होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा घुम्न आउने आग्रह गरेको छ। जेनजी आन्दोलनका बाबजुत पनि पोखरा सुरक्षित रहेकोले पाहुनालाई घुमघाम, खानपिन र बसोबासमा कुनै समस्या नरहेको संघले बताएको छ। पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै पाहुनाको स्वागतका लागि व्यावसायी तयार रहेको पनि संघले बताएको छ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले विज्ञप्ती प्रकाशित गर्दै जेनजी आन्दोलनका क्रममा पोखराका आधादर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगेपनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिन तयार अवस्थामा रहेको बताएका छन। ‘पोखरासँग एकहजार दुईसय होटलमा ४० हजार शैया छन्’, उनले भनेका छन, ‘सयौं रेष्टुराँ पनि पाहुनाको सेवाका लागि तत्पर छन्, पोखरा आउने आन्तरिक तथा बाह्य पाहुनालाई खान र बस्नको कुनै समस्या हुनेछैन। पोखरा आएका पाहुनाले आतिथ्यता पाएका छन।’ आन्दोलनका क्रममा पोखराका केही होटलमा आगजनी र तोडफोड भएको थियो।
मुख्य पर्यटकीय सिजनको मुखैमा जेनजी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भएपनि यो बिस्तारै पुरानै लयमा फर्कने आशा व्यवसायीहरुले व्यक्त गरेका छन्। होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवामा समेत व्यवसायीले छुट दिएर पाहुना तान्ने योजना रहेको अध्यक्ष सुवेदीले बताएका छन।
अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरु पोखरा घुम्न आउनेमा आफूहरु आशावादी रहेको सुवेदीले बताएका छन। आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शुन्यमा पुगेपनि आफूहरु पुनः उठ्नेमा विश्वस्त रहेको सुवेदीको विज्ञप्तीमा उल्लेख छ।
‘विभिन्न विपत्ति र अप्ठ्याराहरु सामना गर्दै, पुनः उठ्दै आएका छौं,’ सुवेदीले भनेका छन्, ‘यो पटक पनि हामी पुनः उठ्नेछौं।’ अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा जिवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठान सेवाका लागि तयार रहेको बताए। ‘आन्तरिक पाहुनालाई अहिले पोखरा आउन सहज पनि छ। राजमार्ग पनि सहज भईसकेको छ। पोखरा आउन पहिलेजस्तो अप्ठ्यारो छैन,’ पराजुलीले भने।
व्यावसायीका अनुसार पर्यटकीय सिजनको मौसम परेकोले यो बेला पोखरा आउनका लागि धेरै विदेशी पाहुनाले अग्रिम बुकिङ गरेका थिए। तर, आन्दोलनपछि विदेशी पाहुनाले बुकिङ रद्द गरिसकेका छन। व्यावसायीका अनुसार नोभेम्बरसम्मको बुकिङ रद्द भएको छ।
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पाहुना अभावमा पर्यटन क्षेत्र टिकाउन समेत मुस्किल हुन थालेको बताउँछन। ‘अब आन्तरिक पाहुनालाई तत्कालै पोखरा ल्याउन सकियो भने व्यावसाय जोगिन्छ। होटलको कोठामा सस्तो मुल्यमा भएपनि पाहुना राख्न सक्ने हो भने व्यवसाय जोगिन्छ। अहिले व्यावसाय जोगाउन चूनौती छ,’ उनले भने। व्यावसाय चलायमान बनाउनका लागि आन्तरिक पाहुना भित्र्याउनेगरि योजना बनाउने तयारीमा रहेको उनले जानकारी दिए।
प्रकाशित: १२ आश्विन २०८२ १४:४८ आइतबार





-1200x560-600x400.jpg)