मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको स्वागत गरेको छ। संघले शुक्रबार विज्ञप्ति प्रकाशित गरी राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको हो।
संघले मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व, वित्तीय समावेशीकरण र निजी क्षेत्रको पुँजी निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ। संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले विगतमा संघले राखेका सुझावहरूलाई मनन गरी नीतिमा समावेश गरेकोप्रति कृतज्ञता व्यक्त गरिएको छ। अध्यक्ष राठीका अनुसार, यो नीतिले विद्यमान शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
संघले व्यक्तिगततर्फ शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याएको, निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याएको र मूल्यांकनको ८० प्रतिशतसम्म घरजग्गा कर्जा दिने व्यवस्थालाई सकारात्मक भएको जनाएको छ। यस्ता व्यवस्थाले सेयर बजार र घरजग्गा कारोबारमा सकारात्मक प्रभाव पार्ने संघले विश्वास व्यक्त गरेको छ। साना तथा मझौला उद्योग/व्यवसायका लागि कर्जा सीमा २ करोडबाट ३ करोड पुर्याउनु, आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप्ने प्रावधानलाई संघले सकारात्मक भनेको छ। यस्तै, कृषि तथा लघु, घरेलु उद्योगका लागि सहज कर्जा पहुँचको व्यवस्था र चालु पुँजी कर्जामा पनि सहुलियत दिने मौद्रिक नीतिका बुँदाहरूको संघले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ।
संघले समग्रमा मौद्रिक नीतिलाई समयसापेक्ष र यथार्थपरक ठहर गर्दै यसले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख गरिएका सहुलियतपूर्ण कर्जाका कार्यक्रमहरू कार्यान्वयन गर्न र ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहजीकरण गर्ने जनाएको छ।
प्रकाशित: २७ असार २०८२ २१:३९ शुक्रबार





