२ वैशाख २०८२ मंगलबार
image/svg+xml १९:१५ अपराह्न
शिक्षा

कालिकोटमा शैक्षिक सत्रको सुरुमै पुगे पाठ्यपुस्तक

वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेको छ। कालिकोटमा शैक्षिक सत्र सुरु हुनुअघि पहिलोपटक पाठ्यपुस्तक पुगेको हो। चालु आर्थिक वर्षको शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुनेमा सोअगावै पाठ्यपुस्तक कालिकोट आइपुगेका हुन्।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेतासँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालिकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए। ‘पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्न पत्राचार गरेका छौं।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्रअगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए। चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका हुन्।

कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ। चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपर्ने अवस्था थियो।

यो वर्ष कर्णालीमा शैक्षिक सत्र सुरु हुनुपूर्व नै पाठ्यपुस्तक पुर्‍याइसकिएको छ भने कतिपय ठाउँमा पुर्‍याउने क्रम जारी छ। विशेष गरी यो वर्ष पहिलोपटक कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ।  

डोल्पामा एक हजार पाँच सय सेट किताब पुगेको छ भने हुम्लामा पनि सोही मात्रामा किताब पुगेको छ। नेपालगन्ज कार्यालयले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर किताब वितरण गरेको छ। सो कार्यालयले कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको छ।  

सल्यानमा पाँच हजार सात सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिम गरी पाँच हजार ६ सय सेट पुस्तक पुगेको छ। यस्तै जनक शिक्षाको प्रादेशिक कार्यालय वीरेन्द्रनगरले मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई किताब पुर्‍याउँछ।

प्रादेशिक कार्यालय सुर्खेतमा अनुसार कालीकोटमा दुई हजार पाँच सय सेट पुस्तक पुगेको छ। कालिकोटलाई तीन हजार ७ सय बराबर सेट किताब आवश्यक पर्छ। यस्तै जाजरकोटमा तीन हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ।

सुर्खेत कार्यालयका प्रमुख भैरवबाबु पन्तले केही जिल्लामा ६० प्रतिशत त कोहीमा ५० प्रतिशत किताब सम्बन्धित जिल्ला तथा पालिकाहरूमा पुगिसकेको दाबी गरे।

सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५६ वटा पुस्तक व्यवसायीले किताब पु¥याउने गरेका छन्। यसअघि कर्णालीमा विद्यार्थीले कहिल्यै पूरा सेट किताब समयमा पाएनन्। २०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षा दिएको देखिन्छ।

पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षाले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरे पनि यसअघि सबै विद्यार्थीको हातमा पूरा सेट किताब कहिल्यै पुगेन।

संघीयतापछि शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धित विद्यालय, कतिपयले सिधै पुस्तक व्यवसायीलाई पुस्तक खरिद तथा ढुवानीको जिम्मा दिएका हुन्छन्। साथै कालीकोटका सबै स्थानीय तहमा यो पटकदेखि वैशाखबाट नै शैक्षिकसत्र सुरु हुने भएको छ।

यसअघि कर्णालीका कतिपय जिल्लामा फागुनबाटै शैक्षिक सत्र सुरु हुँदै आएको थियो। अहिले कालिकोटको विनोद बुक सेन्टरले कालिकोटका विद्यालयसम्म पुगाउन जिल्लामा पुस्तक पुगाएको छ। पालिकाहरूले आफ्नो स्कुलमा पुस्तक लिने गरेका छन्।

प्रकाशित: २५ चैत्र २०८० ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App