७ वैशाख २०८१ शुक्रबार
अर्थ

अर्थतन्त्र सुधारोन्मुख, महँगीले ढाड भाँच्योे

चालु आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखाएको छ। तर सँगसँगै सर्वसाधारणको ढाड भाँच्ने गरी महँगी पनि बढेको छ। महँगी गत वर्षको भन्दा झन्डै दोब्बरले बढेको हो। उच्च आयातले विदेशी विनिमय सञ्चिति रित्तिँदै गएपछि गत वर्षभरि अर्थतन्त्रमा समस्या देखिएको थियो। कतिपयले मुलुक श्रीलंकाको बाटोतर्फ लागेको टिप्पणीसमेत गरेका थिए। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकले भने अर्थतन्त्रमा सुधार आएको संकेत गरेको छ।  

यो वर्ष साउनमा आयात खुम्चिएको छ भने रेमिटेन्स आय बढेको छ। यसले विदेशी विनिमय सञ्चिति धेरै घट्न दिएको छैन। साउनमा सञ्चिति १.२ प्रतिशतले मात्र घटेको हो। एक महिनामा १२ करोड अमेरिकी डलर मात्र सञ्चिति घटेको हो। अहिले मुलुकमा रहेको सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।

यो धेरै चिन्ता गर्नुपर्ने अवस्था होइन। तर सञ्चिति बढ्नुको साटो थोरै भए पनि घटेकाले अझै केही समय आयातलाई निरुत्साहित गर्नुपर्ने भने देखिएको छ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले साउनको तथ्यांकले अर्थतन्त्र केही सुधारोन्मुख देखिएको बताए। उनले जोखिमको अंश अहिले पनि कायमै रहेकाले विगतकै जसरी आयातलाई पूर्ण रूपमा खुला गर्ने  

अवस्था नरहेको बताए। ‘विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन, अझै घट्ने क्रम रोकिएको छैन।’ अहिले सरकार र राष्ट्र बैंकले विभिन्न उपाय अपनाएर आयातलाई निरुत्साहित गर्दै आएका छन्। सरकारले केही वस्तुको आयातलाई प्रतिबन्ध लगाएको छ भने राष्ट्र बैंकले सामान आयातमा ५० देखि १०० प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।  

यिनै कारणले आयात प्रत्येक महिना घटदो क्रममा छ। राष्ट्र बैंकका अनुसार गत वर्ष साउनमा ७५.७ प्रतिशतले बढेको आयात यो वर्ष १२.९ प्रतिशतले उल्टै घटेको छ। यस्तै गत साउनमा १७.४ प्रतिशतले घटेको रेमिटेन्स आय यो वर्ष साउनमा २०.३ प्रतिशतले बढेको छ। गत वर्ष आयात उच्च भएर विदेशी विनिमय सञ्चितिमा चाप परेका बेला रेमिटेन्सले भरथेग गर्न सकेको थिएन। तर यो वर्ष आयात घटेर थोरै भए पनि राहत दिएकोमा रेमिटेन्स बढेर थप सजिलो बनाएको छ।  

यो साउनमा १ खर्ब ३१ अर्ब २९ करोड रूपैयाँका वस्तु आयात भएकोमा ९२ अर्ब २१ करोड रूपैयाँ रेमिटेन्स आएको छ। यस्तै वस्तु निर्यात २८.७ प्रतिशतले घटे पनि १४ अर्ब ८१ करोड रूपैयाँ बराबरका सामान निर्यात भएका छन्। यो वर्षको अर्को राम्रो पक्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अत्यधिक रूपमा बढ्नु हो। यसले आगामी दिनमा झनै रेमिटेन्स आय बढ्ने देखिएको छ। साउनमा मात्र करिब ६५ हजार नेपाली रोजगारीका लागि विदेश गएका छन्। गत वर्षको तुलनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले बढेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ७५.४ प्रतिशतले बढेको हो।  

अर्थतन्त्रमा सुधार देखिए पनि महँगी बढेकाले सर्वसाधारणको जीवन थप कष्टकर बनेको छ। महँगी गत वर्षको तुलनामा झन्डै दोब्बरले बढेको हो। बैंकका अनुसार यो साउनमा महँगी ८.२६ प्रतिशत पुगेको छ। अघिल्लो साउनमा महँगी ४.३५ प्रतिशत मात्र थियो। यस्तै साउनमा थोक महँगी १२.५८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ४.२५ प्रतिशत थियो। बैंकका अनुसार काठमाडौं उपत्यकामा ७.३९, तराईमा ८.७२, पहाडमा ८.६४ र हिमालमा ६.६४ प्रतिशतले महँगी बढेको छ।

गत साउनमा यी क्षेत्रमा क्रमशः ३.७०, ४.११, ५.६३ र ३.५८ प्रतिशत महँगी थियो। यो वर्ष नेपालको महँगी छिमेकी भारतको भन्दा पनि धेरै पुगेको छ। गत अगस्टमा भारतमा महँगी ७ प्रतिशत छ।बैंकका अनुसार साउनमा चालु खाता भने १६ अर्ब २६ करोडले घाटामा पुगेको छ। अघिल्लो वर्ष चालु खाता ४७ अर्ब २९ करोडले घाटामा थियो। यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा छ। अघिल्लो वर्ष यो ३८ अर्ब ७५ करोडले घाटामा थियो।

प्रकाशित: ३१ भाद्र २०७९ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App