२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

बर्खामा गाडी होइन पानी बग्ने सडक

केही दिनअघि काठमाडौं तीनकुनेको गैरीगाउँस्थित सडकमा वर्षाका कारण जमेको पानी । यसरी पानी जम्दा उपत्यकाका धेरै सडकमा सवारीसाधन सञ्चालनमा समस्या हुने गर्छ। तस्बिर: रासस

गत शनिबार काठमाडौंमा भारी वर्षा भयो। वर्षा हुनेबित्तिकै बागमती, विष्णुमती, मनोहरालगायत नदीकिनार वरिपरिका सडक (करिडोर) जलमग्न भए। यसबाट बागमती नदीकिनारका अव्यवस्थित बसोबासी तथा सुकुम्बासी जोखिममा परे, केहीका घर डुबानमा परे।

विज्ञहरू वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमतीलगातय नदीको बहाव क्षेत्र (पानी बग्ने क्षेत्र) घटाइएको र घटाइएको क्षेत्रले पानीको बहाव थेग्न नसकी सडक तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको बताउँछन्। यसैगरी नदीमुनि थेग्रिँदै गएको बलौटे माटो, बालुवा र फोहोरले नदीको सतह बढाउँदै गएको र यसबाट वर्षा हुनेबित्तिकै पानी ओभर फ्लो भई सडकमा पुग्ने गरेको उनीहरूको भनाइ छ।

पछिल्लो समय काठमाडौंमा कंक्रिटको प्रयोग बढ्दै गएको छ। कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाडौंका सडक जलमग्न हुने गरेका छन्।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति तथा बागमती सुधार आयोजनाले २०६९ जेठ २५ गते बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र तोकेको थियो, जुन वैज्ञानिक अध्ययनबिनै तोकिएको थियो। नदीपरिपरि उपलब्ध भएको जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो, त्यस बेलासम्म नदीको दायाँबायाँ किनाराको जग्गा अतिक्रमण भइसकेको थियो, नदीसँग जति जग्गा बचेको थियो, त्यही जग्गाको आधारमा बहाव क्षेत्र तोकिएको थियो।

‘त्यतिबेला वैज्ञानिक रूपमा अध्ययन गरी बहाव क्षेत्र तोकेको भए नदीकिनार वरिपरिको सयौं रोपनी जग्गा मुआब्जा लिनुपथ्र्यो, जुन व्यावहारिक रूपमा सम्भव थिएन,’ अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका सूचना अधिकारी उद्धवप्रसाद नेपालले भने, ‘त्यसैले त्यतिबेला उपलब्ध जग्गाको आधारमा व्यावहारिकतालाई हेरेर बहाव क्षेत्र तोकिएको, जुन वैज्ञानिक थिएन।’

उनका अनुसार जल विज्ञान अध्ययनबमोजिम बागमती नदीको उदगम स्थल बागद्वारदेखि कटुवाल दहसम्म पुग्दा यसको बहाव क्षेत्र २० मिटरबाट सुरु भई ११९.६३ मिटरसम्म हुनुपथ्र्यो। त्यसपछि यसको बहाव क्षेत्र ठाउँ हेरेर कहीँ बढ्ने र कहीँ घट्ने गर्छ। समथर भूभाग भएको ठाउँमा बहाव क्षेत्र बढी चाहिन्छ भने भिरालो भूभाग भएको ठाउँमा बहाव क्षेत्र अलि कमभए पनि पुग्छ।

अध्ययनमा बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर चौडाइ हुनुपथ्र्यो तर अहिले २० मिटर मात्रै छ। यसैगरी गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटरमा ३० मिटर मात्रै छ।

यसैगरी मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपर्थ्याे तर अहिले ६० मिटर मात्र छ। यसैगरी धोबीखोलादेखि विष्णुमती दोभानसम्म सय मिटर हुनुपर्थ्याे तर ६० मिटर मात्र छ। यसैगरी नख्खु खोला दोभानदेखि कटुवाल दहसम्म ११९.६३ मिटर हुनुपर्थ्याे तर अहिले ८० मिटर मात्र छ।

बागमती विकास समितिले २०६५ मंसिर १ गते एउटा सूचना निकाल्यो, जसमा बागमतीलगायत उपत्यकाका नदीको न्यूनतम दूरी कायम गरी न्यूनतम दूरी छाडेर मात्र निर्माण कार्य गर्न सूचना जारी गर्‍यो। सूचनामा भनिएको थियो, ‘बागमती, विष्णुमती र मनेहारा खोलाको दायाँबायाँ २०/२० मिटर छाड्नुपर्ने, धोबीखोलाको हकमा धोबीखोलाका आयोजनाले प्लानिङ गरेको ठाउँमा प्लानिङअनुसार दूरी, प्लानिङ नभएको ठाउँमा ९/९ मिटर छाड्नुपर्ने, नख्खु खोलाको १२/१२ मिटर, बल्खु, कर्मनासा, कोडक, साङ्ले तथा महादेव खोलाको १०/१० मिटर, कारखुसी खोलाको ६/६ मिटर, टुकुचा, सामाखुशी तथा अन्य खोलाको ४/४ मिटर छाड्नुपर्ने नियम बनाइयो।

हनुमन्ते खोलाको हकमा हनुमन्ते बग्ने नगरउन्मुख ठाउँमा २०/२० मिटर छाड्नुपर्ने छ भनी सूचनामा भनियो। तर यो नियम कार्यान्वयन हुन सकेन। न त कार्यान्वयन भए/नभएको विषयमा अनुगमन नै भयो। अहिले प्रायः सबै नदीकिनारवरिपरिको जग्गा अतिक्रमणमा परेको छ। तथ्यांकअनुसार बागमती नदीकिनारमा करिब ३५ सय परिवार अव्यवस्थित रूपमा बसोबास गरिरहेका छन्।

प्रकाशित: २५ असार २०८१ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App