१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्नपूर्ण आधारशिविरमा पर्यटनमन्त्रीको अन्तर्राष्ट्रिय सम्मेलन गरिने

दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटनमन्त्रीलाई एबिसी लैजाने योजना

अन्नपूर्ण आधारशिविर

पर्यटन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै चारमहिना भित्र अन्नपूर्ण आधारशिविर (एबिसी)मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ। महत्वपूर्ण र साहसिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण आधारशिविरमा यस्तो सम्मेलन आयोजना गर्न सके त्यसले साहसिक पर्यटन क्षेत्रमा लाभ पुग्ने व्यवसायीको धारणा छ।  

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरि सरकारले पर्यटन पुुनरुत्थानको कार्ययोजना सार्वजनिक गर्दै एबिसीको योजना सार्वजनिक गरेको हो। अन्नपूर्ण आधारशिविर समुन्द्री सतहबाट ४१ सय ३० मिटर उचाईमा छ। कोरोना संक्रमण सुरु हुनुअघि यो आधारशिविरमा वर्षमा हजारौं विदेशी पर्यटक उक्लिन्थे। कोरोनाले गर्दा विदेशीको आगमन खस्केर आधारशिविरको पदयात्रामा जानेको संख्या कम भएपनि प्रवद्र्धनात्मक गतिविधि गर्न सके आधारशिविरमा आगामि दिनमा पर्याप्त विदेशी पर्यटक उकाल्न सकिने व्यवसायी बताउँछन्।

सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६ सय ८३ जना विदेशी पर्यटक गएका थिए। त्यो संख्या घटेर २०१९ मा २८ हजार ८ सय ६० मा झरेको थियो। सन् १९९० देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले उक्त क्षेत्रलाई संरक्षण गर्न थालेको थियो। आधारशिविरमा गरिने अन्तर्राष्ट्रिय सम्मेलनका लागि पर्यटन बोर्डलाई मुख्य जिम्मेवार निकायको रुपमा तोकिएको छ। आगामि चारमहिना भित्र सम्मेलन गर्न पनि मन्त्रालयले भनेको छ।  

बोर्डका निर्देशक मणिराज लामिछानेले आगामि चार महिनाभित्र आधारशिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना रहेको बताए। ‘पर्यटन क्षेत्रका लागि यो निकै नै महत्वपूर्ण सम्मेलन हुनेछ। पर्यटन मन्त्रालयले यसलाई अघि बढाउनेछ, बोर्डले अब काम अघि बढाउनेछ,’ उनले भने, ‘साहसिक पर्यटकीय गन्तव्य भएकोले त्यो सम्मेलन गर्न सके नेपालको पर्यटन क्षेत्रबारे गज्जबको सन्देश फैलिनेछ। एबिसी आफैमा साहसिक गन्तव्य भएकोले त्यहाँ सम्मेलन गर्न सके पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ।’  

एबिसीमा सम्मेलन गर्दा आधारशिविरलाई मात्र नभई समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन हुने उनले बता । ‘सम्मेलनले आधारशिविरलाई मात्र नभई समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि सघाउनेछ,’ लामिछानेले भने, ‘पोखरा र अन्नपूर्ण क्षेत्रले सम्मेलनका कारण बढी लाभ पाउँछ। अन्नपूर्ण क्षेत्रको पर्यटकीय रुटको विकास हुनेछ भने उपल्लो मुस्ताङसम्मको सन्देश फैलाउन पनि सकिनेछ।’  

विभिन्न मुलुकका पर्यटनमन्त्रीलाई आधारशिविरसम्म उकाल्न सकेमा त्यसले गर्दा साहसिक पर्यटनको क्ष्ोत्रमा निकै नै फाइदा पु¥याउने उनले बताए। लामिछानेले सकेसम्म चारमहिना भित्रै त्यो सम्मेलन गर्ने बताए। केही प्राविधिक समस्या आएर ढिलाई भएमा पनि यो आर्थिक वर्षभित्र गरिसक्ने उनले बताए। ‘कोरोनापछिको पर्यटन क्षेत्रलाई उकास्नका लागि पनि यस्ता गतिविधि हुन जरुरी छ,’ उनले भने, ‘गन्तव्य मात्र नभई समग्र पर्यटन क्षेत्रको सकारात्मक सन्देश फैलिनेछ।’

यसअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा सगरमाथा आधारशिविर नजिक पाँचहजार दुइसय मिटरको उचाईमा अवस्थित कालापत्थरमा मन्त्रीपरिषद् बैठक बसेको थियो। जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। कालापत्थरकै शैलीमा एबिसीमा पनि पर्यटनमन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने लामिछानेले बताए।  

पुनरुत्थान योजनामा पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै जोड दिएको छ। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिले देश अनि विदेश अभियान संचालन गर्ने पनि सरकारी योजना छ। त्यस्तै भारतीय र बंगलादेशी नागरिकबीच लोकप्रिय चितवन र पोखरालाई विवाह लगायतका गतिविधिका लागि उपयुक्त गन्तव्यका रुपमा विकास गर्ने योजना पनि सरकारको छ। त्यस्तै अन्तर प्रादेशिक हवाई सेवा बिस्तार गर्ने योजना पनि सरकारको छ। अहिले पोखराको विमानस्थलबाट मात्र चारवटा प्रदेशका विभिन्न सातवटा ठुला सहरसम्म सिधा हवाई उडान भइरहेका छन्।  

त्यस्तै सरकारले भैरहवाको गौतमबुद्ध र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्याण्डिङ, पार्किङ र नेभिगेसनमा लाग्ने सेवा शुल्कमा दिइएको छुटलाई निरन्तरता दिने पनि उल्लेख छ। त्यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा पनि निश्चित प्रतिशतसम्म छुट दिने उल्लेख छ। गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न पर्यटन सम्बद्ध संघसंस्था, राष्ट्रिय वायुसेवा संचालक र विदेशस्थित कुटनीतिक नियोगसँग मिलेर संयुक्त रुपमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने पनि उल्लेख छ।

पर्यटन व्यवसायी पनि अन्नपूर्ण आधारशिविरमा सम्मेलन गर्न सकेमा त्यसले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका निभाउने बताउँछन्। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशीलराज पौडेलले भने, ‘एशिया क्षेत्रका पर्यटनमन्त्रीलाई अन्नपूर्ण आधारशिविरसम्म उकाल्न सकियो भने त्यसले दिने सन्देश अरु जति गरेपनि पुग्दैन, तर, घोषणा गरे बमोजिम सरकारले कार्यक्रम गर्न आँट गर्नुपर्छ।’ अन्तर्राष्ट्रिय पहिचान बोकेका गतिविधि त्यस्ता ठाउँमा गर्दा कोरोनाले थलिएको पर्यटन क्षेत्रमा मल्हम लाग्ने उनले बताए।  

‘पदयात्रा क्षेत्र सबैतिरबाट धरापमा पर्दै गएको छ। कोरोनापछि न झनै सकसमा पदयात्रा क्षेत्र परेको छ। त्यसैले आधारशिविरमा मात्र त्यो कार्यक्रम गर्न सक्ने हो भने त्यसको प्रभावले पर्यटनमा राहत मिल्नेछ,’ पौडेलले भने, ‘अन्नपूर्ण आधारशिविरजस्ता गन्तव्य धेरै छन। यस्तै कार्यक्रम विभिन्न ठाउँमा वर्षेनी गर्न सक्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई उकास्नेछ।’ कोरोनाले गर्दा समस्या नै समस्यामा रुमल्लिएका व्यवसायीलाइ आधारशिविरमा सम्मेलन गरेर सन्देश फैलाउन सक्नु निकै नै फलदायी हुने उनले बताए।  

प्रकाशित: ८ श्रावण २०७९ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App