१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टोलस्तरबाट छानिँदै योजना

कोहलपुरमा रहेका १५ वटा वडामध्ये अधिकांश वडामा योजना छनोट प्रक्रिया सुरु भइसकेको छ। कोहलपुर–१५ का अध्यक्ष दीपेन्द्रकुमार चौधरीले वडा विकासका लागि समस्यामा आधारित भएर टोलहरूमा योजना छनोट सुरु भइसकेको जानकारी दिए।

चुनावी प्रतिबद्धता र जनताको आवश्यकताअनुसार वडा विकासका लागि योजनालाई प्राथमकिता दिइएको उनले बताए। नयाँ बजेट र योजना तर्जुमाका लागि टोल भेला सुरु भएको कोहलपुर–८ का अध्यक्ष लालबहादुर रानाले जानकारी दिए।

उनले नयाँ आवका लागि ५५ लाख बजेटको सिलिङ तयार पारिएको बताए। वडामा ८ वटा टोलमा समिति निर्माण गरेर छालफल सुरु गरिएको छ। टोलका आवश्यकता वडास्तरीय योजनादेखि प्रदेश र संघमार्फत पनि बजेटका लागि आह्वान गरिने वडाध्यक्ष रानाले बताए।

कोहलपुर–९ ले पनि आगामी आवका लागि टोलस्तरमा योजना छनोट प्रक्रिया सुरु गरेको छ। वडाध्यक्ष ओपेन्द्रनाथ योगीले वटास्तरमा रहेका विभिन्न दलका प्रतिनिधि र समाजसेवी तथा जनताको सहभागितामा योजना छनोट प्रक्रिया सुरु भएको बताए।

'जनताका अपेक्षा बुझ्न भेला आयोजना गरिएको छ। सबै योजनालाई मूर्तरूपमा दिन बाँकी छ,’ उनले भने। कोहलपुर–१४ का अध्यक्ष नमबहादुर आलेमगरले आफ्नो वडामा पनि योजना छनोट प्रक्रिया सुरु भएको बताए। नगरपालिकाका अन्य वडाभन्दा कम विकसित वडाको नेतृत्वमा आएका उनी वडा विकासमा फड्को मार्नेखालका योजना आफ्नो प्राथमिकतामा रहेको बताउँछन्।

यस्तै २३ वटा टोल सुधार समिति नै गठन गरेको कोहलपुर–११ मा टोलस्तरमा योजना छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। वडाध्यक्ष कल्पना शर्माका अनुसार टोलस्तरीय भेलामा जनताले बृहत् ढल निकासको माग गरेका छन्।

आगामी बजेटमा वडामा ढल निकासलाई नै प्राथमिकता दिइने उनको भनाइ छ। वडा नम्बर १० ले पनि योजना छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। वडाध्यक्ष गौराकुमारी भट्टराईले केही टोलमा योजना छनोट सकाएर वडास्तरबाट अन्तिम निर्णय गरेर बजेटसहित पठाउन मात्रै बाँकी रहेको बताइन्।

कोहलपुर–१ का अध्यक्ष बद्रिप्रसाद जैसीका अनुसार वडाको आवश्यकता र जनचाहनामा आधारित भएर तीव्र रूपमा योजना छनोट प्रक्रिया सुरु भएको छ। यस्तै वडा नम्बर २ मा पनि टोलमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर योजना छनोट प्रक्रिया थालिएको वडाध्यक्ष हरि कठायतले जनाए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App