्तकालयमा समेत यो सफ्टवेयर सिस्टममा जडान गरिएको छ,’ कार्यकायरी निर्देशक यादवले नागरिकसँग भने, ‘विद्यार्थी अध्ययन गरी बुझाएको अनुसन्धानलाई उक्त सफ्टवेयरमा राखेर जाँचिन्छ। २० प्रतिशत भन्दा बढी नक्कल गरेको पाइए उसको अनुसन्धानले मान्यता पाउँदैन।’

उनी थप्छन्, ‘हाल विश्वविद्यालयमा अरूको प्रकाशित अनुसन्धानहरू हुबहु सारेर विद्यार्थीले आफ्नो नाउँमा बुझाउने विकृति बढ्दै गएकाले बौद्धिक चोरी पत्ता लगाउने सफ्टवेयर जडान गरिएको हो।’ उनले थपे, ‘अब बौद्धिक चोरीको विकृति कम हुने त्रिविको विश्वास छ।’

प्रकाशित: २६ माघ २०७८ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App