१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सरकारी स्कुलमा भर्नाका लागि भनसुन !

काठमाडौं महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूले अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएको उदाहरण आइतबार बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा देखियो।

महानगरभित्रका सरकारी विद्यालयमा शिक्षण सिकाइको स्तर वृद्धि र उपलब्धिमूलक नतिजाकै कारण पछिलो समय अभिभावकको आकर्षण बढ्दै गएको विद्यालयहरूको दाबी छ। आर्थिक अवस्थाका कारण निजीमा पढाउन नसकेर पनि कतिपय अभिभावकले सरकारी विद्यालय रोजेका हुन्छन्।

ज्ञानोदय विद्यालयमा सन्तान  उपस्थित अभिभावक भर्ना नपाइने हो कि भन्ने चिन्ताले कतिपय अभिभावकले नेता र सांसदलाई फोनबाटै भनसुन गरिदिन आग्रह गरिरहेको सुनिन्थ्यो। कतिपयले प्रिन्सिपललाई भेटेर जसरी पनि भर्ना गरिदिन अनुरोध गरिरहेका थिए।

यो स्कुलमा अभिभावकको मोह बढ्नुको मुख्य कारण स्कुलले दिएको उत्कृष्ट शिक्षण सिकाइ र उत्कृष्ट नतिजा हो। काठमाडौंमा प्रधानाध्यापक सक्षम भए सरकारी विद्यालय पनि अब्बल बन्ने उदाहरण ज्ञानोदयलगायत बनेका छन्।

दुई सन्तानलाई भर्ना गराउन ज्ञानोदय विद्यालय पुगेकी पविता श्रेष्ठ योगीले पठनपाठन व्यावहारिक र उपलब्धिमूलक भएकाले आफूले यही विद्यालय रोजेको बताइन्। उनी छोरालाई कक्षा ५ र छोरीलाई कक्षा ४ मा भर्ना गर्न त्यहाँ पुगेकी हुन्।

‘मैले एक महिनाअभि नै विद्यालयमा आएर कक्षाकोठा हेरें। बालकक्षाका शिक्षकहरूले नानीहरूलाई रमाइलो गरी सिकाउने र दिवा खाजा खुवाएको देखेर मनै खुसी भयो,’ उनले भनिन्, ‘माथिल्लो कक्षामा आइसिटी (सूचना र सञ्चार प्रविधि) मा आधारित कक्षाकोठाले मनै लोभायो। विद्यार्थीले ल्यापटपबाट पढ्दा रहेछन्। यहाँका शिक्षकले पनि आफ्ना सन्तानलाई यहीं पढाउनुहुँदो रहेछ।’ 

ज्ञानोदयमा नयाँ भर्नाका लागि आवेदन दिएका अभिभावकहरूको चाहना पनि योगीको जस्तै आफ्ना सन्तानलाई जसरी पनि भर्ना गराउने छ। एक हजार आठ सय ५० जनाले नयाँ भर्नाका लागि आवेदन दिएका छन्। स्कुलले भने शिक्षक र ठाउँ अभावका कारण यसपटक पाँच सय मात्र नयाँ भर्ना लिने निर्णय गरेको जनाएको छ।

अभिभावक विनिता योगी पनि आफ्नी छोरीलाई कक्षा चारमा भर्ना गर्न पुगेकी थिइन्। उनलाई स्कुलको सुरक्षित र शैक्षिक वातावरणले लोभ्याएको रहेछ। ‘यसैकारण छोरीलाई यहाँ पढाउन चाहेकी हुँ,’ उनले भनिन्, ‘मेरो घरधनीका छोरा पनि यही पढ्नुहुन्छ। स्कुलको अनुशासन र पठनपाठन निकै राम्रो भएको बुझेरै नै मैले पनि छोरीलाई भर्ना गर्न ल्याएकी हुँ। अंग्रेजी माध्यमबाट पनि पढाइने स्कुलको वातावरण पनि मनमोहक छ।’ 

सरकारले वैशाख दुई गतेदेखि भर्ना अभिया थालेको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिताः गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु भएको हो।

काठमाडौंका अब्बल सरकारी विद्यालयमा सिट क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि व्यवस्थापनमा चुनौती थपिएको ज्ञानोदय माविका प्रधानाध्यापक विष्णु घिमिरे रिमालले बताइन्। स्कुलमा शिशु कक्षादेखि १२ सम्म पढिरहेका पुराना विद्यार्थी चार हजार ६ सय १३ जना छन्। नयाँ भर्नाका लागि ५ सय सिट मात्र छ।

नयाँ भर्ना हुन एक हजार आठ सय ५० जनाको आवेदन परेको छ। सरकारले नयाँ भर्नाका लागि प्रवेश परीक्षा नलिन निर्देशन दिएको छ। यसकारण स्कुलले अघिलो कक्षाको ग्रेडसिट र स्कुलको सिट क्षमताका आधारमा नयाँ भर्ना लिनुपर्ने अवस्था रहेको प्रधानाध्यापक रिमालले बताइन्।

‘हाम्रो स्कुलले नयाँ भर्नाका लागि अघिलो कक्षाको ग्रेडसिट, अंग्रेजी र नेपाली विषयमा रिडिङ र अंग्रेजी, नेपाली, विज्ञान र गणितमा विद्यार्थीको तहगत क्षमतालाई आधार बनाएको छ,’ प्रधानाध्यापक रिमालले भनिन्, ‘नयाँ भर्नाका लागि सिट क्षमताभन्दा बढी तेब्बर बढी आवेदन परेको छ। अहिले स्कुलमा शिशु कक्षादेखि १० सम्म ९१ सेक्सन छन्। पठनपाठन, स्वस्थकर दिवा खाजा र आइसिटिमा आधारित सिकाइले हाम्रो स्कुलले अभिभावको विश्वास जितेको छ।’ उनका अनुसार ज्ञानोदयका ९० प्रतिशतजति शिक्षकले आफ्ना सन्तानलाई यहीं पढाएका छन्।  

काठमाडौं महानगरभित्र ८७ वटा सामुदायिक विद्यालय सञ्चालित छन्। जसमध्ये एक हजारभन्दा बढी विद्यार्थी हुने विद्यालय १३ वटा छन्। विश्वनिकेतन, तरुण, जनकल्याण, रत्नराज्य, निलबाराही, गीतामाता, सरस्वती, शिवपुरी, पद्मोदय, जनपथ, पशुपति मित्र माविलगायत १३ वटा सामुदायिक विद्यालय हरेकमा एक हजारभन्दा बढी विद्यार्थी छन्।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार सरकारी विद्यालयमा विद्यार्थी आकर्षणको मुख्य कारण शिक्षकहरूले पनि आफ्ना सन्तानलाई आफूले अध्यापन गर्ने विद्यालयमै पढाउनु हो। सरकारले विद्यालयमा गरिएकोे भौतिक सुधार र प्रविधिमैत्री कक्षाकोठाका कारण पठनपाठनमा सुधार हुँदै गएको उनले बताए।

‘शिक्षकले आफूले पढाउने विद्यालयमै आफ्ना छोराछोरी पढाउन थालेका छन्। यसले विद्यार्थीप्रतिको शिक्षका उत्तरदायित्व बढेको छ,’ कँडेलले अनुभव सुनाए, ‘कक्षाकोठा प्रविधिमैत्री भएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ। कक्षा १० सम्म दिवाखाजाको व्यवस्थाले बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या शून्य भएको छ।’ उनका अनुसार विश्वनिकेतनमा चार हजार तीन सय विद्यार्थी छन्।

सरकारले शिक्षक दरबन्दी विद्यार्थी अनुसार नदिँदा पठनपाठन व्यवस्थापनमा चुनौती थपिएको उनले बताए। दरबन्दीअनुसारका शिक्षक नभएकाले नयाँ शैक्षिक सत्रका लागि विश्वनिकेतनले साढे तीन सय सिटमा मात्र नयाँ भर्ना लिने निर्णय गरेको जानकारी उनले दिए।

उनका अनुसार नयाँ भर्नाका लागि एक हजार पाँच सय आवेदन परेका छन्। सरकारले प्रवेश परीक्षा निषेध गरेकाले पहिला आउनेलाई भर्ना लिने निर्णय विद्यालयले गरेको जानकारी उनले दिए। उनले भने, ‘सरकारले स्रोतसाधन पर्याप्त दिन सके, नियमन र अनुगमन गर्न सके सबै सरकारी विद्यालय अब्बल हुन्छन्।’

कपनस्थित जनकल्याण मानिवमा पनि विद्यार्थीको भर्ना चाप बढी रहेको प्रधानाध्यापक मन्जु मगरातीले बताइन्। चाप बढी भएकाले चाँडै नै भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था आएको विद्यालयले जनाएको छ। ‘प्रधानाध्यापक एक्टिभ भए सरकारी विद्यालय अब्बल बन्छन्।

हाम्रो विद्यालयमा प्रअसहित सबै शिक्षक विद्यालयको गेटमा उभिएर सबैलाई मुस्कुराएर नमस्कार गर्छौं,’ उनले भनिन्, ‘यसले पनि विद्यार्थीको अकर्षण बढेको हो। शिक्षामा सिप कार्यक्रमले पनि विद्यार्थी आकर्षित भएका हुन्। सिप कार्यक्रमअन्तर्गत प्रतिवर्ष ३० विद्यार्थीले सिलाइ सिप सिक्छन्।’ 

उनले विद्यार्थीकेन्द्रित शिक्षण सिकाइका कारण सिकाइ उपलब्धि बढेको बताइन्। शिक्षक र कर्मचारी अभावमा चाहेजति विद्यार्थी भर्ना लिन अवस्था नरहेको उनको भनाइ छ। निःशुल्क शिक्षासहित शिक्षक र शैक्षिक गतिविधिका लागि स्रोतसाधन व्यवस्थापन गर्न सके सरकारी विद्यालयलाई अब्बल हुन कसैले नछेक्ने उनको ठहर छ।

प्रकाशित: ३ वैशाख २०८१ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App