१३ भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

बाढी प्रभावितका लागि सहयोग जुट्दै, राहत कोषमा ४ अर्ब ३८ करोड जम्मा

रसुवामा गत बुधबार आएकोबाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ। 

सरकारका अनुसार विभिन्न मुलुक, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थाले नगद, खाद्यान्न, अस्थायी आवास सामग्री, स्वास्थ्य सामग्री र उद्धार उपकरणलगायत सहयोग उपलब्ध गराइरहेका छन्। थप सहयोगको प्रतिबद्धता पनि विभिन्न मुलुक तथा संस्थाबाट आएको छ। 

अर्थ मन्त्रालयका अनुसार एसियाली विकास बैंक (एडीबी) ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। 

त्यस्तै, विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। नेपालले अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने मन्त्रालयले जनाएको छ। अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर तथा अस्ट्रेलियन सरकारले ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेका छन्। 

यसैबीच, बाढी प्रभावितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा शुक्रबार रातिसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम नौवटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली मुद्रा हो। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको छ। यो रकम करिब १० करोड ३८ लाख रुपैयाँ बराबर हुने जनाइएको छ। 

प्रकाशित: १३ भाद्र २०८३ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App