जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा पुरा गर्नेगरि नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ।
समितिको हालै सम्पन्न ४८ औं बैठकले अपूरा आयोजनालाई प्राथमिकता दिन आग्रह गरेको जिसस प्रमुख लिलाधर पौडेलले जानकारी दिए। बजेट अभाव, निर्माण कम्पनीको चरम लापरबाही र अन्य विभिन्न कारणले अलपत्र परेका आयोजाको अवरोध पहिचान गरी तत्काल काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको पौडेलले बताए।
‘बजेट विनियोजन गरेर, अवरोधका कारण हटाई यथाशीघ्र निर्माण सम्पन्न गर्नेगरी अगाडि बढाउन हामीले सिफारिस गरेका छौं,’ उनले भने, ‘बहुवर्षीय आयोजना विभिन्न कारणले अलपत्र परेका छन्। ती आयोजनालाई बजेट अभाव पनि छ।’
विभिन्न कारणले विगतको सरकारको वार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुईदर्जन आयोजना अहिले अपुरा छन्। रकम विनियोजन भएपनि विभिन्न अवरोधले ती आयोजना पुरा हुन नसकेको उनले बताए। अवरोधका कारणको पहिचान सहित यथाशिघ्र निर्माण सम्पन्न हुने गरेर अगाडि बढाउन सिफारिस गर्ने निर्णय गरेको पनि उनले बताए। उनका अनुसार कतिपय आयोजनाका लागि रकम पनि अपर्याप्त छ।
पौडेलका अनुसार निर्माण पुरा गर्नका लागि सिफारिस गरिएका आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भवन निर्माण आयोजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्माण योजना छन। त्यसैगरि सराङकोट स्वास्थ्य चौकी भवन, भगँरा कृषि सडक मोटरबाटो निर्माणका योजना रहेका छन्।
त्यसैगरी पुल सेक्टर पोखरा कार्यालय मातहत संचालित आयोजना पनि रोकिएका छन। अलपत्र परेकामध्ये आर्थिक वर्ष २०७४÷७५ को आयोजनामध्ये सेतीनदि माथि बगर र फूलबारी जोड्ने पूल, पोखरा–३० र ३३ जोड्ने मुसेटूँडा पावर हाउसको पूल निर्माणमा ढिलाई भएको छ। ती आयोजना पुरा गर्नका लागि शहरी विकास मन्त्रालयलाई अनुरोध गरिएको छ।
त्यस्तै पोखरा–२१ र १७ जोड्ने दम्सादी पूल, पोखरा–१३ र २८ जोड्नेगरि कसेरीमा निर्माणाधीन बिजयपूर खोला पूल, कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको मोदी गाउँपालिका जोड्ने भुरुङदी पूल, पोखरा–२५ र १९ जोड्ने जीर्ण सेती दोबिल्लाघाटको पूल छन्।
त्यस्तै पोखरा–४ र ५ जोड्ने फिर्के खोला पूल सहितका आयोजनाको काम तत्काल अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ। मुग्लिङ–पोखरा सडक स्तरोन्नतीको बाँकी काम सहित पृथ्वीचोकको सेती नदीमाथिको पूल आयोजनाको कार्य र मध्य पहाडी लोकमार्गको कास्की खण्डको बाँकी काम पुरा गर्न पनि अनुरोध गरिएको छ।
मध्यपहाडीको लमजुङ र कास्कीको सिमानामा ट्रयाक खोलेर कार्य अगाडी बढाउन पनि जिससले अनुरोध गरेको छ। यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न पनि जिससले अनुरोध गरेको छ।
प्रकाशित: २३ वैशाख २०८३ १८:२५ बुधबार





