१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

शौचालय निर्माणका क्रममा बचेको एक लाख विद्यालयलाई हस्तान्तरण

हाल उपभोक्ता समितिको नाममा ‘कमाउ धन्धा’ चलाइएका उदाहरण प्रशस्तै देखिन्छन्। उपभोक्ता समितिमा बस्ने र थोरै बजेटमा टालटुले काम गरेर लाभ लिने प्रवृत्ति बढ्दो छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा भने शौचालय निर्माणका क्रममा बचेको पैसा निर्माण समितिले विद्यालयलाई प्रदान गरेको छ। 

संघीय सरकारबाट शिक्षाको शिर्षकमा प्राप्त भएको सशर्त अनुदानमध्येबाट नगरपालिकाले वितरण गरेको ७ लाखमा स्थानीय पञ्चावती प्राविको दुई कोठे शौचालय निर्माण गरेर बाँकी रहेको एक लाख रकम सोही विद्यालयलाई प्रदान गरिएको हो। शौचालय निर्माणका लागि ७ लाख बजेट विनियोजन गरिएकामा ६ लाखमा निर्माणको काम सम्पन्न गरेर एक लाख रकम पञ्चावती प्रावि प्रदान गरिएको शौचालय निर्माण समितिका अध्यक्ष होमबहादुर राउतले बताए। ५ वटा शौचालय निर्माणका क्रममा नगरपालिकाले पञ्चावती प्राविलाई छनौट गरेको थियो। शौचालय निर्माणका क्रममा बाँकी रहेको बजेट शौचालय निर्माण समितिका अध्यक्ष राउतले विव्यास अध्यक्ष ठाकुरसिं आले र प्रअ पदमलाल चौधरीलाई हस्तान्तरण गरेका हुन्।  

निर्माण उपभोक्ता समितिले असार असार २४ गते विद्यालयको शौचालय निर्माणको काम सम्पन्न गरेको थियो। ७ लाखको भ्याट÷ट्याक्स काट्दा पनि शौचालयको काम पुरा गरेर निर्माण समितिले विद्यालयलाई एक लाख प्रदान गरेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए। मंगलटारकै पिपलडाँडा माविको उत्ति नै बजेटमा बनाइएको सोही प्रकृतिको शौचालय सन्तोषजनक नभएको अवस्थामा सोही वडाको पञ्चावती प्राविमा भने शौचालय निर्माण गरेर एक लाख बचाएर विद्यालयलाई हस्तान्तरण गरिएको हो।  

रकमको लोभमा उपभोक्ता समितिमा बस्नका लागि लडाँई गर्नेका लागि राउत नेतृत्वको निर्माण समितिले गतिलो झापड हानेको छ। उपभोक्ता समितिको नाममा हुने कमाउ धन्धालाई पनि निर्माण समितिले छताछुल्ल पारिदिएको छ। ‘काम गर्दा कति बजेट बचाउन सकिँदो रहेछ भन्ने अनुभव पनि भयो। काम गरौं तर बजेट खल्तीमा हाल्न हुन्न भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष राउतले भने, ‘उपभोक्ता समितिमार्फत राम्रो काम गर्नुपर्छ। अरु योजनामा पनि निगरानी राख्ने हो भने बजेटको सदुपयोग हुने रहेछ।’ 

प्रकाशित: ३० असार २०७८ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App